Thursday, October 4, 2012

एकसय ५६ यौनकर्मी महिला थपिए

    मकवानपुरमा एकसय ५६ नयाँ यौनकर्मी थपिएको तथ्यांक छ । महिला यौनकर्मीको एचआईभी सुरक्षाको लागि १७ बर्षदेखि कार्यरत जनरल वेलफेयर प्रतिष्ठान (जीडब्लुपी) को तथ्यांक अनुसार अक्टोबर २०११ देखि अगस्ट २०१२ सम्मको ११ महिना अवधीमा मकवानपुरमा एकसय ५६ नयाँ यौनकर्मी थपिएका हुन् । त्यसअघिका तीनसय तीनसय ५८ सहित संस्थाको कार्यक्षेत्रभित्रको यौनकर्मी महिलाको संख्या पाँचसय १४ पुगेको फिल्ड संयोजक रामशरण सापकोटाले बताए ।
    जीडब्लुपीले पहिचान गरिएका महिला यौनकर्मीहरुलाई सुरक्षित सम्पर्कको लागि सचेतना दिने र यौनजन्य संक्रमित महिला यौनकर्मीलाई उपचारको काम गर्दै आएको छ । पहिचान गरिएका यौनकर्मी महिलासँग नियमित भेटघाटमार्फत् संस्थाले कण्डम सचेतना प्रदान गर्छ ।
    यौन पेशा अंगाल्नेमा गाउँबाट शहर पसेका २० देखि ३० बर्षसम्मका महिलाहरुको संख्या बढी भएको तथ्यांक छ । गरिबी र शोखका कारण यो पेशामा लाग्नेहरु बढेका हुन् । गाउँबाट शहरमा अध्ययनका लागि आएका कलेजका बिद्यार्थी र पति बिदेश गएका महिलाहरुसमेत पेशामा संलग्न छन् । स्कुले तह पार गरी अध्ययनका लागि शहर आएका बिद्यार्थीहरु खर्च अभावमा यौन पेशा गर्नेको संख्या पनि प्रशस्त भएको सापकोटाको भनाई छ । यौनकर्मी महिलाको उमेर र शारीरिक अवस्थाको आधारमा उनीहरुको फरकफरक खाले ग्राहकहरु छन् । ग्राहकअनुसार उनीहरुको आम्दानी निर्भर रहने गर्दछ ।
    कम उमेरका आकर्षक यौनकर्मी महिलाहरुको ग्राहक उच्च तहका कर्मचारी र व्यबपारी हुने गरेका छन् भने ३५ बर्ष उमेर कटेका यौनकर्मीका ग्राहक सामान्य श्रमिक, मजदुर हुने गरेको तथ्यांक छ । यसबाहेक पनि सेना, प्रहरी र चालक यौनकर्मीकहाँ पुग्ने नियमित ग्राहक हुन् ।
    बाध्यता र शोखको दुवै कारणले यो पेशा अंगाल्नेहरुले पेशा परिवर्तन गर्न गाह्रो मान्ने गरेको सापकोटाको अनुभव छ । उनीहरुमा सुरक्षित सम्पर्क र यौन व्यबसायको नकारात्मक असरबारे जानकारी भएपनि रमाईलो र आम्दानीको सहजताले गर्दा यौनकर्मी महिलाको व्यबहार परिवर्तनमा कठिनाई भएको तर्क उनी गर्छन् ।
    तर, बाध्यताले यौन पेशामा लागेका कतिपय महिलाहरु फरक पेशा गरी आम्दानी गरेको उदाहरण पनि छ । जीडब्लुपीबाट झोला बनाउने तालिम पाएका पाँचजना पूर्व यौनकर्मी महिलाहरु अहिले झोला बिक्री गरेरै आम्दानी गर्छन् ।
    संस्थाले यौनकर्मी महिलालाई ग्राहकले कण्डम प्रयोग गर्न नमान्दा सम्झाउने उपायबारेसमेत प्रशिक्षण दिएको छ । यौनकर्मी महिलालाई असुरक्षित सम्पर्कको असरबारे जानकारी भएपनि कतिपय ग्राहकले असुरक्षित सम्पर्कको असर नबुझ्दा उनीहरु हैरान छन् । मजा आउँदैन् भन्दै कण्डम प्रयोग गर्न नमान्ने ग्राहकलाई उनीहरु आफैंले सुरक्षित सम्पर्कका लागि मनाउने गरेका छन् । संस्थाले मकवानपुरको महेन्द्र राजमार्गले छोएको लोथरदेखि चुरियामाईसम्म र भीमफेदीदेखि चौघडासम्मको स्थानलाई कार्यक्षेत्र बनाएको छ ।