Friday, March 22, 2013

चेक एण्ड व्यालेन्स

 फाल्गुन २४ - हाल अमेरिका रहेका गोरखाका गोकुल ढकालले आफ्नो ब्लगमा लेखे,'...गोलीमा डराई मर्नु जिन्दगी ।' विदेशिने नेपालीहरूको पीडा र आक्रोशलाई समेटिएर लेखिएको उनको यो भावना सम्भवतः कुनै पनि सञ्चारमाध्यममा छापिने थिएन । तर उनलाई केको फिक्री ? आफ्नै ब्लगमा राखिदिए । निजी भावनाले भरिएको उनका ब्लग चहार्ने धेरैलाई उनले शब्दमार्फत वेदना बाँडेका छन् ।

जुन सञ्चारमाध्यममा आउनेजस्ता औपचारिक नभएर उनको आफ्नै भाषा र शैलीमा छ । त्यसमा वास्तविकता अनुभव गर्न सक्छन् ।

भर्खरै मात्रै राजधानीका प्रहरीले लामो कपाल पाल्ने र मुन्द्रा लगाउनेहरूलाई देखिनसहने नीति लिएपछि युवाहरूको समूह सामाजिक सञ्जालमा जुर्मुराए ।

टि्वटरमा प्रधानमन्त्री बाबुराम भट्टराईलाई मेन्सन गरेरै उनीहरूले प्रहरी रवैयाको चर्को विरोध जनाए । त्यसैको मेलोमा ब्लगर आकार अनिलले आफ्नो ब्लगमा लेखिदिए, 'नेपाल प्रहरी अब कपालको सेवामा । उनको ब्लगमा राखिएको व्यंग्य मिश्रति छोटो टिप्पणी प्रहरीको गलत नीतिको विरोध गर्न काफी थियो ।

महिला हिंसाको विरोधमा बालुवाटार घेर्ने निर्णय गरेका युवा, अधिकारकर्मीहरू गरेको आन्दोलनको समाचार सञ्चारमाध्यमभन्दा ब्लग र सामाजिक सञ्जालमार्फत हिट भयो । भ्रष्टाचारको विरोधमा अनशन बसेकी शारदा भुसालको समाचार जति ठूला सञ्चारमाध्यमले बनाए, त्यसको कैयौं गुणा बढी प्रशंसा उनले ब्लगर र सामाजिक सञ्जाल प्रयोगकर्ताबाट पाइन् ।

विश्वमा लोकपि्रय बनेको एक दशक पनि भएको छैन, नेपालमा ब्लगिङ संस्कृति समाजलाई चेक एन्ड ब्यालेन्स गर्ने महत्त्वपूर्ण औजारमा परिणत भएको छ । ब्लग चलाउन जान्नेहरू कहिले पनि आवाजविहीन बनेर बस्नुपर्दैन । ब्लगमा जल्दोबल्दो विषयमा तुरुन्त टिप्पणी लेखिहाल्ने विष्णु शर्मा भन्छन्, 'ब्लगमा जति लेख्न सक्छु अन्त कतै लेख्न सक्दिनँ ।'

उनको विचारमा ब्लगजति स्वतन्त्र अभिव्यक्तिको माध्यम अरू कुनै छैन । 'सञ्चारमाध्यममा आफ्नै सिद्धान्त र शैली हुन्छ, ब्लगको शैली आ-आफ्नै । विचार आ-आफ्नै हुन्छ,' उनी भन्छन्, 'अन्य कतै आबद्ध भएर ब्लगमा जति स्वतन्त्र लेखिँदैन ।' सामाजिक सञ्जालका जानकार उज्ज्वल आचार्यको भनाइमा पनि ब्लग र सामाजिक सञ्जाल अहिले सञ्चारमाध्यमलाई नै चेक एन्ड ब्यालेन्स गर्ने माध्यम बनेका छन् ।

सञ्चारमाध्यमले प्रसारण, प्रकाशन गर्ने कुनै पनि महत्त्वपूर्ण सामग्री ब्लगकारका आँखाबाट अछुतो रहँदैन । इन्टरनेटमा पहुँच हुने र लेखनमा चासो रहने नयाँ पुस्ता अहिले ब्लगकारिता -ब्लगिङ) मा रमाइरहेका छन् । यसको विशाल क्षेत्र र बुलेट प्रभावका कारण हरेक ब्लगकार पत्रकारझैं अभिव्यक्तिका माध्यम बनेका छन् ।

समाजको पहरेदार, राष्ट्रको चौथो अंग सञ्चारकर्मी र पत्रकारलाई चेक एन्ड ब्यालेन्समा राख्न सक्ने तागत ब्लगसँग छ पनि । किनकि एउटा सञ्चारमाध्यमसँग भएजत्तिकै पाठक एउटा ब्लगकार/ब्लगकर्मीसँग हुन सक्छ । नेपालको पहिलो ब्लगर मानिएका ब्लगकार शालोक्यका पाठक संख्या नेपालका ठूला सञ्चारमाध्यमका ग्राहक जत्ति नै धेरै छन् ।

तात्तातो विषयमा तुरुन्तै ब्लगिङ गर्ने उनको ब्लग साइट माइसंसारको प्रस्तुति र शैलीका कारण यत्ति प्रख्यात भएको हो । सञ्चार विद्वान् म्याक लुहानको सिद्धान्तलाई आधार मान्ने हो भने अबको जमाना ब्लगकै हो । 'माध्यम नै सबथोक हो' भन्ने उनको अवधारणालाई मान्ने हो भने अबको युग आपmनो कुरा भन्न र लेख्नका लागि उपयोग गरिने ब्लग माध्यमको हुनेछ ।

किनकि सरलता, सहजता र प्रभावका हिसाबले ब्लग नेपालजस्तो विकासोन्मुख राष्ट्रमा पनि सञ्चारको प्रमुख हतियारका रूपमा उभिन थालिसकेको छ । नागरिक पत्रकारितामा चासो राख्ने इन्द्रध्वज छेत्रीलाई ब्लग र सामाजिक सञ्जालले सञ्चारमाध्यमको न्युज रुमलाई प्रभाव पारेको झैं लाग्छ ।

'सामाजिक सञ्जाललाई सञ्चारमाध्यमले दुई किसिमले प्रयोग गर्न सक्छ, एउटा समाचारको स्रोत र अर्को प्रतिक्रियाको स्रोत,' उनी भन्छन् । नागरिक पत्रकारिताको अवधारणालाई बढावा दिन इक्वेल एक्सेस नेपालको अगुवाइमा स्थापना भएको मेरो रिपोर्ट डट नेटमा सातैपिच्छे छानिने सक्रिय ब्लगरको लिस्ट एक सय जनाको बनिसकेको छ ।

'नेपालमा करिब १० हजारजति ब्लगर होलान्,' छेत्रीको अनुमान हो यो, 'तर सबै सक्रिय छैनन् ।' सन् १९९९ तिर अभिव्यक्ति स्वतन्त्रताका कारण प्रख्यात बनेको ब्लग नेपाल भित्रिन धेरै समय लागेन । तत्कालीन राजा ज्ञानेन्द्रले ०६० सालमा सत्ताको साँचो हातमा लिएपछि अभिव्यक्ति स्वतन्त्रताबाट कुण्ठित नेपाली समाजले पाएको नयाँ उपहार हो, ब्लग ।

त्यही बेलादेखि नेपालमा ब्लगिङ संस्कृतिको विकास भएको पाइन्छ । सन्देश संवाहक सञ्चारकर्मी र पत्रकारलाई अंकुश लगाउने तत्कालीन सरकारको निर्णयका कारण नेपालमा बढी ब्लगकार उदाएको हुन सक्ने अनुमान गरिन्छ । अभिव्यक्ति स्वतन्त्रताका लागि लोकपि्रय बनेको ब्लग, नेपालमा चेक एन्ड ब्यालेन्सको काममा पोख्त हुन थालेको छ ।

 सन् १९९७ मा जोहन बागर नामक अमेरिकनले ब्लगलाई छोटकरी नाम दिएका थिए । उनले प्रयोग गरेको लग द वेभ शब्दलाई सन् १९९९ मा अर्का व्यक्ति पिटर मेहोल्जले वीलगको नाम राखिदिए । जसलाई बोलीचालीमा ब्लग भन्न थालियो । यही ब्लग अहिले धेरैको अभिव्यक्तिको माध्यम बन्न थालेको छ ।

आफूले लागेको, देखेको र भागेका यथार्थहरू तुरुन्तै जहाँ पनि र जति पनि समुदायमा पुर्‍याउन सकिने भएकैले होला, नेपालमा यसको लोकपि्रयता बढेको बढ्यै छ । इन्टरनेटको यो डायरीलाई कसैले सार्वजनिक गराउन चाहन्छन्, कसैले सीमित व्यक्तिहरूलाई जानकारी दिन चाहन्छन् ।

सामाजिक सञ्जालका रूपमा नेपालमा लोकपि्रय फेसबुक पनि प्रकृतिको आधारमा एक प्रकारको ब्लग नै हो । फेसबुकले उपलब्ध गराउने आफ्नै वाल र स्पेसले पनि यसलाई ब्लग साइट मान्दा हुन्छ । त्यहाँ युजरले आफ्ना सबै कुरा अभिव्यक्त गर्न सक्छ । नेपाली भाषा होस् वा अंग्रेजी, ब्लगिङ गर्न नेपाली युवा पोख्त छन् ।

उनीहरू आफ्ना भावना पोखिएका गजल र कविता मात्रै राख्दैनन् । बाल्यकालको संस्मरणदेखि जल्दाबल्दा विषयमा खरो टिप्पणीका कारण पनि ब्लगको चर्चा हुने गरेको छ । कसैको अंकुशबिना लेखिएका आ-आफ्नै पाराका ब्लगका अभिव्यक्ति शैली मौलिक पहिचानका कारण पनि मन छुने हुन्छन् ।

भूगोलको सीमा नहुने र वर्षौंसम्म संग्रहणीय हुने भएकाले पनि नयाँ पुस्तामा ब्लग लोकपि्रय बन्दै गएको छ । कसैले आफ्नो परिचय राखेर वा कसैले परिचय गोप्य राखेर ब्लगमा सनसनी मच्चाउने सामग्री राखेका छन् । ब्लगकै कारण इन्टरनेटमा झुम्मिने नयाँ पुस्तामा पढ्ने संस्कृति मौलाएको छ ।

ब्लगरहरू आफ्नै गन्थनमन्थन मात्रै लेख्दैनन् । विगत केही वर्षदेखि प्रविधिको विषयमा निरन्तर ब्लगिङ गर्ने हेटौंंडाका प्रकाश भण्डारी नाफामै छन् । आफ्नो ब्लगमा प्रविधिबारे नयाँ-नयाँ लेख र जानकारी राखिहाल्ने उनले अरूलाई जानकारी दिनुसँगै आफ्नो आम्दानी पनि गरिरहेका छन् ।

सरलताका हिसाबले नेपालमा वल्र्डप्रेस डटकप र ब्लगर डटकमले उपलब्ध गराएका डोमेनमा ब्लग रजिस्टर गर्नेको संख्या बढी छ । यिनैले उपलब्ध गराउने फिक्स डिजाइन र आफैंले बनाउन सकिने कस्ट्युम डिजाइनमा विश्वभरका मानिसलाई पढाउन सकिने भएकाले इन्टरनेटमा पहुँज भएका जो कोहीले पनि ब्लगकार गरेर ब्लगकारिता गर्न सक्छ ।