Monday, October 24, 2011

खानेपानी लिन घण्टौंको यात्रा

    हेटौंडा, ६ कात्तिक÷ मकवानपुर जिल्लाको सदरमुकाम हेटौंडासंग जोडिएको चुरियामाई गाविसका बासिन्दाहरु एक गाग्री खानेपानी लिन घण्टौं हिंड्नुपर्ने बाध्यतामा परेका छन् । धेरै वर्ष अघिदेखि पानीको समस्या भोग्दै आएका उनीहरुको उक्त बाध्यता अझै हटेको छैन ।
    चुरियामाई गाविसको वडा नं. २ नयाँबस्ती, वडा नं. ३ रातोमाटो, वडा नं. ४ सानोसुगौली र वडा नं. ९ को शिखरपानीका बासिन्दाहरुले धेरै मात्रामा पानीको समस्या झेल्दै आइरहेका छन् । ‘पिउने पानी लिनकै लागि हामीले धेरै दु.ख भोग्दै आएका छौं’, शिखरपानीकी गृृहणी मिनाकुमारी  लामाले बताइन् । ‘बिहानदेखि बेलुकासम्म गर्नुपर्ने दैनिक क्रियाकलाप तथा जीवनयापनका लागि अति आवश्यक पानी लिन घण्टौं हिंडेर जानुपर्ने बाध्यता छ’, उनले दुःखसो पोखिन् । ‘एक गाग्री पानी ल्याउन दिनभरि हिंड्नुपर्छ’, उनले भनिन् ।
    चुरियामाई–३ रातमाटेबासीले पनि वर्षौंदेखि खानेपानीको समस्या भोग्दै आइरहेका छन् । वर्षायाममा आकाशेपानीले गर्दा धारामा पानी थोरै आएपनि सुख्खा मौसममा मुहानै सुक्ने हुँदा धारामा पानी पटक्कै नआउने स्थानीय शान्ति लामाले बताइन् । ‘यहाँ पानीको मुहान् त छ तर,  सुख्खा मौसममा पिउनमात्र पुग्ने हुनाले नुहाउन, कपडा धुन, गाईबस्तुलाई खुवाउन पुग्दैन’, उनले बताइन् ।
    यसैगरी, चुरियामाई गाविसकै वडा नं. २ नयाँबस्तीमा पनि पानीको समस्या ज्यूँकात्यूँ छ । खानेपानी सहज नहुँदा त्यहाँका बासिन्दाहरुले समस्या भोग्दै आएका छन् । नयाँबस्तीमा हाल खानेपानीको लागि इनार निर्माण भइरहेको स्थानीय श्यामकुमार ब्लोनले बताए ।
    वडा नं. ४ कै सयफुटबासी पनि खानेपानी समस्याबाट आक्रान्त छन् । एउटामात्र मुहान भएका कारण पानीको निकै अभाव रहेको  स्थानीय बिमल गोलेले बताए । ‘पानीको समस्या हुँदा हामी ५ किलोमिटर टाढा बाराको ३ नम्बर पुलसम्म पुग्नुपर्ने बाध्यता छ’, उनले आक्रोश पोख्दै भने– ‘सरकारले हामीलाई ज्यादै हेपेको छ ।’
    सानोसुगौलीमा एउटा धारा भएपनि सबै घरलाई नपुग्ने हुँदा पानी लिन अर्कै गाउँ पुग्नुपर्ने सानोसुगौलीकी तारा तितुङले बताइन् ।
    चुरियामाई गाविसको अन्य वडामा भन्दा २, ३, ४ र ९ नम्बर वडामा खानेपानी समस्या बढी देखिएपछि गाविसले सामान्य कुवा, धाराको पाइप आदिको लागिमात्र सहयोग गर्दै आएको गाविस सहायक कृष्ण क्षेत्रीले बताए । उनका अनुसार बृहत खानेपानी योजना मँसिरदेखि सुरु गरिने भएको छ ।
    नयाँबस्तीपछि अन्य वडाहरुमा पनि बृहत खानेपानीको योजना  विकास गरिने क्षेत्रीले बताए । बजेट सीमित रहेकाले साना योजनामामात्र लगानी गरेको उनले बताए । बृहत खानेपानी योजनापछि चुरियामाई गाविसले मुहार फेर्ने उनले विश्वास व्यक्त गरे । गाविसको अन्य वडाहरुमा भने खानेपानीको सुविधा पुगिसकेको छ ।
Categories: