Friday, July 11, 2014

यु ट्युब रिभोल्युसन

करिब १० वर्ष अगाडि म्युजिक नेपालको आम्दानी एकाएक सुक्यो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष शर्मालाई लागेको थियो, देशमा युद्धले निम्त्याएको संकटकालले संगीत सुन्ने श्रोता घटे । तर, कारण अर्कै थियो । बजारमा पेन ड्राइभ र मेमोरी कार्डमा गीत भरेर बेच्ने चलन बढेको थियो । धेरै म्युजिक कम्पनीहरू बजारमा फैलिएको यस्तो ट्रेन्डबारे 'बेखबर' बनेर क्यासेट नबिकेको चिन्ताले थलिएका थिए । मेमोरीको जगजगीले सीडी, क्यासेटको बिक्री ठप्प भयो ।
संगीतप्रेमी प्रतिगीत दुई/चार रुपैयाँ तिरेर मेमोरी कार्डमा भर्थे । मन परेको गीत सस्तोमा पाइने भएपछि गीतले भरिएको महँगो क्यासेट कसले किन्छ ? नेपालमा सुरु भएको संगीतको 'डिजिटल युग' को एक दशक पनि नबित्दै अहिले म्युजिक भिडियो सेयरिङमा यस्तै क्रान्ति सुरु भएको छ ।

मोबाइलमै विश्वकप

विश्वकपमा हालसम्म नभएको मोबाइल प्रविधिको प्रयोग यो पटक हुनेछ । विश्वकपको २० औं संस्करण सुरु हुन केही दिन मात्रै बाँकी हुँदा गुगल र आईओएस स्टोरमा ब्राजिल विश्वकपको अपडेट दिने भन्दै एप्सहरू भित्रिन थालिसकेका छन् । यो वर्ष ब्राजिलमा हुने विश्वकपलाई लक्षित गर्दै फिफाले एक वर्ष अघि नै मोबाइल एप्स लन्च गरेको थियो । यसले संसारभर भइरहेको फुटबलको अपडेट दिन सुरु गरेको छ ।

भेरिफाइड सेलिब्रिटी

नेपाली लोकदोहोरी गायिका मुना थापामगर र सुनिता दुलाललाई सायद अब नक्कली फेसबुक एकाउन्टको झन्झट हुने छैन किनकि गत साता फेसबुकले उनीहरू दुवैको फेसबुक फ्यान पेजलाई भेरिफाइड गरेको छ । फेसबुक पेज, वेबसाइट र यु ट्युबमा बलियो उपस्थिति जनाएका यी दुई गायिकाको पेज भेरिफाइड भएसँगै नेपालमा सेलिब्रिटीका लागि भेरिफाइड पेजको महइभ्व कत्तिको छ भन्ने चर्चा सुरु भएको छ । अरू नेपाली सेलिब्रिटीले यसबारे चासो राख्न थालेका छन् । दुवै गायिका फेसबुक पेजबाट बढी फाइदा लिनेमध्येमा पर्छन् ।

विश्वकपको अर्को मैदान

ब्राजिलमा अहिले विश्वकप फुटबल अन्त्यतिर पुगेको छ, फाइनलसहित दुई खेलमात्र बाँकी छन् । त्यहाँका १२ स्टेडियममा मात्रै यो खेल सीमित छैन । स्टेडियममा खेल हुँदा जति हल्ला हुन्छ, त्योभन्दा बढी विश्वकपको चर्चा सोसल मिडियामा भइरहेको छ । यसमा खेलका दर्शकमात्रै होइनन्, चर्चित खेलाडी र टिमका म्यानेजर पनि सामेल छन् । इटालीका डिफेन्डर जर्जियो चेलिनीको बायाँ काँधमा दाँतको डोब र ब्राजिली स्टार नेयमरको चोट यो विश्वकपको सबैभन्दा चर्चाका विषय बने । यी दुई यस्ता विषय रहे, जसले सोसल मिडियामा विश्वकपको 'हाइप' बढाइदिए ।

Saturday, March 1, 2014

सेमेस्टर प्रणालीमा अल्झियो त्रिवि


गणेश राई/विजय तमिल्सिना
काठमाडौ, फाल्गुन १६ - त्रिभुवन विश्वविद्यालय (त्रिवि) का स्नातकोत्तर पठनपाठन हुने सबै आंगिक क्याम्पस दुई महिनायता तालाबन्दीको चपेटामा छन् । त्रिविले कीर्तिपुरस्थित विश्वविद्यालय क्याम्पसमा मात्र 'सेमेस्टर' प्रणाली लागू गर्न लागेपछि साना विद्यार्थी संगठनहरूले विरोध गरेका हुन् ।

ठूला विद्यार्थी संगठनहरू नेविसंघ, अनेरास्ववियु र एमाओवादीनिकट अखिल क्रान्तिकारी भने सेमेस्टरकै पक्षमा छन् । विरोध गर्ने १२ संगठनमा माओवादी निकट अखिल क्रान्तिकारी, संघीय समाजवादी निकट अग्रगामी विद्यार्थी युनियन, अखिल पाँचौं, अखिल छैटौं, नेक्राविसंघ, अनेवियु, क्राविसंघ, राप्रविसंघ, मविलोने, विद्यार्थी फोरम नेपाल, विद्यार्थी फ्रन्ट र विद्यार्थी मञ्च छन् । उनीहरूले विश्वविद्यालय क्याम्पसका प्रिन्सिपल र विभागीय प्रमुखको कार्यालयमा ताला लगाएका छन् ।

साना माछामा ठूलाको आँखा


काठमाडौ, फाल्गुन १७ - मोबाइल म्यासेजिङ एप्स ह्वाटएप्सलाई फेसबुकले किनेपछि प्रविधि जगत्मा हंगामा भएको छ । १९ बिलियन डलर मूल्य तिर्ने भनिएको सम्झौताको खबर सार्वजनिक भएपछि ह्वाट्सएप्सकोगुणगान, फेसबुकको तारिफ, विरोध र विश्लेषण एकैसाथ आउन थालेको छ । केहीले ह्वाट्सएपका संस्थापकद्वय ब्रायन एक्टन र जेन कमको मेहनत र लगनशीलताको प्रशंसा गरेका छन् । याहुका पूर्व कर्मचारी एक्टन र कमले बिनाबिज्ञापन ५ वर्षसम्म एप्सलाई जीवित् राख्दै धैर्य देखाए र ५० कर्मचारीको भरमा लोकप्रिय पनि बनाए । चाखलाग्दो त के छ भने याहुको जागिर अवधि सकिएपछि जागिर पाइन्छ कि भन्दै ट्विटर र फेसबुक कार्यालय धाएका कम रित्तो हात फर्काइएका थिए ।

Thursday, January 9, 2014

शब्दभन्दा शक्तिशाली

काठमाडौ, पुस २५ -कसैले मन नपर्ने कुरा गर्दा नाक खुम्च्याउने । खुसी हुँदा मुस्कुराउने मानवीय स्वभाव हो । हामी अवस्थाअनुसार फिस्स हाँस्ने, ङच्चि दाँत देखाउने, मुस्कुराउने, आँखा झिम्क्याउने, गाला तन्काउने पनि गरिरहन्छौं । यस्तै मानवीय संवेगलाई 'कपी' गर्ने गरी बनाइएको 'इमोसन' र 'स्टिकर' अहिले भर्चुअल दुनियाँमा भावना व्यक्त गर्ने माध्यम बन्दैछन् ।

कसैलाई रिसाएको छु भन्नु परोस् वा खुसाएको जनाउ दिनु परोस् त्यसका लागि सर्टकर्ट की प्रचलित छन् । आफ्नो भावना अरूलाई बुझाउन धेरै शब्द लेखिरहनु पर्दैन यसका लागि तयार छन् : इमोसन । यस्ता इमोसनको प्रयोगमा खप्पिस छन् पछिल्लो पुस्ता । मिल्नेजतिको इमोसन र स्टिकर प्रयोग गर्दै उनीहरू आफ्नो भावना व्यक्त गरिरहेका छन् ।