Friday, July 11, 2014

यु ट्युब रिभोल्युसन

करिब १० वर्ष अगाडि म्युजिक नेपालको आम्दानी एकाएक सुक्यो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष शर्मालाई लागेको थियो, देशमा युद्धले निम्त्याएको संकटकालले संगीत सुन्ने श्रोता घटे । तर, कारण अर्कै थियो । बजारमा पेन ड्राइभ र मेमोरी कार्डमा गीत भरेर बेच्ने चलन बढेको थियो । धेरै म्युजिक कम्पनीहरू बजारमा फैलिएको यस्तो ट्रेन्डबारे 'बेखबर' बनेर क्यासेट नबिकेको चिन्ताले थलिएका थिए । मेमोरीको जगजगीले सीडी, क्यासेटको बिक्री ठप्प भयो ।
संगीतप्रेमी प्रतिगीत दुई/चार रुपैयाँ तिरेर मेमोरी कार्डमा भर्थे । मन परेको गीत सस्तोमा पाइने भएपछि गीतले भरिएको महँगो क्यासेट कसले किन्छ ? नेपालमा सुरु भएको संगीतको 'डिजिटल युग' को एक दशक पनि नबित्दै अहिले म्युजिक भिडियो सेयरिङमा यस्तै क्रान्ति सुरु भएको छ ।
भिडियो सेयरिङ साइट यु-ट्युबका कारण सुरु भएको यो अभियानले संगीतमा लागेकालाई चाँडै चर्चित हुने बाटो मात्रै दिएको छैन, कमाइको नयाँ स्रोत पनि पहिल्याएको छ ।
पहिले गीतको भिडियो बनाएर टेलिभिजन कार्यालय धाउने गायक- गायिका अहिले आफ्नै यु-ट्युब च्यानल वा यु-ट्युबको प्लेटर्फम दिएर गीत हिट बनाउन सघाउने कम्पनीको सम्पर्कमा पुग्न थालेका छन् । यु-ट्युबले बसालेको यो ट्रेन्डमा थपिन नेपालमै केही भिडियो सेयरिङ साइट खुलिसकेका छन् । यस्ता साइटले म्युजिक भिडियोलाई लोकपि्रय बन्न सघाइरहेका छन् ।
एफएम र टेलिभिजनमा कार्यक्रम चलाउने गायिका योजना पुरी आफंै पनि भिडियो सेयरिङका लागि 'मिडियम' बारे जानकार छिन् । त्यसैले उनले आफ्ना दुई गीतको म्युजिक भिडियो लञ्च गर्दा टेलिभिजन र यु-ट्युब दुवैबाट सँगै लञ्च गरेकी हुन् । उनले आफ्नो भिडियो सङ्स नेपालको यु-ट्युब च्यानलबाट गरेकी थिइन् । 'विदेशबाट आउने सबै फिडब्याक यु-ट्युबमै हेरेर आउँछन्,' उनी सुनाउँछिन्, 'विदेशमा बस्ने नेपालीका लागि यु-ट्युबबाट सेयर गरिएको भिडियो इफेक्टिभ हुन्छ ।'
बदलिएको प्लेटर्फम
सर फिङ प्रालिबाट सञ्चालित 'सङ्सनेपाल' ले वेबसाइट र यु-ट्युब च्यानलमार्फत नेपाली म्युजिक भिडियोको प्रवर्द्धन गर्दै आएको छ । उसले आफ्नो यु-ट्युबको च्यानलमा अपलोड गरेको भिडियो वेबसाइटमार्फत सेयर गर्ने गर्छ । उनको २५ हजारभन्दा बढी सब्सक्राइबर रहेको यु-ट्युब च्यानलमा अपलोड भएका ३ सय बढी भिडियोमध्ये केही म्युजिक कम्पनीले तयार पारेका भिडियो हुन् भने बाँकी कलाकार स्वयम्ले निर्माण गरिदिएका हुन् । 'हामी म्युजिक कम्पनी वा कलाकारसँग सम्झौता गरेर उनीहरूको भिडियो अपलोड गछौर्ं,' कम्पनीका म्यानेजिङ डाइरेक्टर सन्तोष घिमिरे भन्छन्, 'हाम्रो च्यानलमा भिडियो राख्न चाहने बढ्दै छन् ।'
सङ्सनेपालले यु-ट्युब च्यानलमार्फत तारा लिम्बू, सुमन छेत्री, कमलमान सिंह, सरिता प्रजापति, सागरराज, सोनाम पाखि्रनसहित अभया एन्ड दि स्टिम इन्ज्युन्स, दि इथोस ब्यान्डको भिडियोसमेत प्रवर्द्धन गरिरहेको छ । सङ्सनेपाल नेपाली र्‍याप ब्याटल सिरिज र वार्जका लागिसमेत आधिकारिक सेयरिङ साइट हो । झन्डै ६० हजार सब्सक्राइबर रहेको म्युजिक नेपालको यु-ट्युब च्यानलमा दैनिक करिब ७ लाख क्लिक हुन्छ ।
च्यानलमा म्युजिक नेपालले आफ्नो भिडियो मात्रै राख्दैन । 'अरू कम्पनीले तयार पारेको भिडियो पनि हामी राख्छौं,' म्युजिक नेपालका प्रमुख कार्यकारी सन्तोष शर्मा भन्छन्, 'हाम्रो मात्रै च्यानलभन्दा पनि प्लेटर्फमजस्तो बनाएका छौं ।' उनको यु-ट्युब च्यानल म्यानेज गर्नका लागि मात्रै कम्पनीमा चार जना प्राविधिक छन् । विदेशमा बस्ने नेपालीको भिडियो सेयरिङको यो नयाँ उपलब्धि लाभदायक भएको शर्माको अनुभव छ । आफ्नो च्यानलका ३० प्रतिशत भिजिटर गल्फमा कार्यरत नेपाली रहेको उनी बताउँछन् । 'नेपालबाट १५ प्रतिशत मात्रै भिजिटर छन्,' उनले भने ।
क्यासेटको जमानादेखि यु-ट्युब युगसम्म देखेका शर्मा नयाँ प्रविधि एडप्ट गर्न नसके म्युजिक कम्पनी नै विलयको स्थितिमा पुग्ने तर्क गर्छन् । 'भिडियो सेयरिङको यो नयाँ टेक्निक हामीले स्विकार्नै पर्छ,' शर्मा भन्छन्, 'नयाँ टेक्निकले अवसर र चुनौती दुवै दिन्छ ।' बूढासुब्बासहित अन्य लगभग सबै म्युजिक कम्पनीले यु-ट्युब च्यानलमार्फत भिडियो प्रवर्द्धन गरिरहेका छन् । र्‍यापमा चर्चित नेपाली नाम नमोबुद्ध र लाहुरे दुवै आफ्नै बलबुतामा यु-ट्युबमा राखेको भिडियोको कारण चर्चित भएका हुन् ।
यमबुद्धको यु-ट्युब च्यानलका सब्सक्राइबर मात्रै झन्डै एक लाख पुगिसकेका छन् । लाहुरेको च्यानल सब्सक्राइबर ३५ हजारभन्दा बढी छन् । आश्चर्य त के छ भने दुवैले गाएको र्‍याप होस् कि गीत, कुनै मूलधारका मिडियामा सुनिँदैनन् । तैपनि उनीहरू लोकपि्रय छन् । यमबुद्धको फेसबुक फ्यान मात्रै साढे ६ लाख छन् भने लाहुरेलाई झन्डै एक लाख फ्यानले पछ्याइरहेका छन् । यसले पनि प्रमाणित गर्छ, अब आफ्नो कामको प्रचार गर्न मूलधारको मिडियामै निर्भर हुनु पर्दैन ।
आम्दानीको नयाँ बाटो
एक दशकदेखि सुकेको नेपाली म्युजिक कम्पनीको आम्दानीलाई यु-ट्युबको कमाइले राहत दिन थालेको म्युजिक नेपालका प्रमुख कार्यकारी शर्माको अनुभव छ । उनी अनलाइनमा भिडियो हेर्ने प्रयोगकर्ताको दर यस्तै मात्रामा बढ्दै गए आगामी एक वर्षभित्र आफ्नो कम्पनीको आम्दानी फेरि पहिलेकै स्तरमा पुग्ने दाबी गर्छन् । म्युजिक नेपालमा भिडियो राखेका कम्पनीलाई कमाइको ६० देखि ८० प्रतिशत हिस्सा रोयल्टीबापत दिएको उनी बताउँछन् ।
सङ्सनेपालले भिडियोको रोयल्टीबापत कलाकार र म्युजिक कम्पनीलाई आम्दानीको २५ देखि ४० प्रतिशत रकम दिने गरेको म्यानेजिङ डाइरेक्टर सन्तोष घिमिरे बताउँछन् । 'म्युजिकको देश-विदेशमा प्रचार पनि हुने र रोयल्टी पनि पाइने भएकाले यस्ता च्यानलमा भिडियो राख्ने क्रम बढेको छ,' घिमिरेले सुनाए ।
चुनौती पनि
नयाँ टेक्निकले कलाकारलाई चाँडै चर्चा कमाउन जति सजिलो छ, त्यति नै गाह्रो छ पाइरेसीबाट बच्न । सरकारले प्रतिलिपि अधिकार ऐन राम्ररी कार्यान्वयन गरे आम्दानी २० गुणा बढ्ने म्युजिक नेपालका प्रमुख शर्माको दाबी छ । यु-ट्युब आफैंले डाउनलोडको सुविधा नदिए पनि अन्य सफ्टवेयर प्रयोग गरेर डाउनलोड गर्ने क्रम उत्तिकै छ । 'प्रयोगकर्ता नै सचेत नभई हुन्न,' शर्मा भन्छन्, 'प्रयोगकर्ताले यु-ट्युबमै क्लिक गरेर हेरिदिए कलाकारले दुई पैसा रोयल्टी पाउँछन् ।'
'डाउनलोड गर्ने सुविधा नदिने हो भने महँगो पैसा तिरेर सर्भर होस्ट गर्नुपर्छ,' सङ्सनेपालका घिमिरे भन्छन्, 'सोझै आफ्नै वेबसाइटमा राख्दा यु-ट्युबबाट जस्तो पैसा पनि आउँदैन । भिडियो यु-ट्युबमा राख्दा डाउनलोड हुने समस्या छ ।' आफ्नो च्यानलबाट डाउनलोड गरेर अर्को च्यानलमा राखिएको धेरै भिडियो हटाउन लगाइएको उनले बताए ।
हेल्लो शुक्रबारमा प्रकाशित