Friday, July 11, 2014

विश्वकपको अर्को मैदान

ब्राजिलमा अहिले विश्वकप फुटबल अन्त्यतिर पुगेको छ, फाइनलसहित दुई खेलमात्र बाँकी छन् । त्यहाँका १२ स्टेडियममा मात्रै यो खेल सीमित छैन । स्टेडियममा खेल हुँदा जति हल्ला हुन्छ, त्योभन्दा बढी विश्वकपको चर्चा सोसल मिडियामा भइरहेको छ । यसमा खेलका दर्शकमात्रै होइनन्, चर्चित खेलाडी र टिमका म्यानेजर पनि सामेल छन् । इटालीका डिफेन्डर जर्जियो चेलिनीको बायाँ काँधमा दाँतको डोब र ब्राजिली स्टार नेयमरको चोट यो विश्वकपको सबैभन्दा चर्चाका विषय बने । यी दुई यस्ता विषय रहे, जसले सोसल मिडियामा विश्वकपको 'हाइप' बढाइदिए ।


डिफेन्डर चेलिनीको काँधमा चोट दिएका उरुग्वेली फरवार्ड लुइस सुआरेजले घर पुगेपछि टि्वटर र फेसबुकमार्फत चेलिनीसँग मागेको माफी र चेलिनीले दिएको जवाफ पनि उत्तिकै चर्चित छन् । समूह चरणको अन्तिम खेलमा चेलिनीलाई टोकेको प्रमाणित भएपछि फिफा (अन्तर्राष्ट्रिय फुटबल महासंघ) ले सुआरेजलाई अन्तर्राष्ट्रिय नौ खेल र चार महिना फुटबल गतिविधिमै प्रतिबन्ध लगायो । लिभरपुलका सुआरेजले पश्चतापको शैलीमा चेलिनीसँग माफी मागे । चेलिनीले उनको टि्वटरमै रिप्लाई गर्दै आफूले घटना बिर्सिसकेको र फिफाले उनलाई गरेको कारबाही घटाउने आशा व्यक्त गरे ।

चेलिनीको यो उदार उत्तर टि्वटरमा झन्डै एक लाख पटक रि-टि्वट भएको छ । हजारौंले फेभरेटमा क्लिक गरेका छन् । सुरुमा सुआरेजले अस्वीकार गरे पनि उनले चेलिनीलाई टोकिरहेको तस्बिर टि्वटर र फेसबुकमा भाइरलजस्तै फैलिए । त्यो उनको गल्ती प्रमाणित गर्ने अभियान जस्तै बन्यो । अन्ततः बाध्य भएर सुआरेजले माफी नै माग्नुपर्‍यो । त्यसका लागि उनी सोसल मिडियामै आए ।

क्वाटरफाइनलमा कोलम्बियाका जुआन कामिलो जुनिगाको घुँडाले ठोक्किएर ढाडको तल्लो हाड फ्याक्चर भएपछि विश्वकपका बाँकी खेल खेल्नबाट वञ्चित ब्राजिली स्टार नेयमरप्रतिको माया पनि सोसल मिडियामा खुबै छायो । चोटग्रस्त भएपछि मैदानमा रुँदै गरेको र हेलिकप्टरमार्फत अस्पताल लगिएको उनको तस्बिर सामाजिक सञ्जालमा 'भाइरल' नै बने । कामिलोलाई खलनायकको संज्ञा दिँदै आक्रोश पोखिए । त्यो आक्रोशको जवाफ उनले फेसबुकबाटै दिए, 'नेयमरलाई घाइते बनाउने मेरो उद्देश्य थिएन । म नेयमरलाई सम्मान गर्छु र लाग्छ उनी विश्वका सर्वोत्कृष्ट खेलाडीमध्ये एक हुन् । आशा गर्छु, उनी चाँडै निको होऊन् ।'

नेयमरले गहभरि आँसु पार्दै आफू घाइते भए पनि विश्वकप जित्ने सपना नटुंगिएको भन्दै दिएको भिडियो सन्देशले सबैलाई भावुक बनाए । सवा करोड फलोअर भएको उनको टि्वटरलाई मेन्सन गर्दै लाखौंले शीघ्र स्वास्थ्य लाभको कामना गरे । त्यसमा इङ्ल्यान्डका पूर्वस्टार डेविड बेकह्याम, बार्सिलोनाका सहकर्मी लियोनल मेसी पनि छन् । यो विश्वकप सोसल मिडियाको रेकर्ड तोड्दै सबैभन्दा बढी अन्तक्रिर्या हुने इभेन्ट बन्यो । ब्राजिल टि्वटरको बढी प्रयोगकर्ता हुने देशमध्ये चौथोमा पर्छ । ब्राजिलकै नेयमर, डेभिड लुइज र थिएगो सिल्भा फोटो सेयरिङ साइट इन्स्टाग्राममा सबैभन्दा बढी फलोअर हुने खेलाडीमा पर्छन् ।

विश्वकपका लागि ब्राजिल पुगेका प्रायः सबै खेलाडीको आफ्नै टि्वटर, फेसबुक र इन्स्टाग्राम पेज छ । उनीहरूले आफ्ना पेजमा व्यक्तिगत तस्बिर र जानकारी राखेकाले पनि विश्वकप सोसल मिडियामा बढी नै छाएको हो ।  विश्वकपबारे सोसल मिडियामा बहस गर्नेमा नेपाली राजनीतिज्ञिदेखि सेलिबि्रटीसम्म सामेल छन् । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई टिम अर्जेन्टिना र मेसीको समर्थनमा टि्वट गर्छन् । अर्जेन्टिनाले स्विट्जरल्यान्डविरुद्ध खेलको अन्तिम १६ को खेलअघि उनको टि्वट थियो, 'आज मेरो मस्तिष्क र मुटु अर्जेन्टिना र मेसीको पक्षमा छ ।'

पूर्वअर्थमन्त्री तथा नागरिक अभियन्ता देवेन्द्रराज पाण्डेलाई विश्वकप खुबै लागेको छ । उनी आफूले टि्वटमात्रै गर्दैनन्, अरूले गरेका टि्वटमा रिप्लाई र रि-टि्वट पनि गरिरहेका हुन्छन् । नायिका केकी अधिकारी भन्छिन्, 'फ्यानको चासो विश्वकपबारेकै टि्वटको चर्चा चल्छ ।'

फेसबुक तथ्यांकअनुसार विश्वकपको समूह चरणको खेल सकिँदामात्रै १ अर्ब अन्तक्रिर्या भए । फेसबुक स्थापनायताकै सबैभन्दा धेरै स्टाटस, लाइक्स र कमेन्ट आएको इभेन्ट यही विश्वकप हो । फेसबुक र टि्वटरले विश्वकपका लागि बनाएको छुट्टै हबका कारण प्रयोगकर्ता झन् बढी आकषिर्त भएका हुन् । टि्वटरले विश्वकपमा सहभागी कुनै पनि देशको छोटकरी नाम ह्यास ट्याग राखेपछि स्वतः त्यो देशको झन्डा देखाउँछ ।

फेसबुकले 'ट्रेन्डिड विश्वकप' नाम दिएर अन्तक्रिर्याका लागि छुट्टै हब बनाएको छ । विश्वकप खेल्न ब्राजिल पुगेका खेलाडीको इन्स्टाग्राममा खेलाडीहरूले पोस्ट गरेका पर्सनल तस्बिरहरूले पनि समर्थकलाई थप उत्साहित पारेको छ । विश्वकपको क्रोएसियाविरुद्धको उद्घाटन खेलमा ब्राजिली स्टार नेयमरले प्रेमिका ग्राभियला लेन्जीसँग खिचेको सेल्फी पनि चर्चित बन्यो । फरवार्ड लुकास पोडोल्स्कीले जर्मन चान्सलर एन्जेला मर्केलसँग लिएको सेल्फी पनि धेरै मन पराए । टि्वटरमा धेरै फ्यान भएका फुटबलर पोर्चुगलका क्रिस्टियानो रोनाल्डोको टोली समूह चरणबाटै घर फर्केको घटना ठूलै बहस बन्यो । उनको निकै आलोचना पनि भयो ।

अमेरिकाविरुद्धको समूह चरणको अन्तिम खेलमा मात्रै रोनाल्डोलाई टि्वटरमा १५ लाखपटक मेन्सन गरिएको थियो । अघिल्लो विश्वकपको फाइनलमा स्पेनसँग हारेको नेदरल्यान्ड्सले यसपल्टको पहिलो खेलमै लिएको बदला, त्यसमा डच कप्तान रोबिन भान पर्सीको 'फ्लाइड हेडर' को अहिलेसम्मै चर्चा भइरहेको छ । भान पर्सीलाई स्पाइडर म्यान र ब्याटम्यानको अवतार दिइएका तस्बिर लाखौंपटक सेयर गरिए ।

नेदरल्यान्ड्सले मेक्सिकोलाई जितेको खुसीमा डच हवाई सेवा कम्पनी केएलएमले आफ्नो आधिकारिक टि्वटरबाट सेयर गरेको फोटो निकै विवादित बन्यो । नेदरल्यान्ड्सले खेल जिते लगत्तै दाह्री पालेको र मेक्सिकन ह्याट लगाएको व्यक्ति एयरपोर्टबाट बिदाइ हुँदै गरेको जस्तो देखिने फन्नी फोटो सेयर गरेको थियो । जसमा डच भाषामा फेरि भेटौंला लेखिएको थियो । यस्तो फोटोले मेक्सिकनको चित्त दुखायो । मेक्सिकन कलाकार गेल गार्सिया बेर्नलले टि्वट गरेर आफू केएलएममा कहिल्यै यात्रा नगर्ने प्रतिक्रिया दिए । लगत्तै केएलएमले उक्त पोस्ट डिलिट गर्दै गल्ती सच्यायो ।

सोसल मिडिया त्यही जमानामा चल्तीमा भएको भए जिनेदिन जिदानले माटेराजीलाई गरेको हेडर र डिएगो म्याराडोनाले इङ्ल्यान्डविरुद्ध गरेको हाते गोलबारे के प्रतिक्रिया दिन्थे होला ? अघिल्लो विश्वकपबाट सुरु भएको सोसल मिडिया बहस यो विश्वकपसम्म झाँगिएको छ । टि्वटर र फेसबुक मैदानमा पाएको सफलताको खुसी साट्ने, दुःखमा पोख्ने र गल्तीको पश्चाताप गर्ने थलो भएको छ । फ्यानले आफ्ना मन पर्ने खेलाडीलाई टि्वटर, फेसबुक र इन्स्टाग्राममा फलो गरेर फस्ट ह्यान्ड इन्फर्मेसन पाइरहेका छन् ।
हेल्लो शुक्रबारमा प्रकाशित
Categories: