Saturday, June 8, 2013

म्युजिकमा मार्टियार्की

जेष्ठ २३ -
सन् १९६० को दशकमा उधुम मच्चाएको बिटल्स ब्यान्डलाई संगीतसम्बन्धी अमेरिकी म्यागेजिन बिलबर्डले सर्वकालीन महान् कलाकार सूचीको एक नम्बरमा राखेको छ । सन् १९६० र ७० को दशकमा उसले गाएको कालजयी गीतका कारण उसले यो स्थान पाएको हो । जोन लेनन नेतृत्वको चार सदस्यीय यो ब्यान्डले चुमेको शिखर हडप्ने अर्की गायिकाको उदय सन् १९८० को दशकमा भयो । तिनै म्याडोना विश्वमै सबैभन्दा बढी एल्बम बिक्री भएकाहरूको सूचीको चौथो नम्बर ओगटेर बसेकी छन् ।

एल्बम बिक्रीमा उनीभन्दा अगाडि रहेका तीनै जना पुरुष गायक बिटल्सका जोन लेनन, रक एन्ड रोलका किङ एल्भेस र पप किङ माइकल ज्याक्सनको मृत्यु भइसकेको छ । तर ५५ वर्षीय हजुरआमाले अझै केही वर्ष विश्राम लिने छाँट देखाएकी छैनन् । आफ्नी समकालीन ह्वाइट्नी होस्टनलाई एल्बम बिक्रीमा पछारेर बेलगाम सफलता चुमेकी म्याडोनाको बिँडो थाम्न सन् २००० को दशकमा गायिकाहरूको दर्जन लामो सूची बनेको छ ।