Tuesday, March 31, 2015

यू-ट्युब दशक


 स्थापनायताको यसको सफलता र लोकप्रियता हेर्दा यो दशकलाई यु्-ट्युब दशक भन्दा फरक नपर्ला । धेरैले यो समयलाई फेसबुकको दशक भनेर नाम पनि दिएका छन् । फेसबुककै युगमा लोकप्रिय यु-ट्युब केहीहदसम्म फेसबुकको छायाँमा परेको हो । तर फरक प्रकृतिको भएकाले यसको सफलतालाई कसैले रोक्न सकेको छैन् ।

सन् २०१२ को डिसेम्बर १६ मा नयाँ दिल्लीमा भएको बलात्कारको विषयमा बनाइएको डकुमेन्ट्रीलाई केही दिनअघि बीबीसीले सार्वजनिक गरेपछि भारतीय सरकारले प्रसारणमा प्रतिबन्धल गायो । इन्टरनेटमा पहुँच भएका लाखौ भारतीय भने त्यस वृत्तचित्र हेर्नबाट बञ्चित भएनन् । यु-ट्युबबाट सार्वजनिक भएको केही घन्टामै एक घण्टा लामो वृत्तिचित्र लाखौंले हेरिसकेका थिए ।

अहिले यू-ट्युब आफैंले त्यसलाई हटाइदिएको छ । काुनन विपरीतको सामग्री भन्दै यु-ट्युबले हटाइदिए पछि डकुमेन्ट्री हेर्नबाट अरु वञ्चित भए । यु-ट्युबको शक्ति आंकलनको लागि यो उदाहरण नै पुग्छ । भिडियो सेयरिङको कन्सेप्टसहित १० वर्षअघि सुरु भएको यु-ट्युबको अहिलेको व्यापकता सायद कसैले अनुमान गरेका थिएनन् ।

गुगल र फेसुबकपछि यु-ट्युब सबैभन्दा बढी प्रयोग हुने वेवसाइट हो । यु-ट्युब भिडियो साझेदारीको मात्रै होइन्, ज्ञान र मनोरञ्जन बाँड्ने माध्यम समेत बनेको छ । भिडियोमार्फत आफ्नो क्रियटिभिटी देखाउनेलाई यसबाटै रातारात चर्चित र मालामाल बनेका छन् । आफ्नो रूपलाई तुरुन्तै बदल्न सक्ने नेपाली चेली प्रमिस तामाङ हुन् वा यु-ट्युबबाटै सेलिब्रेटी बनेका यमबुद्ध, यस्ता प्रतिभा जन्माउन यु-ट्युबको गुन बिर्सन सकिनन ।

गङनम स्टाइललाई विश्वचर्चित बनाएर यु-ट्युबले ग्लोबलाइजेसनको अर्थ बुझाइदिएको छ । झन् नेपालजस्तो देशमा यु-ट्युबको साइनो गहिरो छ । यसले ओरालो लागेको नेपाली संगीत क्षेत्रलाई धान्न मदत गरिरहेको छ । एल्बम नबिकेर निराश कलाकर्मीलाई आम्दानीको बाटो देखाएको मात्र छैन्, धेरै कलाकार जन्माउन पनि भूमिका खेलेको छ ।

आजभोलि धेरै गीत यु-ट्युबमार्फत रिलिज हुन्छन् । त्यही हिटको आधारमा यसको लोकपि्रयता मापन हुन्छ । फिल्मको प्रोमो यु-ट्युबमै रिलिज हुन्छ र चर्चा गरिन्छ । आज नाम चलेका त्यस्ता कोही मनोरञ्जन सेलिब्रेटी छैनन् जसको यु-ट्युब च्यानल नभएका हुन् । यो दस वर्षको अवधिमा यु-ट्युबले भिडियोको लागि परम्परागत टेलिभिजनमा पर पर्नुपर्ने बाध्यता टारिदिएको छ ।

टेलिभिजन अहिले धमाधम यु-ट्युबच्यानलमार्फत आफ्नो दर्शक संख्या बढाउन लागेका छन् । त्यसबाट दर्शकसँगै विज्ञापनको पैसासमेत कमाइरहेका छन् । अक्षरमार्फत अरुलाई बुझाउन ब्लगर अहिले भिडियोमार्फत बह पोख्न सक्ने भएका छन् । अहिले भइरहेको कुनै पनि घटना यु-ट्युबमार्फत लाइभ स्टि्रमिङ गर्ने सुविधा भएपछि त यो झन् टेलिभिजनको भविष्यमाथि नै थ्रेट बनेको छ ।

अहिले पनि धेरै टेलिभिजनले प्रशारण भइसकेका आफ्ना कार्यक्रम यु-ट्युब च्यानलमार्फत प्रशारण गरिरहेका छन् । मोबाइलको सेटिङ मिलाउनेदेखि प्रसव वेदनाको पीडा देखाउनेसम्मका भिडिया यु-ट्युबमा हालिएका छन् । जसका कारण संसारभरका लाखौं मानिसको लागि यो मनोरञ्जनमात्रै नभएर ज्ञान आर्जनको माध्यम भएका छ । यु-ट्युबले दिने सुविधाका कारण जो कोहीले पनि आफै भिडियोग्राफर बन्न सकेको छ ।

यु-ट्युबमा बनाइएको प्लेलिस्टमा धेरै संगीत सुन्दै मनको वह रित्याउँछन् । सन् २००५ को फेब्रुअरीमो भिडियो सेयरिङको लागि चाड हर्ले, स्टेभ चे र जावेद करिम मिलेर बनाएको प्लेटर्फमलाई एक वर्ष लगत्तै गुगलले चिन्यो र राम्रो पैसा तिरेर किन्यो पनि । जुन बेला यु-ट्युबमा प्रयोगकर्ताबाट प्रतिदिन ६५ हजार भिडियो थपिदै थिए, त्यो पनि स्वस्फुर्त रूपमा ।

आज यु-ट्युबमा भिडियो अपलोड गर्नु स्वयम सेवा मात्रै नभएर आम्दानीको बाटो बनेको छ । यो व्यवसाय बन्ने बाटोमा छ । यो गुगललको अहिलेसम्मकै राम्रो निर्णय मध्ये एक हुनपुगेको छ । अहिले सर्च इन्जिन गुगल जत्तिकै लोकपि्रय भइसकेको छ, यु-ट्युब । यु-ट्युब नकिनेको भए गुगललाई कति घाटा हुन्थ्यो होला ? जिब्रो टोक्दा हुन्, गुगलका मालिक ।

नाम मिलेकै कारण यु-ट्युबले त्यसअघि नै सञ्चालनमा रहेको अर्को एक च्यानलसँग कानुनी लडाइँ लड्नु परेको थियो । तर यु-ट्युब खोज्ने मानिसको संख्या कारण अर्को च्यानल आफैंले नाम फेरेर यु-ट्युब अनलाइन डट कम बनायो । सन् २००७ मा यु-ट्युबले प्रयोग गरेको ब्यान्डविथ सन् २००० मा सबै इन्टरनेटले गरेको व्यान्डविथ खपतभन्दा धेरै थियो । सन् २०१२ को तथ्यांकअनुसार यु-ट्युबमा प्रत्येक मिनेट ६० घन्टाको भिडियो अपलोड हुन्छ ।

यसको युनिक भिजिटर मात्रै प्रतिमहिना ८ सय मिलियन छन् । हरेक वर्ष यु-ट्युबको लोकपि्रयताको आधारमा पनि पश्चिमा सेलिब्रेटीको सफलता मापन गरिन्छ । गङनम स्टाइल यु-ट्युबमा अहिलेसम्म सबैभन्दा चर्चित भिडियो हो, जसले साइटको काउन्टिङ सिस्टम नै फेर्न बाध्य पारेको थियो । अहिलेसम्म यो भिडियो २ अर्व २६ करोड भन्दा धेरै पटक हेरिसकिएको छ ।
Published in Hello Friday.