Saturday, February 9, 2013

भ्यालेन्टाइन भ्यालिडिटी



माघ २५ -भ्यालेन्टाइन डे को अर्थ बृहत् नेपाली शब्दकोशमा छैन । तर किशोरावस्थामा उक्लिइरहेका भ्यालेन्टाइन पुस्तालाई यसको परिभाषा कण्ठै छ । उनीहरूले जन्मजातै भ्यालेन्टाइन र भ्यालेन्टाइन डे को परिभाषा जानेर आएका होइनन् । यसको परिभाषा किशोरावस्थामा जुगा आएजस्तो आफैं जानिने पनि होइन । हरेक सदस्यले सिक्ने हरेक ज्ञानको स्रोत समाज नै हो । तर भ्यालेन्टाइनको अर्थ र परिभाषाबारे समाज मौन छ । दाजुदिदी मौन छन् । बाआमा मौन छन् । झन् हजुरबा र हजुरआमा पुस्ता त बोल्ने कुरै भएन ।


भुसको आगोजस्तो भ्यालेन्टाइन चलन बढ्दो छ । जसले जे भनेर बुझे पनि भ्यालेन्टाइन डे एउटा युनिभर्सल फेस्टिभल भएको छ । भ्यालेन्टाइन भएकाहरू आफ्नै संसारमा हराउन खोज्छन्, नहुनेहरू नयााँ पार्टनरको खोजीमा हुन्छन्, कोही अरूको देखेरै दंग पर्छन् ।

भ्यालेन्टाइन पुस्तालाई बाआमाको मायाले पुगेको छैन । उनीहरू दाजुदिदी, भाइबहिनीलाई माया देखाउन जान्दैनन् । आफन्तहरूको मतलब गर्दैनन् । उनीहरूलाई भ्यालेन्टाइनको आवश्यकता छ । स्कुलमा होस् या कलेज, भ्यालेन्टाइन भएकाहरूलाई भाग्यमानी मानिन्छ । तर समाजले भ्यालेन्टाइनलाई ट्याबो मानेको छ । यो अवस्थामा नयाँ पुस्ताको मनोविज्ञान बुझिनसक्नु जटिल बन्दै गएको छ । उनीहरू अझै बढी स्वतन्त्रता चाहन्छन् । बन्धन तोड्न चाहन्छन् । जेम्स बोन्ड हेरेर त्यसैको सिको पनि गर्न खोज्छन् । अनुकूल नभएपछि आफैंसँग रिसाउँछन्, परिवार र समाजलाई दुस्मन देख्छन् ।

भ्यालेन्टाइनको भेल कसैले रोकेर रोकिने र छेकेर छेकिने मुडमा देखिँदैन । यो त झन्झन् बढ्दै जाने लक्षणमा देखा परिरहेको छ । अहिले खुल्लमखुला भ्यालेन्टाइन मनाउने पुस्ताले नै भोलिको समाज हाँक्ने हो । उनीहरूले बढाएको पुस्ताले नै त्यसपछिको विरासत धान्ने हो । जसरी अहिलेको पुस्ताले थाहै नपाईकन समाजबाटै भ्यालेन्टाइनको परिभाषा टपक्क टिपेका छन् । भोलिको पुस्ताले त्यो संस्कृति चोरले जसरी लुुसुक्क लिनुपर्ने छैन, उनीहरूले निर्धक्क त्यसको सिको गर्न पाउने छन् ।

प्राचीन रोमका शासकले सैनिकलाई विवाह र प्रेममा प्रतिबन्ध लगाउँदा त्यसको विपक्षमा उभिएका पादरीलाई फेब्रुअरी १४ का दिन मृत्युदण्ड दिएपछि यो प्रचलनको सुरुवात भएको मानिन्छ । सुरुवात नै विद्रोहबाट भएकाले भ्यालेन्टाइन संस्कृति पनि पूर्वीय र मुस्लिम देशमा फैलिन विद्रोह गर्नुपरेको छ । नेपाल र भारतजस्ता कट्टर हिन्दुहरूको बाहुल्यता भएको मुलुक मात्रै होइन संसारका धेरै मुस्लिम देशमा भ्यालेन्टाइन डे मनाउन पाइँदैन । मनाउन नपाउने मात्रै होइन, रातो गुलाब, मुटुका चिन्ह भएको गिफ्ट र भ्यालेन्टाइन डे संकेत गर्ने कुनै पनि वस्तुहरू बिक्री गर्न पाइँदैन । इरान र इजरायल त्यसैका उदाहरण हुन् । कट्टर हिन्दुवादी र मुस्लिमहरूले यसलाई क्रिस्चियन संस्कृतिको दूत भन्ने गरे पनि भ्यालेन्टाइन डे को कुनै धर्मसँग लेनादेना छैन ।

कसैकसैले रोम सभ्यताका एक कैदी सैनिकले मृत्युदण्ड पाउने दिन जेलरको छोरीलाई चिठी लेखेर त्यसको अन्त्यमा योर भ्यालेन्टाइन लेखेकै कारण यो दिन मनाउन थालिएको भन्ने विश्वास गर्छन् । अहिलेसम्म विश्वास गरिएका यी मान्यता र भ्यालेन्टाइन संस्कृतिको सुरुवात भएका युरोपसहित पश्चिमा मुलुकको अभ्यासलाई हेर्ने हो भने भ्यालेन्टाइन संस्कृतिको केही अंश सयौं समुद्र पार गरेर नेपालतिर भित्रिए पनि यसका विभिन्न आयामहरूले अझै भिसा पाइसकेका छैनन् ।

भ्यालेन्टाइन डे आउनेबित्तिकै आफ्ना छोराछोरीमाथि ठूला आँखा पार्दै निगरानी बढाउने अभिभावकले अहिलेसम्म उनीहरूलाई ह्याप्पी भ्यालेन्टाइन डे छोराछोरी भन्न सकेका छैनन् । न त छोराछोरीले नै ह्याप्पी भ्यालेन्टाइन डे भन्दै उनीहरूलाई रातो फूल र चकलेट दिन सकेका छन् । संस्कृतिको रक्षक ठान्ने अघिल्लो पुस्ता र परिवर्तनको संवाहक ठान्ने नयाँ पुस्ताबीचको ग्यापले वर्तमानका खुसीहरू उपभोग नभई खेर गइरहेका छन् । भ्यालेन्टाइनको सुरुवात भएको पश्चिमा देशहरू सपरिवार चकलेट र फूल साटासाट गर्दा हामी भ्यालेन्टाइन मनाउने कि नमनाउने गन्थनमन्थनमा अल्भिmएका छौं ।

चोभारमा बसेर चुम्मा खाएको देख्दैमा भ्यालेन्टाइनलाई नराम्रो भनिहाल्नुपर्ने कुनै कारण छैन । अरूले चुम्मा खाँदा कसैलाई तीर लागेको भनौं क्यार ? भ्यालेन्टाइन संस्कृति चुम्मा खानुमा मात्रै नभई साथीभाइ, आफन्त र अभिभावकमा प्रेम बाँड्ने मामलामा पनि सम्पन्न छ । नपत्याए ल्याटिन अमेरिका, युरोप र पश्चिमा मुलुक भनाउँदाहरूको भ्यालेन्टाइन मनाउने चलनबाट सिके हुन्छ । उनीहरू आफू डेटिङ मात्रै जाँदैनन््, पि्रयजनसँग सम्बन्ध गाढा बनाउने दिनका रूपमा पनि भ्यालेन्टाइन डे लाई उपयोग गर्छन् ।

भ्यालेन्टाइन डे आउन केही दिन बाँकी छँदै यसको चर्चा सुरु भइसकेको छ । कसैको मन भ्यालेन्टाइनको खोजीमा होला । भ्यालेन्टाइन भएकाहरूको मन कसरी मनाउने यो भ्यालेन्टाइन डे भन्दै उद्वेलित भइरहेको होला । कसैलाई छुटेको प्रेम आउँला । कसैको टुटेको मन दुख्ला । यी सबै घाउका मल्हम आखिर प्रेम नै हुन् ।
प्रकाशित मिति: २०६९ माघ २६ १०:१७