Saturday, March 1, 2014

सेमेस्टर प्रणालीमा अल्झियो त्रिवि


गणेश राई/विजय तमिल्सिना
काठमाडौ, फाल्गुन १६ - त्रिभुवन विश्वविद्यालय (त्रिवि) का स्नातकोत्तर पठनपाठन हुने सबै आंगिक क्याम्पस दुई महिनायता तालाबन्दीको चपेटामा छन् । त्रिविले कीर्तिपुरस्थित विश्वविद्यालय क्याम्पसमा मात्र 'सेमेस्टर' प्रणाली लागू गर्न लागेपछि साना विद्यार्थी संगठनहरूले विरोध गरेका हुन् ।

ठूला विद्यार्थी संगठनहरू नेविसंघ, अनेरास्ववियु र एमाओवादीनिकट अखिल क्रान्तिकारी भने सेमेस्टरकै पक्षमा छन् । विरोध गर्ने १२ संगठनमा माओवादी निकट अखिल क्रान्तिकारी, संघीय समाजवादी निकट अग्रगामी विद्यार्थी युनियन, अखिल पाँचौं, अखिल छैटौं, नेक्राविसंघ, अनेवियु, क्राविसंघ, राप्रविसंघ, मविलोने, विद्यार्थी फोरम नेपाल, विद्यार्थी फ्रन्ट र विद्यार्थी मञ्च छन् । उनीहरूले विश्वविद्यालय क्याम्पसका प्रिन्सिपल र विभागीय प्रमुखको कार्यालयमा ताला लगाएका छन् ।

विरोध गर्नेमा प्राध्यापकहरू पनि छन् । त्रिवि प्राध्यापक संघले विश्वविद्यालयको मूलढोकामै धर्ना दिँदै आएको छ । 'सेमेस्टरप्रति हाम्रो विमति छैन तर कार्यान्वयन प्रक्रियाप्रति असहमत छौं,' संघका सभापति योगन्द्रनारायण बडबरियाले भने, 'विगतको समीक्षा नगरी, पाठ्यक्रमबिनै, शिक्षक र विद्यार्थीलाई मानसिक रूपमा तयार नगरी लागू गर्न खोजिएको छ । सरोकारवालाको सहमति नलिई पदाधिकारीको एकलौटी निर्णयमा लागू हुन सक्दैन ।'

विश्वविद्यालयले भने बिहीबार सेमेस्टर प्रणालीको प्रवेश परीक्षा हुने समय, समूह र विषयको सूचना जारी गरेको छ । उसले फागुन १४ सम्म फाराम भर्ने म्याद राखेको थियो । 'सेमेस्टर प्रणालीको भर्ना प्रक्रिया अघि बढिसक्यो,' त्रिवि उपकुलपति हीराबहादुर महर्जनले भने, 'अब कुनै हालतमा रोकिँदैन ।' माओवादी निकट अखिल क्रान्तिकारीका अध्यक्ष शरद रसाइलीले भने सुरक्षाकर्मी राखेर फाराम बुझ्ने काम भएको आरोप लगाए । 'त्रिविले फौजीकरण गरेर सेमेस्टर प्रणाली लागू गर्दैछ,' उनले भने ।

सेमेस्टर प्रणालीमा अन्तर्राष्ट्रिय परिवेश अनुकूल पठनपाठन हुने भएकाले लागू गर्नुको विकल्प नरहेको उपकुलपति महर्जनले बताए । यसअनुसार हरेक ६ महिनामा परीक्षा हुन्छ । विद्यार्थी ८० प्रतिशत कक्षामा उपस्थित हुनैपर्छ । अहिलेसम्म विश्वविद्यालय क्याम्पसमा ३० देखि ३५ प्रतिशत विद्यार्थीमात्रै कक्षामा नियमित छन् ।

शिक्षाध्यक्ष गुणनिधि न्यौपानेले पढ्न खोज्ने विद्यार्थी यस प्रणालीका पक्षमा भएको दाबी गरे । 'यसअघि नै सेमेस्टर प्रणाली लागू भएको बीबीएस, एमबीए र बीबीएमको उत्तीर्ण प्रतिशत राम्रो छ,' उनले भने । अब लागू हुने विषयमा शुल्क नबढ्ने जानकारीसमेत उनले दिए ।

क्रान्तिकारीका अध्यक्ष रसाइलीले भने विश्वविद्यालयले दाताको दबाबमा यसलाई अपनाएको दाबी गरे । 'पढाइको गुणस्तरका निम्तिभन्दा पनि विश्व बैंकको दबाबमा विश्वविद्यालय क्याम्पसमा मात्र लागू गरेप्रति हाम्रो आपत्ति छ,' उनले भने, 'उही शिक्षा नीति, त्यही भौतिक संरचना, तिनै शिक्षक छन् तर केन्द्रमा सेमेस्टर र अन्यत्र वाषिर्क प्रणाली हुने विभेदप्रति हामी सहमत हुन सक्दैनौं ।'

 विश्वविद्यालयले हतारमा नयाँ प्रणाली लागू गर्ने निर्णय गरेको आरोप विरोध गर्नेहरूको छ । शिक्षाध्यक्ष न्यौपानेले भने दुई वर्षअघि नै त्रिवि सभाले यो निर्णय गरेको र यस बीचमा सबै तयारी भएको बताए । अबको ३-४ वर्षभित्र देशभरका क्याम्पसका स्नातकोत्तर तहमा र त्यसपछि स्नातकमा पनि सेमेस्टर लागू गर्ने योजना त्रिविको छ ।

सेमेस्टर कि वाषिर्क प्रणाली भन्नेमा शिक्षाविद् विद्यानाथ कोइरालाले शौचालयको उदाहरण दिए । 'सामान्य शौचालयलाई कमोड बनाउनु राम्रो हो । तर ट्वाइलेट पेपर र पानी किन्न सकिएन भने के हुन्छ ?' उनले प्रश्न गरे । आफूलाई सेमेस्टर प्रणालीको पक्षपाती रहेको उल्लेख गर्दै उनले भने, 'सेमेस्टर प्रणालीमा जानुअघि विद्यार्थी पनि सुध्रनुपर्छ ।' नियमित कक्षा आउन चाहनेलाई सेमेस्टर र नियमित नहुनेलाई वाषिर्क प्रणाली एकसाथ चलाउनु उपयुक्त हुने उनको सुझाव छ । नोट बाँडेर पढाउन बानी परेका प्राध्यापक सेमेस्टर प्रणालीमा घुलमिल हुन नसक्ने दाबी उनले

गरे । 'नोट दिन बानी लागेकालाई बिदा दिनुपर्छ,' उनले भने, 'आँटिलो प्रशासक, प्राध्यापक र राम्रो व्यवस्थापन भएमात्रै सेमेस्टर प्रणाली सफल हुन्छ ।' प्रजातान्त्रिक प्राध्यापक संघका महासचिव जगत तिमल्सिनाले भने, 'हतार गर्नुहुन्न भन्दा पढाउन अल्छी गरेको आरोप लगाइएको' बताए । 'त्रिविले सेमेस्टर लागू नहुने क्याम्पसका प्रमुखलाई बोलाएर सभा गर्दै नयाँ प्रणालीमा जाने निर्णय गर्‍यो,' उनले भने । त्रिविले यसअघि २०३० मा लागू गरेको सेमेस्टर प्रणाली २०३६ मा खारेज गरेको थियो ।

वाषिर्क परीक्षा प्रणाली
वर्षमा एक पटक परीक्षा
अनियमित हाजिरी
सिकाइमा कम सहभागिता
एकोहोरो मूल्यांकन
सेमेस्टर प्रणाली
छ-छ महिनामा परीक्षा
कम्तीमा ८० प्रतिशत हाजिरी
कक्षागत र अतिरिक्त क्रियाकलाप
बहुपक्षीय मूल्यांकन
सेमेस्टरका पक्षमा
नेविसंघ
अनेरास्ववियु
अखिल क्रान्तिकारी
प्रगतिशील प्राध्यापक संगठन
विपक्षमा
नेकपा-माओवादीनिकट अखिल
(क्रान्तिकारी) लगायत १२ विद्यार्थी संगठन
त्रिवि प्राध्यापक संघ
नेपाल प्राध्यापक संघ
प्रजातान्त्रिक प्राध्यापक संघ
(First Appeared on Front Page of Kantipur Daily)