Thursday, September 15, 2011

प्रधानमन्त्रीको घुर्की र माओवादीको फुर्ति

    आफू प्रधानमन्त्री निर्वाचित भएको हनिमुन पनि पूरा हुन नपाउँदै केही गर्न छट्पिएका प्रधानमन्त्री बाबुराम भट्टराईले अरु दलले शान्ति र संबिधानको जिम्मेवारी पूरा गर्ने क्रममा सहयोग नगरे पदै छाड्ने चेतावनी दिएका छन् । उनका बिपक्षीहरुले उनको यो अभिव्यक्तिलाई घुर्कीको रुपमा बुझेका छन् । प्रधानमन्त्री भएपछि ४५ दिनभित्र संबिधानको प्रारम्भिक खाका कुनै पनि हालतमा जनतालाई दिन्छु भनी कसमजस्तै गरी प्रतिवद्धता जनाएका प्रधानमन्त्रीलाई दुई हप्ता बितिसक्दा पनि संबिधान बनाउने काममा वरको सिन्को नभाँचिता पक्कै भत्भती पेट पालेको हुनुपर्छ । उनको यो पेट पोलाई सहीरुपमा सक्रिय भए त जनताले राहत पाउँलान तर पद छाड्ने प्रधानमन्त्रीको भनाईलाई अन्य दलले घुर्कीको रुपमा मात्रै बुझिदिए पनि उनले हालसम्म पाएको फस्टको इज्जत गल्र्याम्म गुर्लुम्म ढल्नेमा दुईमत छैन् ।

    आफ्नै पार्टीका उपाध्यक्ष प्रधानमन्त्रीले कन्टेनरको साँचो आफू मातहतको बिशेष समितिलाई हस्तान्तरण गर्न लगाएपछि रन्थनिएका बुढा मोहन बैद्य मृगले आफ्नै सुगन्धको खोजीमा हिडेझैं भौतारिइरहेका छन् । घरी राँके जुलुस बालेर सडक तताउँदैछन् भने घरी माइला लामाहरु फकाएर देश दौडाहामा पठाइरहेका छन् । हेरौ उनको यो बुढो बुद्धिले कतिदिनसम्म काम गर्नेछ ।     गोर्खामा पुगेर सहीद परिवार रुवाउँदै आफूहरु एकढिक्का भएको भन्दै फुस्रो फुर्ति लाउने चर्तिकला कति दिनको रामछायाँ हो बुझ्न बाँकी छ किनकी आफूले दान दिएकैले बाबुराम प्रधानमन्त्री भएको भन्ने आशयको उनको भाषण सुन्दा गोर्खाको जनतासँगै धेरै माओवादी कार्यकर्ता मनमनै खित्खिताएका थिए ।