Saturday, November 15, 2014

सयौं दु:ख शिरमाथि...

 १८ वर्षअघि आफूलाई हेर्न त्रिभुवन विमानस्थल बाहिर जम्मा भएका मानिसको भीड देख्दा सुनिता दनुवारले लाजले मुख छोपेकी थिइन् । बेइज्जतीको डरले उनको मनमा आगो सल्किएको थियो । ग्लानिले उनी भित्रभित्रै टुक्रिएकी थिइन् ।

गत बिहीबार बिहान पनि उनको पर्खाइमा दर्जनौं मानिसहरू त्रिभुवन विमानस्थलमा भेला भए । तर यो पटक उनले लाजले मुख छोप्नुपरेन । छाती गर्वले फुलेको थियो । उनले स्विडेनबाट आफूसँगै ल्याएको सी टेन अवार्डको पोको फुकाइन् र सबैलाई देखाइन् । अनि फोटो खिचाइन् । १८ वर्षअघि घृणाको तीर फ्याँक्न विमानस्थलमा जम्मा भएको भीड अहिले किन उनको स्वागतमा नतमस्तक बनेर उभियो ? यसको कथा जति गहिरो छ त्यति नै रोचक पनि ।

..........................

गत सोमबार साँझ ५ बजे बौद्धनजिकै सुनिता दनुवारको डेरामा पुग्दा उनी मभन्दा चार मिनेटअघि आइपुगेकी रहिछन् । दिनभरको कामले लखतरान उनले मसँगको कुराकानीपछि ६ बजे ट्युसन पढ्न तयार हुनु थियो । आज ग्रामीण विकास पढाउन एकजना शिक्षक घरमा आउँदै थिए ।

दुई वर्षअघि आफू अध्यक्ष रहेको संस्था शक्ति समूहले पाएको रोमन म्यागसेसे पुरस्कार थाप्न जाँदा छुटेको बीए प्रथम वर्षको दुइटा विषयको परीक्षाको तयारी गर्दैछिन् उनी । भोलिपल्ट बिहान उनको परीक्षा थियो । भोलि कुन विषयको परीक्षा हो भन्ने उनले केही घन्टाअघि मात्रै थाहा पाएकी थिइन् । उनले यसैगरी दोस्रो वर्षको परीक्षा दिइसकेकी थिइन् । जसको नतिजा आउन बाँकी छ । उनी बीए तेस्रो वर्षकी विद्यार्थी हुन् ।

..........................

'आज फिल्म हेर्न लैजान्छु छिटो लुगा लगा,' कहिल्यै मिठो नबोल्ने मुम्बईकी कोठीवालीले यसो भन्दा १४ वर्षकी अबोध बालिकाले अनुमान लगाइसकेकी थिइन्- केही गडबड छ । सुनिता त्यो कोठीमा आएको ५ महिना भएको थियो । बेचिएको भने ६ महिना । अनेक ताण्डव गर्दा पनि 'धन्दा' गर्न नमानेपछि यसअघिको कोठीवालीले उनलाई त्यस कोठीमा बेचेकी थिइन् ।

आज पनि सुनितालाई ती शब्दहरू याद छन् जुन मुम्बईकी कोठीवालीले उनीसँग बोलेकी थिइन्, 'तैले धन्दा नगरे तेरो आमा आएर गर्छे ।' कोठी मालिक्नीको कर्कश स्वरमा यस्तो वाक्य सुन्दा उनलाई भाउन्न छुटेको थियो ।

भारतको कुल्लामुनाली भन्ने ढुंगा बोक्ने ठाउँमा आफूलाई दाइ नाता लगाउने दुई नेपाली दलालले लठ्याउने औषधि मिसाइएको मिठाई खुवाएर उनलाई मुम्बई पुर्‍याएका थिए । उनलाई यौन पेसामा लगाउन कोठी मालिक्नीले अनेक हर्कत गरिन् । कहिले भुसतिघ्रे बोलाएर घाँटीमा तरबार राखियो । कहिले बलिया लात्ताले भकुरियो । यस्तो यातनाभन्दा उनलाई मृत्यु जायज लाग्थ्यो तर मृत्युले उनलाई पत्याएन । उनले जीवन पाइरहिन् जसले संघर्ष गर्न सिकायो । 'मलाई मार, मबाट यस्तो हुँदैन भनेर जिद्दी गरिरहेँ,' सुनिता सम्झिन्छिन्, 'एक महिनापछि केही सीप नलागेपछि उनीहरूले मलाई अर्को कोठीमा बेचिदिए ।'

उनको जिद्दीबारे जानकार नयाँ कोठी मालिक्नीले उनको स्वागत गरिन्-ग्याङ रेप गराएर ! आफू पनि यौन पेेसामा संलग्न ती मालिक्नीले मायालु स्वरमा फिल्म हेर्न लैजाने आश्वासन दिँदा कसले पो पत्याउँथ्यो र ! 'उनले जति छिटो गर भनेर ढोका ढकढक्याइन्, मैले त्यति ढिलो गरी लुगा लगाएँ,' सुनिता सम्झिन्छिन्। उनी कुर्ता सुरुवाल लगाएर बाहिर जान तयार भएकी थिइन् । तर, एकैछिनमा उनी यो लुगा मन परेन अर्को लगाउँछु भन्दै कोठा छिरिन् । योपटक उनी टिसर्ट र पाइन्टमा बाहिरिन तयार थिइन् । जसै उनले ढोका खोलिन् त्यहाँ कोठी मालिक्नी होइन् महिला प्रहरी थिए ।

..........................

जन्माएको १० सन्तानमध्ये तीन छोरी र एक छोरा मात्रै बाँकी भएपछि उनकी आमा आत्तिएकी थिइन् । आमालाई लाग्थ्यो- यो ठाउँमा भाग्यले साथ दिएन । उनकी आमा सुर्खेत सर्न चाहिन्थिन् जहाँ ठूली छोरीलाई अन्माएर पठाइएको थियो । सुनिता ५ वर्षकी थिइन्, उनको परिवार दैलेखको कासीघाट गाविसबाट सुर्खेत सर्दा । सुर्खेतमा उनको परिवारले होटल व्यवसाय सुरु गर्‍यो । 'सुर्खेतको होटल राम्रै चलेको थियो, विदेशीसमेत हाम्रो होटलमा खाना खान आएको मलाई याद छ,' सुनिता भन्छिन् । यस्तो राम्रो होटल व्यापार छाडेर एक दिन उनको परिवार भारततिर भासियो । यसको कारण छ ।

'एक दिन आमाले मलाई र दाईलाई ५-५ रुपैयाँ हातमा राखिदिनुभयो र बुवाको पछि लगाउनुभयो,' सुनिता भन्छिन्, 'हामी दंग पर्दै बुवाको पछि लाग्यौं ।' राम्रो चल्ने व्यापार होटलमा पत्नीको जिम्मामा छाडेर उनका बुवा दिनभर हराउँथे र दिनहुँ ठूलो रकम खर्च गर्थे । आमासँग ज्याला लिएर बुवाको जासुसी गर्न हिँडेका दाजुबहिनीले आमालाई जे देखेको हो त्यही सुनाए जुन कुराले आमा आगो भइन् । दाजुबहिनीले आफ्ना बुवा एउटा घरमा छिरेपछि झ्यालबाट देखेको दृश्य आमालाई जस्ताको तस्तै सुनाइदिएका थिए । आफ्ना पति अरूसँग लहसिएको थाहा पाएकी आमा किन सुर्खेत बस्न मान्थिन् ? पतिबाट आफूले पाउने माया घट्ने डरमा आमाले तत्काल होटल बिक्री गरिन् अनि उनको परिवार भारतको जम्मु कश्मीर पुग्यो । सुर्खेतको गर्मीमा हुर्किएको सुनिताको परिवार यस्तो ठाउँमा पुग्यो जहाँ रातभर परेको हिउँले बिहान हिंड्ने बाटो पुरिएको हुन्थ्यो ।

उनको परिवारले स्थानीय जमिनदारको जग्गा भाडामा लिएर आलु खेती सुरु गर्‍यो । आलु रोप्ने र गोड्ने बेला उनका माहिला बा दोलखाबाट कामदार लिएर जम्मु कश्मीर पुग्थे । मौसमको बेला खेती गर्ने उनको बुवा बेमौसमको बेला आफूले जानेअनुसार सिकर्मी र डकर्मी दुवै काम गर्थे । छोरी सुनिताको मन आमासँग भान्छामा होइन्, बुवासँगै इँटा, आरा र काठमा रमाउँथ्यो । जग्गावाला साहुको घरमा 'बाहुन' भनेर बोलाइने एक नेपाली काम गथ्र्यो जो सुनितालाई बरोबर आफ्नो हुनेवाला बेहुली भनेर जिस्काइरहन्थ्यो । बुवा सुनितालाई आफ्नो छोराझैं मान्न थालेका थिए किनकि भएको एक मात्र छोरा घरबाट भागेर सम्पर्कविहीन बनेका थिए । उनी नैनीतालमा भएको हल्ला त आउथ्यो तर मान्छे आउँथेनन् । छोरा बेपत्ता भएदेखि नै उनकी आमा भित्रभित्रै चुँडिएकी थिइन् ।

'हजुरबुवाको निधन भएको खबर पाएपछि बुवा जम्मु कश्मीरबाट दैलेख जानुभयो,' आफ्नो नारकीय यात्राको सुरुवाती दिनहरू सम्झिन्छिन्, 'आमा पनि काममा जानुभएको मौकाको फाइदा त्यो बाहुन केटोले उठायो । तेरो माइलाबाले ३ हजार भारू लिएर मसँग बिहे गर्ने पक्का गरेका छन् भन्दै फाइदा लुट्यो ।' घरमा आमा फर्किंदा उनी रक्ताम्य थिइन् । आफ्नै माइलाबाले पैसा लिएर आफ्नो बिहेको वचन दिएको सुन्दा उनको कान भरिएको थियो ।

'बुवा नेपालबाट फर्किएको दिन आमाले सबै बेलिविस्तार लगाउनुभयो । कुरा सुन्नेबित्तिकै बुवाले त्यो ठाउँ छाड्ने निर्णय गर्नुभयो,' सुनिता भन्छिन्, 'आमाबुवा र म एउटा सिन्को पनि नबोकी त्यो ठाउँ छाड्न तयार भयौं ।'

छोरा पनि खोज्ने र उतै बस्ने भनेर नैनीताल हिँडेको परिवार खर्च अभावमा कुल्लुमनाली भन्ने ठाउँमा रोकियो । 'बुवाको खल्तीमा जति पैसा थियो त्यतिको भरमा हामी हिँडेका थियौं,' सुनिता भन्छिन्, 'हल्ला गर्दा हामीलाई त्यो ठाउँबाट जान नदिने डर थियो त्यसैले घरको सबै सामान र सम्पत्ति छाडेर हिंड्यौं ।' खर्चको जोहो गर्न त्यो ठाउँमा ढुंगा बोक्ने कामका लागि तीनैजना खटिन थाले । त्यही हो सुनिताले आफ्नो जीवनको सबैभन्दा ठूलो शत्रु भेटेको । जसको अनुहारले अहिले पनि उनको निद्रा खल्बलिन्छ ।

'बाटोमा हिंड्दा अहिले पनि तिनीहरू भेटिन्छन् कि जस्तो लाग्छ,' सुनिता भन्छिन्, 'कोही अनुहार मिल्नेजस्तो मान्छे लाग्यो भने फर्की फर्की हेर्छु ।'

ढुंगा बोक्ने ठाउँमा दुई नेपाली ट्याक्टर चालक थिए । उनीहरू भन्थे, 'दाइ मान्छौं भने हामी पनि तिम्रो दाइ नै हौं ।' आफ्नो हराएको दाइको खोजीमा हिँडेकी सुनिताको मनले उनीहरूलाई दाइ स्विकार्दैन थियो । उनीहरू भन्थे, 'बहिनी १४ वर्षको उमेरमा त तिमीले धेरै पैसा कमाउन सक्छौं, बाउआमालाई पाल्न सक्छौं, तिमी त अहिले बाउआमाको लागि बोझ भएकी छौ ।'

बाटो खर्च पुग्ने पैसा जम्मा भएपछि उनको परिवार कुल्लुमनालीबाट हिँड्ने तयारीमा थियो । ती दुई ट्याक्टर चालकले पनि काम छाडेर सँगै नैनीताल जाने इच्छा देखाए । अघिल्लो रात उनीहरूले मिठाई ल्याएर बाँडे । शंकालु सुनिताले मिठाई खान इन्कार गरिन् । बरु उनको आमाबुवाले खाए । आमाबुबाले खाएपछि उनले पनि खाइन् । उनलाई मिठाई चपाएको याद छ, त्यसपछि केही याद छैन ।

..........................

आँखा खुल्दा उनी अध्याँरो कोठामा थिइन् ।

'तिम्रा दाइहरूले ल्याएर छोडेका हुन् । दाइहरू लुगा किन्न गएका छन्,' सुरुका दिनमा उनलाई यही भनेर झुक्याइयो । यसको केही दिनपछि  उनलाई 'धन्दा' का लागि मनाउन खोजिएको थियो । 'घर धन्दा' बारे थोरबहुत जानकार १४ वर्षकी केटीले कोठीको 'धन्दा' को भेउ पाउने कुरै थिएन । यही कारणले उनले यातना भोग्नुपर्‍यो । पहिले पहिले यो यातनाको कथा सुनाउँदा सुनिताको आँखामा आँसु आउँथ्यो । अहिले आउँदैन । भन्छिन्, 'दर्जनौं देशका सयौंलाई मेरो कथा सुनाइसकें, अब आँसु आउनै छोडिसक्यो ।' म्यागेसेस पुरस्कार थापेर आउँदा उनको आँखामा खुसीका आँसु आएका थिए, सी टेन अवार्ड लिएर फकिर्ंदा आँखा रसायो मात्रै ।

..........................

प्रहरीले उद्धार गरेपछि उनलाई भारत सरकारको सेल्टर होममा राखियो । उद्धार भएपछि उनलाई लागेको थियो- अब सुखका दिन आए । तर, तरिका फेरिएको मात्र थियो, दुःख कायमै थियो । चेमपुरस्थित सेल्टर होममा महिला कर्मचारीको रुखो व्यवहार बेहोरेपछि उनले कोठी सम्भिmइन् । उनलाई १८ वर्षभन्दा कम उमेरकी भएकाले उद्धार गरेर यहाँ ल्याइएको थियो ।

'महिला कर्मचारी छाडा बोलेर हामीलाई गाली गर्थे, झ्यालबाट बाहिर हेर्दा केटालाई हेरेको भनेर गाली गर्थे,' सुनिता सम्झिन्छिन्, 'लाग्यो, यौनशोषणबाट त मुक्त भए अरू दुःख भने उस्तै रहिरह्यो ।' उनको समूहको एउटी साथीलाई एचअाईभी थियो । उनी जीवनको अन्तिम अवस्थामा थिइन् । उपचारको अभावमा हातबाट पीप बग्न थालेको थियो जति अनुरोध गर्दा पनि सेल्टर होमका कर्मचारीले उनको उपचारमा लगेनन् । भन्थे, 'यसको हालत देखेपछि तिमीहरूलाई फेरि पुरानो काममा जान मन लाग्नेछैन ।' उद्धार गरेर ल्याइएको मध्ये भारतीय र अन्य देशकाहरूलाई आआफ्नो देशको सरकारको पहलमा स्वदेश फर्काइएको थियो । नेपालीहरू मात्र सेल्टर होममा बाँकी थिए । उपचार अभावमा साथीको मृत्यु भएपछि उनीहरूले एक दिन सामूहिक विद्रोह गरे । ढोका फोडेर सेल्टरका कर्मचारीलाई आक्रमण गरे ।

खबर नेपालसम्म फैलियो । तर, नेपाल सरकार उनीहरूलाई नागरिक मान्न तयार भएन किनकि उनीहरूसँग नेपाली नागरिकता थिएन । नेपालको ७ संघसंस्थाले उनीहरूलाई फर्काउने पहल थाले । एक दिन उनीहरू भए ठाउँमा भेट्न पुगे- गौरी प्रधान । 'नेपाली केटा देखेर हामीहरू खुसी भएनौं, आक्रोशित भयौं ।' किनकि उनीहरू सबै नेपाली केटाहरूबाटै बेचिएका थिए । प्रधानको वचनमा उनीहरू आश्वस्त भएनन् । एक हप्तापछि सेल्टर होमका कर्मचारीले उनीहरूलाई नेपाल जान पाउने भयौं भनेर खबर ल्याउँदा मात्रै उनीहरूलाई पत्यार लाग्यो । मनमा डर भने कायमै थियो-फेरि कतै लगेर बेचिदिने हुन् कि ?

सन् १९९६ मा सेल्टर होममा रहेका एक सय २८ चेलीहरू विमानबाट स्वदेश फर्किने भए । 'सेभ दी चिल्ड्रेन'ले विमान व्यवस्था मिलाइदिएको थियो । सुनितालाई पछि मात्रै थाहा भयो- सबै चेलीको विमानको टिकट चर्चित बलिउड हिरो सुनील सेट्टीले किनिदिएका रहेछन् ।

..........................

विमानबाट आफ्नो देशमा ओर्लिदा खुसीले गद्गद् उनीहरू तब सुकसुकाउन थाले जब उनीहरूले विमानस्थल बाहिर सयौं मानिसहरू जम्मा भएको देखे । ती मानिसहरूको उनीहरूको स्वागत होइन, बेइज्जती हेर्न आएका थिए । 'हामी आउने अघिल्लो दिन बम्बईबाट वेश्याहरू काठमाडौं आउँदैछन् भनेर हल्ला फैलिएको रहेछ,' सुनिता सम्झिन्छिन् ।

१२८ मध्ये सुनिताहरूको १२ जना साथीको समूह थियो । उनीहरू एकदमै मिल्थे, जहाँ पनि सँगै जान्थे । यो समूहलाई रेणु राजभण्डारीले आफूले चलाएको सेल्टरमा राखिन् । 'सेल्टर पशुपति नजिकै थियो, हामी पशुपति घुम्न जान्थ्यौं तर मान्छे हामीलाई छुन डराउथे, एचआईभी सर्छ भन्थे । यो सुनेर हामी फेरि सेल्टर फर्किएर रुन्थ्यौं ।'

नेपाल आएपछि सुनिताको समूहको १२ मध्ये केही साथीमा एचआईभी भेटियो । आफ्नो बर्बादीको भयले डराएका उनीहरूले शक्ति समूह गठन गर्ने योजना बनाए । 'तर, संस्था गठनको लागि ७ जनाको नागरिकता पनि थिएन,' उनी भन्छिन्, 'सुरुमा चारजनाको मात्रै नागरिकता भएपछि अरू तीनजनाको नागरिकता सापटी लिएर संस्था दर्ता गर्न गयौं ।'

तर, उनीहरूको काम सजिलै बन्नेबाला थिएन । बेचबिखनमा परेर फर्किएकाहरूले चलाउने संस्था दर्ता गर्न उनीहरूले चार वर्ष कुर्नुपर्‍यो । सन् १९९६ मा नेपाल फर्किएका उनीहरूको संस्था सन् २००० मा मात्रै दर्ता भयो । संस्था दर्तामा मात्र होइन् आफ्नै नागरिकता बनाउन पनि सुनिताले चार वर्ष दौडधुप गर्नुपर्‍यो । नेपाल फर्किएको एक वर्षपछि उदयपुरका निर्पकुमारसँग विवाह गरेकी उनले चार वर्षपछि मात्रै नागरिकता पाइन् ।

शक्ति समूहको सन् २००२ देखि २००४ सम्म अध्यक्ष भएकी उनले पुनः २०११ देखि अध्यक्षता सम्हालिरहेकी छन् । उनको कार्यकालमा शक्ति समूहले एसियाको नोबेल पुरस्कार मानिने म्यागेसस पायो । संस्थाकै चरिमाया तामाङले 'हिरो एक्टिङ टु इन्ड मोडर्न डे स्लेभरी अवार्ड' पाइन् । उनको संस्थामा १६७ सदस्य छन् जो सबै यौन शोषणमा परेका महिलाहरू हुन् । उनलाई गर्व छ उनले आजसम्म झन्डै सात सय बेचबिखनमा परेका महिलालाई सहयोग गर्न पाएकी छन् ।

दुई वर्षअघि तीजमा सुनिता दैलेख पुख्र्यौैली गाउँ पुगेकी थिइन् । त्यहाँ पुगेपछि बल्ल उनले थाहा पाइन् आफ्ना बुवाआमा संसारमा छैनन् । 'उहाँहरू भारतमा बित्नुभएको रहेछ,' भन्छिन्, 'बुवाले दुई वर्षअघि मात्रै विष खानुभएको रहेछ ।' २९ वर्षपछि जन्मभूमि टेकेकी उनले १७ वर्षपछि आफ्नी दुई दिदी र दाइसँग कुरा गर्ने मौका पाइन् ।

दुःखको पहाड नाघेर यहाँ आइपुुगेकी सुनिताको अबको सपना के छ ? 'धेरैले मैले भागेको समस्याबारे थेसिस लेखे अब म चेलीबेटी बेचबिखनको बारेमा पीएचडी गर्न चाहन्छु,' भन्छिन्, 'म आफ्नै समस्याबारे अनुसन्धान गर्न चाहन्छु ।' कादम्बरी कलेज बुद्धनगरकी बीए तेस्रो वर्षकी विद्यार्थी उनी सधैं कलेज जान पाउँदिनन् । उनलाई कलेजले मानव लाइब्रेरी घोषणा गरेको छ । पढ्न जान नभ्याए पनि उनी बेला बेला आफ्नो अनुभव बाँड्न भने जान्छिन् ।

११ जिल्लामा फैलिएको शक्ति समूह देशका सबै जिल्लामा पुर्‍याउने उनको सपना छ । 'पुरस्कार पाउँदा कति खुसी लाग्यो भनेर सोध्छन्,' उनको अनुभव छ, 'नेपालबाट चेलीबेटी बेचबिखन अन्त्य भएको दिन मात्रै म सबैभन्दा खुसी हुनेछु ।'

सुनिता भाग्यमानी हुन् कि अभागी ? उत्तर अमूर्त छ । उनी अभागी हुन् किनकि उनी बेचिइन् । त्यस्तो दुःख पाइन्, जुन सामान्य व्यक्तिले भोग्नु पर्दैन । उनी भाग्यमानी हुन् किनकि उनी 'नरक'बाट उम्किइन् । जबकि अहिले पनि हजारौं नेपाली चेली मुम्बईको कोठीमा शरीर बेच्न बाध्य छन् । उनीसँग अहिले एक फराकिलो हृदय भएका सहयोगी पति छन्, जो विरलै नारीले पाउँछन् । बुवासँग अक्षर चिनेकी उनले नेपाल अाएपछि पढ्ने मौका पाइन् । यहाँसम्म आइपुग्दा सुनिताको आफ्नोबारे धारणा के छ त ? 'म आफूलाई संघर्षशील मान्छु,' उनको जवाफ हुन्छ, 'संघर्ष गरेको भएर मात्रै म यहाँसम्म आइपुगेकी हुँ ।'
Published in Koseli
Categories: