Sunday, April 28, 2013

कन्फ्युज्ड पुस्ता

वैशाख १२ -
प्लस टु पढ्न बाराको गाउँबाट राजधानी छिरेका दिपेशले ५ वर्ष अगाडि कम्प्युटर हार्डवेयर कोर्स पूरा गरे । मोबाइलको लहर चलेका बेला मोबाइल बनाउने तालिम लिए । गायक बन्ने सुर चलेपछि बानेश्वरको प्रशिक्षण केन्द्रमा तीन महिनाको फी बुझाए । तर बीबीएस अन्तिम वर्षको परीक्षा दिइसक्दा उनलाई यी सबैमा रुचि छैन ।

पहिलो वर्ष एउटा र दोस्रो वर्ष दुई विषय लागेपछि उनलाई तेस्रो वर्ष तीन विषय लाग्ने हो कि भन्ने डर छ । अचेल उनको मनमा जापान पुगेर पैसा कमाउने हुन्डरी चलेको छ । अनामनगरको डेरा वरपर घर भएका केही 'केटाहरू' जापान, अस्टे्रलिया र यूके गएको देखेपछि उनको मनमा रहरको नयाँ टुसा पलाएको हो ।

फुर्सदका बेला डेराको ओछ्यानमा

पल्टिएर उनी विदेश गएको र टन्न पैसा कमाएको सपना दिउँसै पनि देख्छन् । आफ्नो रहर पूरा गर्न उनले सहरका विभिन्न कन्सल्टेन्सी धाइसकेका छन् । अब उनलाई न त पढाइमा रुचि छ, न कुनै काम गर्न नै । 'काठमाडौंमा दुई-तीन थरी काम गरियो,' उनले अनुभव सुनाए, 'खोइ कुनै काम नि रेगुलर गर्न मन लागेन ।'

युवा अवस्थामा के गरौँ र कसो गरौँ भन्ने जोस देख्नु न राम्रो हो तर यो पुस्ताका किशोर र युवा आफ्नो भविष्यप्रति नै कन्फ्युज देखिन थालेका छन् । दिपेशजस्तै कन्फ्युज छ अहिलेको पुस्ता । उनीहरू देशमा सम्भावनाको कुनै त्यान्द्रो भेटिरहेका छैनन् । अनि गर्ने के त ? उनीहरू अलमलमा छन् । यो पुस्ता किन यति अलमल छ ?

'हाम्रो देश नै संक्रमणमा छ । राजनीति स्थिर छैन । त्यसैले युवा पुस्ता पनि अस्थिर बनिरहेका छन्,' समाजशास्त्री मृगेन्द्र कार्की भन्छन्, 'मानिसहरू उपभोक्तावादी र महत्त्वकांक्षी बन्दै गइरहेकाले पनि उनीहरू नयाँ-नयाँ अवसरको खोजीमा छन् ।' पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले केही समयअघि आफ्नो टि्वटरमा लेखेका थिए, 'अहिलेका युवा पुस्तामा नकारात्मक भावना बढ्दै गएको छ, उनीहरूलाई सकारात्मक सुझावको खाँचो छ ।'

गरिखाउँ भन्ने युवा पुस्तालाई अहिले देशको राजनीतिज्ञदेखि बहुतै रिस उठेको छ । आफ्ना लागि राजनीतिक दल र नेताले केही राम्रो सोचिदिएनन् । उनीहरूले नै देशलाई बिगारे भन्ने भावना पलाएको छ । त्यसैले होला उनीहरू सहरमा खुलेको दर्जनौं कन्सल्टेन्सी र म्यानपावरको ढोका चहार्दै विदेशिनका लागि तम्तयार छन् । 'पाएसम्म त देशमै केही गरौँ भन्ने हो नि ?'

स्कुलको शिक्षक जागिर छाडेर सेल्स म्यानका रूपमा कतार उड्ने तयारीमा रहेका रमेश सामाखुसीको म्यानपावर अगाडि भेटिए, 'पैसो नकमाइ केही हुन्न हाम्रो देशमा ।' यो पुस्तामा देखिएको असन्तुष्टि कहीँ न कहीँ पैसामा गएर जोडिएको पनि छ । उनीहरूलाई नेपालमा खाएको जागिरले जीवन चल्दैन भन्ने अविश्वास पनि छ ।

त्यसैले उनीहरू जहाँ बढी पैसा आउँछ त्यहीँ हाम्फाल्ने दाउमा हुन्छन् । 'पैसाकै लागि जे पायो त्यही काम गर्नु पनि राम्रो हुन्न,' युवा पुस्ताको समस्या, गुनासो र सम्भावनाका केन्दि्रत कार्यक्रम साथीसँग मनका कुराका प्रस्तोता आयुष जोशी भन्छन्, 'आफ्नो रुचि भएको क्षेत्रमा लगातार काम गरे मात्रै सफल भइन्छ । यसका लागि युवामा धैर्यताको खाँचो छ ।'

कसरी गर्ने धैर्यता ? 'किशोर अवस्थामा पुग्नेबित्तिकै उनीहरूलाई जीवनबारे परामर्शको खाँचो हुन्छ,' जोशीको सल्लाह छ, 'आफ्नो जीवनको लक्ष्य के हो ? रुचि के हो ? प्रस्ट हुनुपर्छ ।' तर विडम्बना, अहिलेका पुस्ता यसैमा अल्मलिएको छ । उनीहरू आफूले पढेको र जानेको क्षेत्रमा सम्भावना देख्दैनन् । अरूले गरेको काममा सम्भावनाको खानी देख्छन् । उनीहरूलाई एउटै काम गरिरहन रुचि छैन ।

अहिले काम गर्ने अवसर बढ्दै गएकाले पनि मानिस लगातार एउटै काममा नबसेर राम्रा अवसरको खोजी गरिहन्छन्,' समाजशास्त्री कार्की भन्छन्, 'आधुनिकताका कारण कुनै पनि कामप्रतिको प्यासन हराउँदै गएको छ ।' ती युवाले हामीलाई चिठी पठाएर के गर्ने कसो गर्ने भनेर सोध्छन्, प्रकृति हेर्दा उनीहरूलाई जीवनबारे बुझाइको कमी छ,' जोशीले सुनाए, 'अभिभावकको दबाबमा रुचिबाहेकको विषय पढेका पछुताइरहेको, बीचमै पढाइ छाड्ने गरेका समस्या थुप्रै छन् ।

झन् मन नलागी नलागी काम गरिरहेका त कत्ति-कत्ति ।' स्कुल र कलेज पढाइरहेको शिक्षक श्रम गर्न कोरिया पुगेका छन् । गाउँको बारी बाँझै छाडेर कोही कमाउन काठमाडौं छिरेका छन् । कम्प्युटर र मोबाइल बनाउने तालिम लिएका स्टोरकिपरको जागिर खान दुबई गएका छन् । कोही पढाइ छाडेर निराश हुँदै जागिरको खोजीमा छन् । यस्तो किन भइरहेको छ ? अहिलेको पुस्ताको दिमागमा के छ ? किन उनीहरू यति निराश छन् ? अस्थिर छन् ? 'युवा मनोविज्ञानलाई धेरै कुराले प्रभाव पारिरहेको हुन्छ,' मनोविज्ञ तिमोथी अर्याल भन्छन्, 'एडल्टहरू जे कुरामा पनि चाँडै रिजल्ट खोज्ने स्वभावका हुन्छन् ।'

अर्यालका अनुसार युवा अवस्थामा शारीरिक र मानसिक रूपमा वृद्धि चाँडो हुने भएकाले उनीहरू जे कुरामा पनि चाँडै रिजल्ट खोज्छन्, जसका कारण उनीहरू तत्काल जे गर्दा आनन्द आउँछ त्यही काममा रमाउँछन् । 'युवा अवस्थामा क्यारियरको मतलब हुन्न,' अर्याल भन्छन्, 'मेरो जिन्दगी मेरै सुरले चलाउँछु भन्ने भावना हुन्छ ।'

गरिरहेको कामको स्कोप नदेखेर पनि उनीहरू अस्थिर हुने अर्यालको विश्लेषण छ, 'अमेरिकामा पनि युवाहरू अस्थिर हुने समस्या छ तर उनीहरूको र हाम्रो कारण तथा समस्या फरक छन् ।' युवा पुस्ता यसरी अल्मलिएर भौंतारिँदा भविष्यमा समस्या नपर्ला त ? 'एउटै क्षेत्रमा दत्तचित्त भएर लाग्ने मानिसको अभाव भए कुनै पनि विषयको विज्ञ जन्मँदैनन्,' समाजशास्त्री कार्की भन्छन्, 'यसले सामाजिक विछृङ्खलता पनि ल्याउँछ ।' (बैशाख २ गतेको हेल्लो शुकबारमा प्रकाशित)