Friday, September 16, 2011

५० हजार माछालाई आफ्नै घर

हेटौंडा, ३० भदौ ।
    खोलामा माछाका प्रजातिहरु लोप हुने अवस्थामा गएपछि मकवानपुरको छतिवन स्थित सिमात र बकैया खोलामा ५० हजार स्थानीय जातका माछाका भुरा छाडिएको छ । स्थानीय जातको माछाको घरको रुपमा खोल्साखोल्सी, खोला र नदीलाई मान्ने गरिन्छ । खोलामा बिषादी हाली माछा मार्ने, करेन्ट लगाउने र ब्लाष्ट गर्नेजस्ता अवैध ढंगबाट माछा मारिदा देशभर नै नदी र खोलाका माछाको अस्तित्व नै खतरामा छ ।

    नदी र खोलामा पाइना स्थानीय प्रजातिका माछाको संरक्षण गरी माछा मारी जिविकोपार्जन गर्ने माझी, दनुवार राईजस्ता समुदायको आयआर्जनमा सघाउन मत्स्य विकास केन्द्र हेटौंडाले ५० हजार रघु र नैना जातका माछाका भुरा खोलामा छाडेको हो । मकवानपुरका प्रमुख जिल्ला दिनेश भट्टराई, स्थानीय विकास अधिकारी भुवनप्रकाश विष्ट, कृषि विकास कार्यालयका वरिष्ठ कृषि अधिकृत मिनप्रसाद बुढाथोकी र मत्स्य विकास केन्द्र प्रमुख रामप्रसाद पन्तले छतिवन ८ स्थित सिमात खोला र बकैया खोलामा माछाका भुरा छाडेका हुन् । छतिवनमा आयोजित एक कार्यक्रमका बीच स्थानीयबासीलाई खोलामा माछाको महत्व र यसको फाइदाबारे सचेत पारी माछाका भुरा खोलामा छाडिएको हो ।
    देशभर नै खोलामा बिषादी हाली माछा मार्ने गलत प्रवृत्ति बढ्दा खोलाका माछाको अस्तित्व नै खतरामा पर्न थालेको साथै यसैको कारण जाल हाली माछा मार्ने माझी र राई दनुवारजस्ता जातिको पेशासमेत संकटमा परेकाले स्थानीय जातमो माछा संरक्षणको लागि भुरा छाडिएको मत्स्य विकास केन्द्र प्रमुख पन्तले बताए । माछाको अस्तित्व जोगाउन खोलामा माछा छाडिएको यो पहिलो पटक हो ।
    छतिवनको कर्मचुली र पावसमा गठिन माछा संरक्षण समितिले खोलाको हालिएको उक्त माछाको संरक्षण गर्नेछ । माछा हालिएपछि खोलामा बिषादी प्रयोग गर्न र ब्लाष्ट गरी माछा मार्न नदिइने कर्मचुली माछा संरक्षण समितिका अध्यक्ष कृष्ण माझीले बताए । माझी र दनुवार जतिको बाहुल्यता रहेको यस क्षेत्रमा खोलामा माछा पाइन छाडेपछि उनीहरुको पेशा नै संकटमा परेको छ ।
    खोलामा छाडिएका माछाका भुरा संरक्षणको लागि स्थानीयबासीलाई परिचालन गरिने केन्द्र प्रमुख पन्तले बताए । सामुदायिक वन संरक्षण गरेको जस्तै स्थानीयबासीले खोला र यसको माछाको संरक्षण गर्न सके माछासँगै खोलाको समेत संरक्षण हुने पन्तको तर्क छ । प्रमुख जिल्ला अधिकारी भट्टराईले अवैधरुपमा माछा मार्ने जोकोहीलाई पनि कारवाही गरिने चेतावनी दिंदै खोलामा बिषादी हाल्ने, करेन्ट लगाई माछा मार्ने प्रवृत्ति निरुत्साहित गर्न स्थानीयबासी समक्ष आग्रह गरे ।