Tuesday, October 2, 2012

आधाले हराउँछन् नागरिकता


भदौं ४ गते जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रतिलिपि लिएका छतिवनका एक किशोर मंगलबार नागरिकता हरायो भन्दै पुनः बनाउन आइपुगे । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा यसरी नागरिकता हरायो र च्यातियो भन्दै पुनः बनाउन आउनेको संख्या दुई दर्जन हुने शाखा अधिकृत दिनेशराज सिग्देल बताउँछन् । नागरिकता हरायो र च्यातियो भन्दै बनाउन आउनेहरुको प्रतिलिपि नागरिकताको सिफारीशमा सिग्देल दिनभर व्यस्त रहन्छन् ।

प्रशासन कार्यालयमा दैनिक ५० जनाको हाराहारीमा नयाँ नागरिकता बनाउन आउँछन् भने दुई दर्जन मानिसहरु नागरिक हराएको र च्यातिको भन्दै प्रतिलिपि नागरिकता लिन आउँछन् । मानिसको असावधानीले नागरिकता हराउने क्रम कहिल्यै रोकिएको छैन् । नागरिकताजस्तो महत्वपूर्ण कागजातसमेत बनाउनेको आधा हराउनेको संख्या हुने तथ्यांक अचम्म लाग्दो छ ।
नागरिकता हराए नागरिकता नम्बरको आधारमा जल्ला प्रशासनको ढड्डामा खोजेर पुनः सजिलै बनाउन सकिने प्रक्रिया छ । नागरिकता नम्बर थाहा भएमा एक घन्टाभित्रमा नागरिकताको प्रतिलिपि तयार हुन्छ । नागरिकता हराएमा बनाउने सजिलो प्रक्रियाले पनि नागरिकता पुनः बनाउनेलाई सजिलो भएको छ । नागरिकता नम्बरसमेत थाहा नहुँनेको हकमा पनि पुरानो कागजपत्र खोज्दा समय लाग्छ ।
प्रशासनले हराएर पुनः नागरिकता बनाउनेहरुलाई पहिलो प्रतिलिपि, दुई पटक हराउनेलाई दोस्रो प्रतिलिपि भनेर नागरिकता उपलब्ध गराउँछ । जसको लागि कुनै शुल्क लाग्दैन । एउटा नागरिकता हराएर पुनः नागरिकता बनाउँदा प्रतिलिपि नागरिकता भनेर दिइँदा अरुले नागरिकता नै नक्कली हो कि भनी शंका गर्ने गरेको निकेश कृष्ण श्रेष्ठको अनुभव छ । उनले दुई पटक नागरिकता हराइसकेका छन् ।
एक पटक घर सर्दा हराएको नागरिकता अर्को पटक काठमाडौं जाँदै गर्दा हराएको उनले सुनाए । प्रतिलिपि नागरिकताकै कारण पासपोर्ट बनाउने प्रक्रियासमेत लम्बिएको उनले गुनासो गरे । पासपोर्ट बनाइसकेपछि नागरिकतामा पासपोर्ट नम्बरसहितको छाप लगाउने गरिन्छ । तर, नागरिकता हराएर प्रतिलिपि लिएर पासपोर्ट बनाउँन जाँदा पहिले नै पासपोर्ट लिइसकेको हो कि भनेर परीक्षण गर्दा प्रक्रिया लामो भएको उनले सुनाए ।
प्रायजसो गाउँघरका बुढापाकाहरु पुराना नागरिकता च्यातिएर प्रयोग गर्नै अप्ठेरो भएपनि नयाँ नागरिकता बनाउन आउँछन् । तर, प्राय किशोरहरु आफ्नै असावधानीले नागरिकता हराएर पुनः बनाउन आउँछन् । घर सर्दा हराएको, यात्रा गर्दा हराएको, पर्ससँगै हराएको, च्यातिएको भन्दै प्रतिलिपि नागरिकता लिन आउँने गरेको शाखा अधिकृत सिग्देलको अनुभव छ ।