Saturday, November 15, 2014

नेवाः लिपिको युनिकोड

एक दशकभन्दा बढीको अथक प्रयासपछि अन्ततः नेपाल भाषामा सबैभन्दा बढी प्रयोग गरिने प्रचलित लिपिलाई युनिकोर्ड कन्सोर्टियमले मान्यता दिएको छ । केही दिनअघि मात्रै युनिकोर्डकन्सोर्टियमले नेवाः लिपिको क्यारेक्टर कोर्ड बनाउन आईएसओ पठाइएको हो ।  यूनिकोड कन्सोर्टियम संसारभरका भाषाको यूनिकोडलाई मान्यता दिने निकाय हो । यसअघि नेपालमा प्रयोग हुने किरात, मिथिलाक्षर र लिम्बू लिपिको यूनिकोड बनिसकेको छ ।

केही दिनअघिको युनिकोर्डक्सोर्टियमको कन्फ्रेन्समा प्रचलित लिपिको यूनिकोडलाई 'नेवाः' नाम दिएर यूनिकोडको मान्यता दिएको माइक्रोसफ्ट इन्नोभेसन सेन्टरका नेपाल प्रमुख एलन बैलोचन तुलाधरले बताए । इन्टरनेसनल अर्गनाइजेसन फर स्न्टरडाइजेसन (आईएसओ) ले क्यारेक्टर कोड बनाएपछि सबै कम्प्युटर र कम्प्युटिक डिभाइस उत्पादकले त्यो फन्ट राख्नुपर्ने हुन्छ ।

त्यसपछि भने फन्ट डेभलपरले त्यो लिपिमा आधारित फन्ट बनाउँछन् । नेवाः लिपिका सुन्दर अक्षर इन्टरनेटमा समेत सपोर्ट गर्ने भएपछि यसको प्रयोगले व्यापकता पाउने विश्वास गरिएको छ । आईएसओबाट स्ट्यान्डर सर्टिफिकेट पाउन भने सबै पर्मानेन्ट सदस्य राष्ट्रको शतप्रतिशत भोट पाउनुपर्ने हुन्छ । नेपाल पनि आईएसओको पर्मानेन्ट सदस्य हो । सदस्य राष्ट्रले भोट नगरे पनि त्यसलाई समर्थन मानिन्छ ।


प्रचलित लिपिलाई नेपाल लिपि पनि भनिन्छ । तर युनिकोर्डटेक्निकल कमिटीले दुवै नाम विवादित भनेपछि यूनिकोडको नाम नेवाः राखिएको तुलाधार बताउँछन् । उनी प्रस्टयाउँछन्, प्रचलित नेपाली शब्द भएको र नेपाल लिपि राख्दा पनि राष्ट्रको नाम जुध्ने भएकाले नेवाः नाम दिनुपरेको हो । नेवाः यूनिकोडले आईएसओ स्ट्यान्डर पाएपछि अब बन्ने सबै कम्प्युटिङ डिभाइस उत्पादकले आफ्नो डिभाइसको पछिल्लो भर्सनमा त्यो फन्ट राख्नुपर्ने हुन्छ ।

यसबाट देवानगरी लिपिमा नेपाल भाषा लेख्नुपर्ने बाध्यता पनि हट्नेछ । नेवाः लिपिमा नेपाली र संस्कृति भाषासमेत लेख्न मिल्ने बनाइएको तुलाधर बताउँछन् । नेपाल भाषामा ह्स्व, दीर्घ नचाहिने भएपनि नेवा लिपिको यूनिकोडमा त्यस्तो व्यवस्था राख्न लागिएको उनले बताए । देवानगरी लिपिमा नेपाल भाषाका सबै अक्षर नहुँदा समस्या भोग्नु परे पनि अब भने त्यस्तो समस्या टर्ने लिपिविद शरद कसाः को आशा छ ।

देवनागरीसहित प्रचलित, रञ्जना र भूजिमोललगायत लिपि प्राचीन बाह्मीक लिपिबाट बनेको भए पनि देवनागरी लिपिको प्रयोग व्यापक छ । देवनागरी लिपिभन्दा प्रचलित लिपि २ सय वर्ष अघि प्रयोगमा आएको लिपिविद कसाःको दाबी छ । इन्टरनेट इन्साइक्लोपेडिया वीकीपेडियामा नेपाली भाषाजत्तिकै हाराहारीमा नेपाल भाषाका सामग्री भए पनि ती देवनागरी लिपिमा छन् । आशा गरौं चाँडै इन्टरनेटमा पनि नेवाः लिपिको सामग्री भेट्टाइने छ ।
Published in Hello Friday
Categories: