Saturday, December 3, 2011

कर छल्छन् घरबेटी

    बहालमा बस्नेसँग चर्को भाडा असुल्ने हेटौंडाका घरधनी (घरबेटी) ले राज्यलाई तिर्नुपर्ने कर भने छल्ने
गरेका छन् । उनीहरुले भाडमा बस्नेसँग एक कोठा बराबरको मासिक ३० हजार रुपियाँसम्मा असुल गरिहेको भएपनि सम्झौतामा कम रकम उल्लेख गरी कर छल्ने गरेका हुन् ।
    व्यबसायका लागि घर भाडामा दिने घरबेटीहरु भाडाको १० प्रतिशत रकम करबापत राज्यलाई तिर्नुपर्ने व्यबस्था भएपनि उनीहरुले कम भाडा लिएको सम्झौता गरेर सरकारी निकायलाई नै ढाट्ने गरेका छन् । कर कार्यालयमा बुझाउने बिवरणमा बहालबालाले हस्ताक्षर गरेको सम्झौता पत्र देखाउँछन् जसमा बहालबावाले तिर्ने दश गुणाभन्दा कम रकम उल्लेख गरिएको हुन्छ ।

    बजारको मुख्य राप्तीरोड, मेनरोड, कान्तिराजपथलगायत स्थानका घरबेटीहरुले कर तिर्दा आफूले मासिक एकहजार देखि दुईहजार रुपियाँसम्म मात्र भाडा लिने गरेको भनी ढाट्ने गरेका छन् जबकी यी स्थानमा मासिक १५ हजार रुपियाँभन्दा कममा कोठा पाइदैनन् । राप्तीरोडका पसलेहरुले हाल मासिक भाडाबापत घरबेटीलाई १५ देखि ३० हजार रुपियाँसम्म बुझाउँदै आएका छन् । तर, कर कार्यालय पुगेका यहाँका घरबेटीहरुले एकहजार देखि दुईहजार रुपियाँ मासिक भाडा लिएको झुटो विवरण पेश गरेका छन् । मेनरोड र कान्तिरापथमा घर हुने घरबेटीको बानी पनि उस्तै छ ।
    अझ् कोठामा बस्नेसँग घरबेटीहरुले धरौटी रकम भन्दै २ देखि ६ लाखसम्म असुल गरिरहेका छन् । जुन रकम बहालबालाहरुले कोठा छाडेको बेलामा मात्रै पाउँछन् । बिशेषत बजारको मुख्य घर र स्थानमा व्यबसाय सञ्चालनको लागि कोठामा बसेकाहरु यसबाट बढी पीडित भएका छन् ।
    करको दायरामा आएका घरबेटीहरुले थोरै रकम लिएको भन्दै कम तिर्ने गरेको आन्तरीक राजस्व कार्यालय हेटौंडाकी अनुगमन अधिकृत उषा पाखेरेल पनि स्वीकार्छिन् । ‘थाहा पाएर पनि कारवाही गर्न सकिएको छैन्’, उनले भनिन्,‘कोठा नपाईएला भनेर व्यबसायी नै सत्य कुरा बताउँन चाहदैनन् ।’ घरबेटीले पेश गर्ने झुटो विवरणबारे कार्यालय जानकार रहेपनि कारवाही गर्न नसकिएको पाख्रलेले बताइन् । घरबेटीले पेश गर्ने विवरणमा बहालबालाकै स्वीकृति हुन्छ । सबै व्यबसायीसँग छलफल गरी न्यूनतम भाडादर तोकी सोहीअनुसार कर उठाउने प्रयास गरिएपनि सफल हुन नसकेको उनले बताइन् ।
    मकवानपुर उद्योग बाणिज्य संघअन्तर्गतको बस्तुगत समन्वय संयोजक यम सिलवाल राज्यले केन्द्रीय तहबाट उपर्युक्त नीति नबनाएसम्म बहालकर छली गर्ने समस्या समाधान नहुँने दाबी गर्छन् । बहाल कर छली राष्ट्रिय समस्या भएको उनको बुझाई छ । ‘घरबेटीले हाल तिरिरहेको भाडामा कर कटाएर दिने’ नीति नबनेसम्म यो समस्या नसुल्झिने उनले ठोकुवा गरे ।
    झुटो विवरण पेश गरेर थोरै कर तिर्ने घरबेटीहरुबाट पनि कर कार्यालयले चालू आर्थिक बर्षको कात्तिक मसान्तसम्म २६ लाख ४४ हजार रुपियाँ असुल गरेको छ । गत आर्थिक बर्षमा कार्यालयले बहाल करबापत ६५ लाख ४० हजार रुपियाँ संकलन गरेको थियो । घरबेटीको प्रभावकारी अनुगमन गरी कर छली गर्नबाट रोक्ने हो भने बहाल करबापत हाल उठिरहेको भन्दा १० गुणा बढी संकलन हुनसक्छ ।

Categories: ,