Friday, October 5, 2012

बिद्युत आयात गर्न प्रसारण लाइन छैन


हेटौंडा, १९ असोज÷ भारतबाट बिद्युत ल्याएरै भएपनि लोडसेडिङ कम गर्ने प्रधानमन्त्री डा. बाबुराम भट्टराईको प्रतिवद्धता सुनेर मख्ख नेपाली जनताहरुलाई दुःखको खबर छ । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले चाहेरै पनि नेपालमा भारतबाट बिद्युत आपूर्ति हुन सक्दैन्–बिद्युत ल्याउनका लागि नेपालसँग प्रसारण लाइन नै छैन् ।


हाल रहेको १३२ केभीए पसारण लाइनले भारतबाट एकसय मेगावाट बिद्युत आयात सम्भव छैन् । अहिलेको प्रसारण लाइनले ४० मेगावाटसम्म बिद्युत आपूर्ति धान्न सक्छ तर यत्तिले मात्रै नेपालको लोडसेडिङ समस्या समाधान हुन सक्दैन् । नेपालको लोडसेडिङ अन्त्यका लागि तत्काल ६ सय मेगावाट भन्दा बढी बिद्युत आवश्यक छ ।
    हेटौंडा र बिराटनगरमा रहेका डिजेल प्लान्ट सञ्चालन गरी बिद्युत उत्पादन गर्ने बिकल्प भएपनि यो साह्रै गलत महत्वकांक्ष हुनेछ किनकी भारतबाट डिजेल आयात गरेर डिजेल प्लान्ट सञ्चालन गर्दा प्रति यूनिट ४० रुपियाँ भन्दा बढी मूल्य पर्ने भएकाले न त उपभोक्ताले यसलाई किनेर प्रयोग गर्न सक्छन् न घाटामा चलेको प्राधिकरणले झन् घाटा सहन सक्छ । हेटौंडाको डिजेल प्लान्टले १४ मेगावाट र बिराटनगरको प्लान्टले ३० मेगावाट उत्पादन क्षमता राख्छन् । महंगो खर्चिएर डिजेल प्लान्ट सञ्चालन गरेपनि तीनले सबै माग पूरा गराउन सक्दैनन् ।
    बिद्युत आपूर्तिमा सहजता ल्याउन नेपाल बिद्युत प्राधिकरणले निर्माण सुरु गरेको बढी केभीए क्षमताका कुनै पनि आयोजना समयमै सकिने छाँटकाँट छैन् । प्राधिकरण निर्माण सुरु गरेको हेटौंडा(भरतपुर प्रशारण लाइनको म्याद एक पटक थपेर सन् २०१२ को डिसेम्बर सक्ने योजना भएपनि सिभिल निर्माणको कामै पूरा भएको छैन् । प्रशारण लाइनको लागि तार बिछ्याउने काम रुख काट्ने अनुमतिको प्रक्रियाले ढिलाई भएकाले सुरु भएकै छैन् ।
    प्राधिकरणले आयोजना बनाएरै हेटौंडा भरतपुर र भरतपुर बर्दघाट २२० केभीए प्रशारण लाइन बिस्तार सुरु गरेको थियो । हेटौंडामा भरतपुर प्रशारण लाइनको लागि हेटौंडामा सब स्टेशनको लागि सिभिल निर्माणको काम भएपनि
भरतपुरमा सुरु भएकै छैन् । नेपाल–भारत बिद्युत आपूर्तिका लागि निर्माण गर्न आँटिएको ढल्केबरदेखि भारतको मुझफ्फरपुरसम्मको ४०० केभीए प्रसारण लाइन पनि निर्माणधीन अवस्थामै छ ।
    सिन्धुली–बर्दघाट २२० केभीए प्रसारण लाइनको सम्पूर्ण काम सकिएपनि राख्नुपर्ने ७ वटा टावर मुआब्जा बिवादमा तीन बर्षदेखि राखिएको छैनन् जसका काम सिस्टममा समस्या देखिने गरेको प्राधिकरणका प्राविधिक बताउँछन् ।
    निर्माणाधिन माथिल्लो तामाकोशी, सेती र माथिल्लो मस्र्याड्डदी जनबिद्युत् आयोजनाबाट बिद्युत उत्पादन सुरु हुनुअघि नै प्रसारण लाइनको बिस्तार गर्न नसके ती आयोजनाको बिद्युत खेर जानेछन् । त्यसैले प्रसारण लाइन बिस्तारलाई उच्च प्राथमिकतामा राखेको भएपनि मुआब्जा र कानुनी बिवादले बाधा पु¥याइरहेका छन् ।
    निर्माणाधीन भनिएका प्रसारण लाइन बिस्तार आयोजनाहरु अझैं कम्तिमा ४–५ बर्षअघि पूरा हुने छाँटकाँट देखिदैन् । बिद्युत आयोजनामा पनि यस्तै ढिलाईको समस्या देखिदै आएको छ ।

Thursday, October 4, 2012

एकसय ५६ यौनकर्मी महिला थपिए

    मकवानपुरमा एकसय ५६ नयाँ यौनकर्मी थपिएको तथ्यांक छ । महिला यौनकर्मीको एचआईभी सुरक्षाको लागि १७ बर्षदेखि कार्यरत जनरल वेलफेयर प्रतिष्ठान (जीडब्लुपी) को तथ्यांक अनुसार अक्टोबर २०११ देखि अगस्ट २०१२ सम्मको ११ महिना अवधीमा मकवानपुरमा एकसय ५६ नयाँ यौनकर्मी थपिएका हुन् ।

Tuesday, October 2, 2012

आधाले हराउँछन् नागरिकता


भदौं ४ गते जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रतिलिपि लिएका छतिवनका एक किशोर मंगलबार नागरिकता हरायो भन्दै पुनः बनाउन आइपुगे । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा यसरी नागरिकता हरायो र च्यातियो भन्दै पुनः बनाउन आउनेको संख्या दुई दर्जन हुने शाखा अधिकृत दिनेशराज सिग्देल बताउँछन् । नागरिकता हरायो र च्यातियो भन्दै बनाउन आउनेहरुको प्रतिलिपि नागरिकताको सिफारीशमा सिग्देल दिनभर व्यस्त रहन्छन् ।

Saturday, September 15, 2012

जेलमै रचना, जेलमै संगीत

हेटौंडा, ३० भदौ÷ २७ बर्षीय बीरबहादुरको ओठले गीत गुनगुनाउन थालेपछि साथ दिने थुप्रै वरिपरि आइसक्छन् । भीमफेदी कारागार भित्र भएका दुई गिटारका तारमा तामाङ र बिधान श्रेष्ठको औला रगडिँदा कारागारमा दैनिक नयाँ संगीत धुन सिर्जना हुन्छ ।

कारागारमा बृद्ध र रोगी

हेटौंडा-भारतीय नागरिक सेक्स सोभराती र चन्द्रिका दास भीमफेदी कारागारको मुख्य भवनको भ¥याङ मुनी ओछ्यान लगाएर सँगै सुत्छन् । परालले बुनेको गुन्द्रीमाथि पातलो कपडा बिछ्याएर उनीहरले ओछ्याउन बनाएका छन् ।

चार महिनाअघि कारागार आएका दुवैजना कुष्ठरोगी हुन् । उनीहरु लागूऔषध मुद्दामा कारागार चलान नभएका हुन् । उनीहरु दुवैका े हात र खुट्टाका अधिकांश औंला झरिसकेका छन् । उनीहरु अन्य कैदीबन्दी भन्दा फरक स्थानमा बस्छन् । अरुले नदेखुन् भनेर आफ्ना हात र खुट्टा छोपिरहन्छन् ।

Friday, September 14, 2012

होटलभन्दा कम छैनन् चित्लाङका होमस्टे

    चट्ट् पारेर मिलाइएको ओछ्यान । भुँइका हरिया कार्पेट । अनि जोसुकैको मन पनि जित्नसक्ने खालको मायालु व्यबहार । अनि, स्वादिलो नेवारी परिकार । साथमा हुनेछ, नासपाति र रक्तचन्दनबाट बनेको रक्सी । चित्लाङ गाविसमा निर्माण गरिएको होमस्टेका बिशेषता हुन् यी । चित्लाङको होमस्टे बस्न आइपुग्ने जो कोहीले पनि जिब्रो टोक्दै यसको व्यबस्थापन देखेर भन्ने गर्छन् – होटलभन्दा के कम छन् र चित्लाङको होमस्टे ।
    यहाँका सात घरमा बनाइएको होमस्टेमा ६० जना पाहुना अटाउन सक्छन् । जहाँ उनीहरुले न्यानो स्वागतसहित स्वादिलो खाना अनि मिठो निन्द्र पाउनेमा कुनै शंका छैन् । गाविसमा बुद्धरत्न मानन्धर, राधाकृष्ण बस्नेत, रामकृष्ण बलामी, अशोकसिंह ठकुरी, रामकृष्ण बलामी, लालबहादुर श्रेष्ठ, दलबहादुर गुरुङको घरमा अघिल्लो बर्षदेखि होमस्टे थालिएको हो ।
    होमस्टेका लागि जिल्ला विकास समितिले प्रत्येक घरलाई व्यबस्थापन खर्चबापत १० हजार रुपियाँ उपलब्ध गराएको थियो भने होम स्टे सञ्चालकहरुका लागि व्यबस्थापन र खाना पकाउने तालिमको व्यबस्था गरेको थियो । यहाँको होमस्टेमा मासिक औसत ३० जना पर्यटक आउने गरेको होमस्टे सञ्चालक बुद्धरत्न मानन्धरले जानकारी दिए । यहाँका होमस्टेमा
    होमस्टे सञ्चालनलाई प्रभावकारी बनाउन यहाँ सामुदायिक होमस्टेसमेत गठन भएको छ । यसले होमस्टेको मेनु बनाउने, रेट निर्धारण गर्ने, बिभिन्न संघसंस्थासँग सम्पर्क गरी पर्यंटक भित्र्याउन काम गर्दै आएको अध्यक्ष राधाकृष्ण बस्नेतले जानकारी दिए । सामुदायिक होमस्टेका सल्लाहकारसमेत रहेका मानन्धरका अनुसार यहाँका होमस्टेमा बस्नका लागि  फ्रेन्च, जर्मन र इटालीयन पर्यटकसहित बिद्यार्थीहरु पनि अवलोकन भ्रमणको लागि आउने गरेका छन् ।
    ऐतिहासिक, धार्मिक र साँस्कृतिक सम्पदाले धनी चित्लाङ गाविसमा चन्द्रागिरी, भार्लस्वर पर्वत, अशोक चैत्य, स्वच्छन्द भैरव, तलेजु भवानी मन्दिर र कोट, सातधारा, नयाँ पौवा, सत्तल, त्रिपुरेश्वर, शिवालय, चपकेश्वर महादेव, प्राचीन गोपाली बस्ती, महामुनी एवम् नेपालकै सबैभन्दा ठूलो चीज उद्योगजस्ता पर्यटकीय सम्भावना बोकेका क्षेत्र छन् ।
    मानन्धर पत्नी हिरादेवी पाहुनालाई नेवारी खानासहित स्वागत गर्ने गरेको बताउँछिन् । होमस्टेमा बस्नका लागि आउने पाहुनालाई सञ्चालकले फूलमालासहित नासपातिबाट बनेको रक्सी, अण्डासहित नेवारी शैलीमा स्वागत गर्छन् । चित्लाङ गाविसमा नेवार जातिको बाहुल्यता छ ।
    होमस्टेमा आउँदा खुशी लागेको जिल्ला विकास समितिका नायव सुब्बा किरण थापा बताउँछन् । यस्तो होमस्टे जिल्लाका अन्य पर्यटकीय स्थलमा समेत स्थापना हुनुपर्ने उनको धारणा छ । जिल्ला विकास समितिले जिल्लाको बज्रबाराही र गढी गाविसमा पनि होमस्टे सञ्चालनको लागि पहल गरेको भए पनि ति प्रभावकारी हुन सकेका छन् ।

पाँच रुपियाँदेखि करोडसम्म

    १५ बर्षअघि सदस्य बनेर पाँच रुपियाँ बचत थाल्दा भीमफेदी गाविसस्थित महिला जागृति बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारीले कुनै दिन आफ्नो सहकारी नेपालकै उत्कृष्ट बन्नेछ भन्ने सोचेकै थिएनन् । लेखपढ गर्न त के हस्ताक्षरसमेत गर्न नसक्ने अधिकांश सदस्य भएको यस सहकारी देशका दुईसय महिला बचत तथा ऋण सहकारीलाई पछि पार्दै उत्कृष्ट घोषित भएको हो ।
    बचत तथा ऋण सहकारी केन्द्रीय संघको ३२ वटा मापदण्डमा अब्बल ठहरिएको यस सहकारी देशकै उत्कृष्ट महिला सहकारी घोषित भएपछि यसको चर्चा बढी हुन थालेको छ । १५ बर्षे अवधिमा सहकारीले सदस्यका लागि उल्लेख्य काम गरेको छ । सहकारी अध्यक्ष मंगलादेवी श्रेष्ठ सहकारीले ल्याएको परिवर्तनको उदाहरण आफैं भएको सवर्ग सुनाउँछिन् । आठ बर्ष सहकारीको कोषाध्यक्ष पद सम्हालेर हरहिसाबमा पाको बनेकी श्रेष्ठ अहिले सहकारी अध्यक्ष छिन् । सहकारीले गाविसका महिलाको आत्मविश्वास र व्यक्तित्व विकासमा सघाएर आत्मनिर्भर बन्न सिकाएको उनको अनुभव छ । सहकारीमा लागेपछि आफूसहित धेरै महिलाहरुले पढ्न र बोल्न जानेकोमा उनलाई सन्तुष्टि मिलेको छ ।
    ३२ वटा महिला समूहमा आवद्ध ६२ महिलाको बचत संकलनबाट सुरु सहकारीले यस अवधिमा पटकपटक गरी पाँचसय बढी सदस्यलाई प्रौढ शिक्षामा सामेल गराइसकेको छ । जसका कारण सुरुमा ल्याप्चे ठोक्ने सबै सदस्यहरु अहिले आफ्नो नाम लेख्न र हस्ताक्षर गर्नसक्ने भएका छन् । घरायसी काममा व्यस्त भीमफेदीका महिला जुटेर स्थापित सहकारीले गाविसभरका महिलालाई एउटै मालामा गाँसेको छ । हाल सहकारीको नौसय ५५ सेयर सदस्य छन् । ती सबै महिला हुन् । करिब एक हजार घरधुरी भएको भीमफेदी गाविसमा अधिकांश परिवारका महिला यस सहकारीका सदस्य छन् ।
    सहकारीबाट बिना धितो पाइने ५० हजार र धितो राखेपछि पाइने तीन लाखसम्मको कर्जाबाट गाविसका महिला मात्र नभई उनीहरुको जीवनशैली नै फेरिएको छ । सहकारीबाट कर्जा लिएर व्यवसाय गर्दै परिवारको जीवन शैलीमा कायापलट गरेका जुरिखेतकी केशरी थापा, भीमफेदी–७ की मनमाया लो र विष्णु परियार सहकारीले बदलेको जीवनको उदाहरण मात्रै हुन् । उनीहरुले सहकारीको ऋणबाट गरेको लगानीले क्रमशः गाँजर खेती, फर्निचर व्यवसाय र पसल फस्टाएको मात्र छैन, गर्न खोजे हुँदो रै’छ भन्ने उदाहरणसमेत थपेको छ ।
    स्थापनाताका बैठक गर्ने कोठा नपाएर चोक र चौतारामा बसेर छलफल गर्नु परेको स्मरण संस्थाकी सचिव निर्मला थापासँग ताजै छ । गाविसको थोत्रो भवनलाई सहकारीले आफ्नै लगानीमा मर्मत सम्भार गरी बैंकको शाखाझैं भव्य बनाएको छ, जहाँ दैनिक दर्जनांै सदस्य बचत र ऋणको कामले आउजाउ गर्छन् । यस सहकारीकी संस्थापक अध्यक्ष भगवती पुडासैनी जिल्लाकै महिला अगुवाका रुपमा परिचित छिन् ।
    सहकारीको आव २०६८÷०६९ को कूल बचत एक करोड ७ लाख थियो भने पौन दुई करोड लगानी छ । सहकारीले सबभन्दा बढी व्यापार, व्यवसाय, कृषि र पशुपालनमा लगानी गरेको छ । सहकारी कोषाध्यक्ष रीता आलेले एक बर्षमा सहकारीले चार करोडको कारोबार गरेको जानकारी दिइन् ।