Monday, September 2, 2013

आउट सोर्सिङको संसार

काठमाडौ, श्रावण ३१ -महेन्द्र विक्रम त्वान्जु अफिस जाँदैनन् । अधिकांश समय उनी कम्प्युटरको स्क्रिन
अगाडि घोटिएर रहेका हुन्छन् । भक्तपुर दरबार स्क्वायर पछाडिको आफ्नो घरमा बसेर उनी इन्टरनेटमा आफ्नो 'पोर्टफोलियो' कसरी बढाउने भन्नेमा मात्रै चिन्तित छन् । उनलाई दुनियाँसँग केही लिनु-दिनु छैन, छ त त्योसँग, जसले सात समुद्रपारिबाट उनलाई काम दिन्छन्, पैसा पठाइदिन्छन् ।

तिनै क्लाइन्टलाई खुसी पार्न अनेक प्रकारका डिजाइन पारेर यी तन्नेरीको दिन बित्छ । अनि, तिनैले खुसी भएर गरेको प्रशंसा उनका लागि फेरि काम पाउने बाटो बन्छ । यिनका लागि कम्प्युटर नै संसार हो, नहोस् पनि किन, उनलाई 'पैसा' यसबाटै आउँछ-थोरै हो र ? लाखलाख । उनले आफ्नो पोर्टफोलियोमा एक घन्टा काम गरेको २५ डलर लिन्छु भनेर लेखेका छन् ।

घन्टामा काम लगाउनेले उनलाई प्रतिघन्टा यत्ति पैसा तिर्नुपर्छ । नत्र उनी आफूले काम गरेको प्रोजेक्ट हेरेर पैसा लिन्छन् । उनले एउटा काम गरेको ४ हजार ५ सय डलरसम्म लिएका छन् । उनले गरेको कामले उनका 'क्लाइन्ट' खुसी भएकाले नै उनको भाउ बढ्दै गएको हो । उनीजस्ता पि|mल्यान्सर काठमाडौंमा कति छन्, कसैसँग तथ्यांक छैन । हुने कुरा पनि भएन । किनकि यी जस्ता कम्प्युटरका किरोलाई घरघरमा खोज्दै को जान्छ र ? तर यिनलाई खोज्ने समुद्रपारि भेटिन्छन्, जसले इन्टरनेटमा खोजीखोजी यस्ता 'ट्यालेन्ट' तन्नेरीलाई भेट्टाउँछन् र आफ्नो कामको जिम्मा लगाउँछन् । राम्रो काम सस्तो मूल्यमा गरिदिने भएकाले धनी देशका धेरै व्यक्ति र संस्थाले इन्टरनेटमा पोर्टफोलियो बलियो भएका यस्ता व्यक्तिलाई पत्याउँछन् र आफ्नो काम गराउँछन् ।


उताको थोरै 'डलर' नेपालमा धेरै भइदिँदा यस्ता काम गर्नेले आफूले पैसा मात्रै कमाएका छैनन्, देशमा विदेशी मुद्रा पनि भित्र्याएका छन् । सबैलाई थाहै छ, अहिले डलरको भाउ कति छ ? यस्तै तन्नेरीको संख्या राजधानीमा दिनानुदिन बढ्दैछ तर उनीहरूको पहिचान, संख्या र भूमिकाबारे सहर र सरकार दुवै बेखबर छन् । कुनै तेस्रो पक्षसँग सम्झौता गरी कामको जिम्मा दिनुलाई आउट सोर्सिङ भनिन्छ ।

कर्मचारीको व्यवस्थापनको तनाव बेहोर्नु नपर्ने र सस्तो मूल्यमा काम हुने भएकाले धनी देशका व्यक्ति र कम्पनीले विकासशील वा कम विकसित देशका व्यक्ति वा कम्पनीलाई आफ्नो केही कामको जिम्मा दिने गर्छन् । जहाँ दुवै पक्षको विनविनको अवस्था हुन्छ । काम गराउनेले कम मूल्यमा गराएँ भनेर खुसी हुने ठाउँ हुन्छ । पाउनेलाई त्यो मूल्य धेरै लाग्छ ।

भारतमा धेरै अघि सुरु भएको आउट सोर्सिङको अभ्यासमा नेपालमा सन् २००० तिरबाट सुरु भएको अनुमान गरिन्छ । भारत र फिलिपिन्सजस्ता एसियाली मुलुकमा आउट सोर्सिङको कामबाट भित्रिने विदेशी मुद्रा कुल गार्हस्थ उत्पादनको महत्त्वपूर्ण हिस्सा बन्दा नेपालमा हालसम्म यस्ता व्यक्ति, कम्पनी र यसको पहिचानको हिसाबकिताब छैन ।

नेपालमा कैयौं कम्पनी दर्ता भएर र कत्तिले व्यक्तिगत रूपमा यस्ता काम गरिरहेका छन् । आउट सोर्सिङको काम गर्नेका लागि छुट्टै दर्ता व्यवस्था नहुँदा यस्ता कम्पनी कति वटा छन् भन्ने यकिन तथ्यांक कसैसँग छैन । नेपालमा व्यक्तिगत रूपमा विदेशी संस्था वा व्यक्तिका लागि काम गर्नेहरूको संख्या पनि ठूलो भएको अनुमान छ ।

उनीहरू कहींकतै दर्तामा नदेखिने हुनाले तथ्यांक निकाल्ने सम्भावना भने रहन्न । कम्पनीका रूपमा काम गर्नेहरूले पनि उद्योगका रूपमै दर्ता हुने भएकाले आउट सोर्सिङको काम गर्नेको संख्या यति नै हो भन्ने अवस्था छैन । नेपालमै त्यति चर्चाको विषय नभए पनि नेपाली पि|mल्यान्सर र कम्पनी भने विभिन्न देशको कम्पनीका लागि काम गरेर ख्याति कमाइरहेका छन् ।

भर्खरै मात्र नेपालको आउट सोर्सिङ कम्पनी फिफ्थ डिजाइन एन्ड मिडियाले प|mान्समा क्वालिटी एन्ड लिडरसिप अवार्ड पाएको छ । कम्पनीले गरेको कामको रेटिङको आधारमा अवार्ड दिइएको हो । जुलाई ३१ मा अवार्ड लिएका कलंकीका २७ वषर्ीय किसनराज गतौर्ैलाले साथीहरूसँग मिलेर खोलेको कम्पनीले आउट सोर्सिङको धेरै काम गर्छ ।

उनले बुबाको इलेक्टि्रक इन्जिनियर बनाउने चाहनालाई तिलाञ्जली दिएर यस क्षेत्रमा हाम्फालेका गर्तौलाका आउट सोर्सिङको काम गर्ने मात्रै आधा दर्जन कम्पनी छन् । उनले आफ्ना साथीहरूसँग मिलेर यो सफलता हात पारेका हुन् । नेपालका आउट सोर्सिङको काम गर्ने पि|mल्यान्सर विशेषता वेब डिजाइनिङ, एम्स निर्माण र प्रोग्रामिङको काम गर्छन् ।

कम्पनीहरूले भने डिजाइनिङ, कल सेन्टर र डाटा इन्ट्रीको काम गर्छन् । कल सेन्टरले विदेशी कम्पनीको कस्टमर केयर, मार्केटिङलगायतका काम पनि गरिरहेका छन् ।

नेपालमा आउने यस्ता काम प्रायः अमेरिका, क्यानडा, न्युजिल्यान्ड, अस्टे्रलिया, युरोपलगायतका देशबाट आउँछन् । ललितपुरको भैंसेपाटीमा रहेको क्लाउड फ्याक्ट्री नेपालमा रहेको ठूला आउट सोर्सिङ कम्पनीमध्ये एक होे । यसका प्रमुख कार्यकारी अधिकृत मार्क सियरका अनुसार यसले मेडिकल रिसिप, फाराम र इन्भोइसको डाटा इन्ट्री गर्छ । जहाँ ३ हजार बढी नेपाली काम गर्छन् । काम गर्ने प्रायः २० देखि ३० वर्ष उमेरका छन् । प्रमुख कार्यकारी अधिकृत मार्कले आफ्नो कम्पनी राजधानी बाहिरका २५ ठाउँमा फैलिएर १ लाख ५० हजार नेपालीलाई रोजगार दिने लक्ष्य रहेको जानकारी दिए ।

नेपाल सरकारले आउट सोर्सिङ कम्पनीको लागि सहज नीति बनाएर उनीहरूलाई प्रोत्साहन गरे नेपालका दक्ष जनशक्तिलाई रोजगारीको अवसर सिर्जना हुने र आर्थिक विकासमा टेवा पुग्ने मार्कको धारणा छ । आउट सोर्सिङका जानकार अंकुर मौर्य यो व्यवसायलाई व्यवस्थित गर्न सके नेपालको बेरोजगारको समस्या कम हुनुको साथै विदेशी मुद्रा आर्जनको अवसर बनाउन सकिने तर्क राख्छन् ।

समोज भट्टराईको ठमेलस्थित क्रियटिभ सफ्टवेयर प्रालिले विदेशी कम्पनीका लागि फाराम, भर्ने, डाटा इन्ट्रीसहित वेब डिजाइनिङ, सफ्टवेयर डेभलपमेन्टलगायत काम पनि गर्छ । छिमेकी देश चीनले द्रुत रूपमा आर्थिक प्रगति गरिरहेकाले त्यहाँका उद्योगहरूबाट काम लिन सके नेपालमा आउट सोर्सिङ व्यवसाय अझै फस्टाउने उनको अनुमान छ ।

यूके, अस्ट्रेलिया, क्यानडा, युरोपलगायत देशका साना र मझौला उद्योगको कामले उनीसहित १० जनाको टोलीलाई अहिले भ्याइनभ्याई छ । नेपालमा आउट सोर्सिङ कम्पनीको सुरुआत गर्ने श्रेय सम्भवतः सर्भिङ माइन्डलाई जान्छ । सन् २००३ मा भारतीय मूलका आशिष कपुरले खोलेको यो कम्पनीले विदेशी कम्पनीका लागि वेब डेभलपमेन्ट, डिजाइनिङ, कस्टमर केयरलगायतका काम गथ्र्यो ।

त्यसका अन्य देशमा पनि शाखा छन् । तर २ वर्षअघि आशिष कपुरले एक्कासि नेपाल छाडेपछि कम्पनी धेरै दिन टिक्न सकेन ।

चार सय बढीलाई रोजगारी दिइरहेको कम्पनी करिब ४ महिना अघिदेखि बन्द छ । सर्भिङ माइन्डले जन्माएका धेरै 'ट्यालेन्ट' अहिले नेपालमा आउट सोर्सिङ कम्पनीका सञ्चालक र पि|mल्यान्सर छन् ।

एक-दुई महिनाको वेब डिजाइनिङको कोर्स गरेर सर्भिङ माइन्डमा ट्रेनी वेब डिजाइनर बनेर छिरेका कोटेश्वरका २७ वषर्ीय कञ्चन राई डेढ वर्ष काम गर्दा पर्पेmक्ट भएर निस्किए । त्यही सीप अहिले उनको जीवनको प्रमुख अंग बनेको छ । अहिले उनको कमाइ कति छ त ? 'यत्ति नै हुन्छ भनेर भन्न सकिन्न, एक लाख रुपैयाँसम्म हुन्छ,' उनी भन्छन्, 'यस्तो काम गरेर मभन्दा धेरै कमाउने कत्ति छन्, छन् ।'

गेम र एप्स बनाउने रुचि भएका सोह्रखुट्टेका २६ वषर्ीय प्रोग्रामर राजन महर्जनले अहिलेसम्म धेरै विदेशी कम्पनीका लागि काम गरिसकेका छन् । म्यागमिङ इन्च, ब्ल्याकबेरी मोबाइलमा चल्ने किड गेम, एम नेपाली न्युजजस्ता उनले बनाएका एप्स चर्चित छन् । कम्प्युटर इन्जिनियरिङमा ब्याचलर यी तन्नेरी गोल्छा अर्गनाइजेसनको यती स्टेपमा जागिरबाहेकको समय पि|mल्यान्सिङ काम गरेर बिताउँछन् ।

आम्दानी राम्रो भएर पनि उनी आउट सोर्सिङलाई दीर्घकालीन कामको रूपमा स्विकार्दैनन् । 'अरूका लागि काम गर्नेभन्दा पनि आफ्नो प्रोडक्ट बनाएर मार्केटिङ गर्दा राम्रो हुन्छ,' उनको सुझाव छ । 'आउट सोर्सिङको काम गर्नेहरू प्रायः टेक्निकल ब्याकग्राउन्डका छन्,' महर्जनको अनुभव हो यो, 'म्यानेजमेन्ट ब्याकग्राउन्डका व्यक्तिहरूको प्रवेश गराएर मार्केटिङ गर्नुपर्छ ।'

हर्क लोप्चनको १३ वर्षअघिसम्म परिचय कम्प्युटर टिचरको थियो । नेपालमा आउट सोर्सिङबारे जानकारी राख्ने व्यक्ति साह्रै थोरै हुँदाको बेला उनले यो क्षेत्रमा पाइला चाले । त्यो बेलामा नेपालमा यस्तो कामको 'स्कोप' ज्यादै कम थियो । त्यसैले उनी सन् २००५ मा कामका लागि जुनियर प्रोग्रामरका रूपमा कतार पुगे । दुई वर्षपछि नेपाल फर्के । त्यति बेला आउट सोर्सिङको चार्म बढिसकेको थियो । उनले नेपालमै कामको कमी देखेनन् । अचेल उनी ढल्कु चोकस्थित एउटा घरको फ्ल्याटमा रहेको आफ्नो अफिसमा आफ्नो ग्रुपसँगै भेटिन्छन् । उनको समूहमा पाँच जना छन् र विदेशी कम्पनीका लागि वेबसाइट डिजाइनिङ, मोबाइल एप्स निर्माण, ग्राफिक डिजाइनिङको काममा व्यस्त भएको भेटिन्छन् । दक्षिण अपि|mकाको कम्पनीका लागि बनाएको 'गड फुट' नेटवर्किङ साइट आफैंलाई मन परेको काम हो ।

चर्चामा नदेखिएपछि नेपालमा आउट सोर्सिङको काम गर्ने पि|mल्यान्सर कम्पनीहरू भित्रभित्रै फैलिइरहेका छन् । उनीहरूले गरेको काम देखेर धेरै मान्छेहरू अहिले पनि छक्क पर्छन् । सुरुआत भएको एक दशक भइसक्दा पनि यो काम पहिचानविहीन छ । 'कलेजमा पढेको आउट सोर्सिङमा लागू हुँदैन,' लोप्चन भन्छन्, 'कम्प्युटर पढेका धेरैलाई यो कामबारे थाहा छैन ।'
(Published in Hello Friday, Youth Supplementary of Kantipur Daily.)