Thursday, March 21, 2013

जक्सनकोट

काठमाडौ, चैत्र ८ - काठमाडौंमा केही हप्तायता पेट्र्रोलको अभाव छ । हरेक पम्पमा मोटरसाइकलमा फ्युल भर्नेको लाइन देखिन्छ तर नगरकोटको उकालो उक्लने बाइकको लस्कर देख्दा सहरको यो कन्तबिजोग पत्याउनै मुस्किल पर्छ ।

फुर्सदमा समय बिताउन चाहनेका लागि नगरकोट ह्याङ आउट स्पट हो भने सहरको गिद्धे दृष्टिदेखि वाक्क योङ कपलका लागि यो हट डेटिङ स्पट हो ।

नगरकोटको उकालो लाग्दा प्रत्येक घुम्तीमा चिसो सिरेटोका नयाँ नयाँ झोक्काले जो कोहीलाई फ्रेस बनाइदिन्छ । काठमाडौंमा विस्तारै गर्मी चढ्दै गर्दा नगरकोटमा त्यसको निकै कम महसुस हुन्छ । नगरकोट जाने साँघुरो सडकमा लगातार गुड्ने साना कार र थरीथरी मोटरसाइकलको संख्या पनि नगरकोटको पि्रयता प्रस्ट्याउँछ ।

महानगरीय प्रहरी वृत्त नगरकोटको तथ्यांक अनुसार यो सुन्दर डाँडोमा दैनिक एक सय मोटरसाइकल आइपुग्छन् । झन्, शनिबार र सार्वजनिक बिदाको दिन यो संख्या ह्वात्तै बढेको हुन्छ ।

'नगरकोटको हरियो अग्लो डाँडाबाट वरिपरिका गाउँ हेर्दै आनन्द लिनुको मज्जै बेग्लै छ,' फुर्सद भयो कि आफ्नी पि्रय अनुसँग नगरकोटको उकालो चढिहाल्ने दीपकले टिप्पणी गरे, 'आधा घन्टामा आइन्छ, यहाँ आएपछि कसैको टेन्सन मान्नुपर्दैन ।' उनको कलेजमा इन्टरनल एक्जाम चल्दैछ तैपनि इन्जिनियरिङ पढ्दै गरेका यी ठिटोलाई नगरकोटको हावा खाँदै फ्रेस हुन मन लाग्यो । त्यसैले उनी शनिबार दिनभर अनुसँग नगरकोटको एउटा थुम्कोमा बसेर गफिँदै थिए ।

'नगरकोटमा के नै छ र रु,' नगरकोटको सानो होटलकी साहुनी मञ्जु लामाको अनुभव हो यो, 'तैपनि मान्छे घुम्न चैं आउँछन् ।' उनको कुरामा सहमति जनाउने हो भने नगरकोटमा भौतिक आकर्षण केही देखिँदैन । नगरकोटमा देखिने गरी भौतिक प्रगति छैन । नगरकोट पुग्ने पिच सडक छ, रात बिताउन चाहनेका लागि दर्जन बढी होटल र लज छन्, यत्ति हुन् यहाँको सुविधा । नगरकोटको उकालो चढ्नेहरूलाई यहाँको हावाले स्वागत गरेझैं देखिन्छ । किनकि यहाँसम्म पाहुना डोर्‍याउने अरू कसैले कुनै स्ट्राटेजी बनाएका छैनन् । तैपनि यहाँ पाहुनाको कुनै कमी छैन ।

तर नगरकोटमा नभएको पनि केही छैन । नेपालको नापतौल विभागले तोकेको ग्राभिटी स्टेसन यही छ । अलि तल अनुभव गरिएको गर्मी बिर्साउने शीतलता छ । दर्जनौं जोडी लुकाउन सक्ने आकर्षक सल्लाघारी छ । थुम्कामा बसेर नेचुरल भ्यु हेर्न चाहनेको इच्छा पुर्‍याउने भ्यु स्पटहरू छन्, जुन प्राकृतिक रूपमै बनेका हुन् । यहाँ आउनेले कतै दस्तुर बुझाउनु पर्दैन ।

समुद्री सतहदेखि २१७५ अग्लो स्थानमा छ, भ्यु टावर । यो टावर नेपालको टि्रगोनो मेटि्रकल स्टेसन पनि हो । यहीँ गुरुत्व मापन केन्द्र र खगोल मापन केन्द्र पनि छ । प्राकृतिक दृष्टिले मात्रै होइन, वैज्ञानिक दृष्टिले पनि यो उचाइको डाँडा महत्त्वपूर्ण छ । मौसम खुलेका बेला हिमालको चेपबाट उदाउँदो गरेको सूर्य हेर्न पनि लालयित हुन्छन् यहाँ आइपुग्नेहरू । धौलागिरि हिमशृंखला, कञ्चनजंघा हिमशृंखला, गणेश हिमाल, मनास्लु हिमाल, लाङटाङ हिमालका हिउँ टल्किने दृश्य पनि नगरकोटको सम्पत्ति हो ।

भारतको केरलाबाट नेपाल टुरमा निस्किएका दिवाकर सिंह र उनकी पत्नी पनि निकै खुसी देखिन्थे । उनीहरूले नगरकोटको हावामा हात फैलाउँदै फोटो खिचाए । आनन्द मान्दै वरपर हेरेर गफिँदै दिनभर बिताए । पेसाले शिक्षक बताउने सिंह नगरकोटको वातावरण निकै इन्ज्योबल भएको भन्दै हौसिए ।

नगरकोटमा किनेको ड्राई फुट बोकेर भ्यु टावरको भर्‍याङ उक्लँदै गरेका नितु, सुरेश, ज्योति, दिवाकर र उज्ज्वलको ग्याङ पनि निकै निकै इन्जोय गर्दै थिए । आफ्नो बारेमा धेरै खुल्न नचाहेका उनीहरूले यत्ति मात्रै भने, फुर्सदको बेलामा हामी पूरै ग्याङ नगरकोट आउँछौं । उनीहरूजस्तै दर्जनौं ग्याङले नगरकोटको प्रत्येक खाली ठाउँ भरिन्छन् ।

वसन्त ऋतुमा नयाँ पालुवा हाल्दै गरेको नगरकोटको सल्लाघारी यहाँ फ्रेस हुन आउनेको स्वागतमा उभिएको छ । कुनाकुनाका डाँडामा उभिएपछि देखिने सनसेट यहाँको प्रमुख आकर्षण हो । बाइकमा हुइँकिएर हिँड्ने तन्नेरीहरूका लागि यो सजिलो गन्तव्य हो । झन् सहरका माया गर्ने ठाउँ अभाव भएको अनुभव गर्नेलाई यो सजिलो, एकान्त र पि्रय स्थान हो ।

भक्तपुरको सूर्य विनायकबाट २० किलोमिटर उकालो र दर्जनौं घुम्ती मोडिएपछि आइपुग्ने नगरकोटबाट फर्किनेलाई अब फेरि फुर्सद हुनेबित्तिकै आइहाल्छु भन्ने गरी मोहनी लगाउँछ यो डाँडाले । एकैछिनमा पुगिने र सजिलै फर्किन मिल्ने भएकैले यो धेरैको डेस्टिनेसन भएको हो ।

काठमाडौंको कोलाहलबाट मुक्त हुनेका लागि मात्रै होइन, अन्य जिल्लाबाट काठमाडौं आएकाहरूका लागि पनि गन्तव्य हो नगरकोट । काठमाडौं युनिभर्सिटीका विद्यार्थी अर्घाखाँचीका सृजन अधिकारी साथीहरूसँग फोटो सेसनमै मस्त थिए ।

'नगरकोटका बारेमा सुनेको त थिएँ तर आउन पाएको थिइनँ,' एउटा थुम्कोबाट बुर्लुक्क उफ्रिएर हावामा फोटो खिचाएपछि उनले भने, 'तर ठाउँ धेरै राम्रो रै'छ ।'

सहरमा गर्मीको ग्राफ चढ्दो छ । तर पालुवा फेरेको नगरकोटका सल्लाघारी चिसो सिरेटोसहित पाहुनाका स्वागतमा उभिएका छन् । त्यसैले अबको मौसम नगरकोट फ्रेन्ड्ली हुनेछ । नगरकोटको चिसो मौसम पाहुनालाई आनन्दको न्यानो पार्न काफी छ ।

बाइकमा हुइँकिएर आउने दर्जनौं जोडीका कारण नगरकोट जोडी जक्सन भनेर चिनिन्छ । स्थानीय व्यापारीका अनुसार यहाँ आउनेमध्ये अधिकांश मोटरसाइकलमा सवार मायालु जोडी हुन्छन्, जो दिनभर पारिलो घाम तापेर चिसो हावा खाँदै र्फकन्छन् । तैपनि यहाँ आउने अरू उमेर र वर्गका मानिसको संख्यामा कमी छैन । नगरकोट जोडी स्पट मात्रै होइन, टे्रनिङ स्पट पनि बन्दैछ । यहाँका दर्जनौं होटल प्रायः हरेक समय गोष्ठी र सेमिनारका पाहुनाले भरिन्छन् । साइक्लिङ र टे्रकिङमा आउने विदेशी पाहुनाका लागि पनि यहाँका होटल नै आरामका बिन्दु हुन् ।

होटल सञ्चालक दीप थिङ नगरकोट डेटिङ स्पट मात्रै नभई टुरिस्टका लागि हट स्पट हो भन्ने बुझाउन सके यो नेपालको टप टुरिजम एरिया बन्ने अनुमान गर्छन् । 'जोडी बनेर घुम्न आउनुलाई नराम्रो ठान्ने चलन तोडिनुपर्छ अनि विदेशी मात्रै होइन, स्वदेशी पनि नगरकोटमा बस्ने गरी आउँछन्,' थिङ भन्छन्, 'यहाँ घुम्न आउन सके, थोरै कर लिन सके केही आम्दानी पनि हुन्छ ।
कान्तिपुर दैनिकको शुक्रबारिए परिशिष्टांक हेल्लो शुक्रबारमा २०६९ चैत ८ गते प्रकाशित । त्यही गएर पढ्न यहाँ क्लिक गर्नुहोस् ।
अनि, जेपीइजी फाइलमा पढ्न मन लाग्यो भने चै यता क्लिक गरे हुन्छ है ।