Friday, August 29, 2014

आइसबकेट च्यालेन्ज

एक महिना भयो, नाम चलेकाले आफ्नो टाउकोमा एक बाल्टिन चिसो पानी खन्याएको समाचार आउन थालेको । यस्तो समाचारले अहिले विश्वभरका मानिसको ध्यान तानिरहेको छ, किनकी आफूले नाम सुनेको र मन परेका धेरै सेलिब्रेटी यस्ता काममा तल्लिन छन् । उनीहरू एकले अर्कोलाई टाउकोमा पानी खन्याउने च्यालेन्ज दिएका छन् । फेसबुकमा मालिक मार्क जुकरवर्ग, माइक्रोसफ्ट पूर्व प्रमुख विल गेट्स, अमेरिकाका पूर्व राष्ट्रपति जर्ज डब्लू बुसजस्ता हस्ती पनि यस्तो रमाइलोमा सामेल छन् ।

अमेरिकाकामा मस्तिष्कसम्बन्धी रोग लागेकालाई सहयोग गर्न सुरु गरिएको यो अभियानको भिन्नभिन्नै रूप सोसल मिडियाको माध्यमबाट हरेक देशमा फैलिएको छ । अमेरिकामा अभियान लोकप्रिय बनेर दसौं गुणा बढी सहयोग जुट्न थालेपछि अन्य देशमा पनि यस्तो 'फिभर' फैलिएको हो । अमेरिकामा सेलिब्रेटीले मोटर न्यूरेन डिजिजका विरामीका लागि सहयोग संकलन स्वरूप टाउकोमा पानी खन्याए पनि नेपालसम्म आइपुग्दा यो बाढीपहिरो पीडितको लागि सहयोग संकलनको माध्यम बनेको छ ।

नेपाललमा सम्भवत: पहिलो पटक 'अयभा एन्ड द स्टिम इन्ज्युन्स' की गायिका अभया सुब्बाले साथी निमा रुम्बा, माल्भिका सुब्बालाई च्यालेन्ज दिएर आइस बकेट च्यालेन्जको सुरुआत गरेकी थिइन् । उनले पानीको अभाव भएको भन्दै बाल्टीमा एक जग पानी हालेर आफ्नो टाउकोमा खन्याउनु अघि नेपालको बाढी पीडितलाई ५ हजार रूपैंया सहयोग गर्ने घोषणा गरिन् र आफ्ना साथीलाई च्यालेन्ज दिइन् । निर्भया फाउन्डेसनबाट बाढीपहिरो पीडितका लागि रकम संकलन गरेर सहयोग गर्न यो अभियान सुरु गरेको सुब्बा बताउँछिन् ।

'मैले सुरु गरेपछि धेरै फ्यान र शुभचिन्तकले पनि अभियानमा साथ दिने प्रतिबद्धता जनाउनुभएको छ', सुब्बाले भनिन्, 'फाउन्डेसनमा जम्मा भएको रकम चाँडै पार्टी नेपालमार्फत बाढीपीडितको सहयोगमा दिनेछु ।' सुब्बा र राजेशपायल राईबाट च्यालेन्ज पाएका गायक निमा रुम्बाले आफ्नो घरको बगैचामा एक बाल्टिन पानी टाउकोमा खन्याए । 'मैले बाढी पीडितको लागि दुई कन्सर्टमा गाएर रकम संकलनमा सहयोग गरेको थिएँ', रुम्बाले भने, 'साथीहरूले च्यालेन्ज गरेपछि यो अभियानमा सहभागी भएको हुँ ।'

उनी रमाइलो तरिकाबाट अरुको लागि भलाई हुने काम गर्न सकिने यो अभियान ठीक लागेको बताउँछन् । अमेरिकामा छुट्टै कारणको लागि चलाइएको अभियान भारतमा राइसबकेट च्यालेन्जको रूपमा लोकप्रिय बन्दैछ । जसको लागि च्यालेन्ज स्विकार्नेले एक बाल्टिन चामल कुनै गरिब व्यक्तिलाई दिनुपर्ने हुन्छ ।

यस्ता च्यालेन्जका केही नियम छन् । जस्तै, आइस बकेट च्यालेन्जमा सहभागी बन्नेले बाल्टिनमा चिसो पानी राखिसकेपछि भिडियोमार्फत आफूलाई कसले च्यालेन्ज दिएर यसो गर्न लागेको हो खुलाउँछ । र, टाउकोमा पानी खन्याइसकेपछि त्यस्तै गर्न कसलाई च्यालेन्ज दिने हो तीन जनाको नाम लिन्छ र भिडियो आफ्नो फेसबुक वा ट्वीटरमार्फत सेयर गर्छ । च्यालेन्ज पाउनले २४ घन्टाभित्र आफूले पनि त्यसै गरेको भिडियो अपलोड गर्नु पर्छ । असमर्थ भए सहयोग रकम घोषणा गर्नुपर्ने हुन्छ ।

फेसबुकका मालिक मार्क जुकरवर्गबाट च्यालेन्ज पाएका माइक्रोसफ्टका पूर्व प्रमुख विल गेट्सले २४ घन्टा नबित्दै भिडियो अपलोड गरे । विभिन्न व्यक्तिबाट च्यालेन्ज पाए पनि अमेरिकी राष्ट्रपति बाराक ओबामाले पदीय मर्यादाका कारण च्यालेन्ज स्विरेनन् । बरु उनले १ सय अमेरिकी डलर सहयोग गरे । अमेरिकामा यो अभियान यति भाइरल बनेको छ कि अमेरिकाले आफ्ना राजदूतलाई च्यालेन्जमा सहभागी नबन्न पत्र नै पठाइसकेको छ ।

आइसबकेट च्यालेन्जलाई नेपालीकरण गरी थालिएको फिल वकेट अभियान सोमबारदेखि नेपाली ट्वीटरको तातो बिषय बनेको छ । इन्फर्मेसन टेक्नोलोजी रिसर्चर एकेन्द्र लम्सालले उपलब्ध गराएको तथ्यांक अनुसार सोमबार दिउँसो फिल-बकेटमा ह्यासट्याग राखेर प्रतिमिनेत तीन ट्वीट भएको थियो । जुन संख्या नेपालबाट प्रतिमिनेट भएको ट्वीटको एक तिहाइ हो ।
(Published on Hello Friday)