Saturday, December 13, 2014

बाबुको बहादुरी

उनले भविष्यमा सम्हाल्नुपर्ने झण्डै एक दर्जन कम्पनीहरु छन् । त्यसैको तयारीमा उनी वेलायतको यूनिभर्सिटी अफ ईस्ट एङ्लियामा विजनेस म्यानेजमेण्टमा अण्डरग्र्राजुयट गर्दैछन् । तर, उनको मन कुनै कर्पोरेट अफिसमा होइन्, घर र होटलको किचनमा रमाउछ । राहुल श्रेष्ठ, २०, लाई नेपालका पहिलो केवलकार संस्थापक स्वर्गीय लक्ष्मणबाबु श्रेष्ठको नाति भन्दा धेरैले सजिलै चिन्छन् । आफन्तले उनलाई बाबु भनेर चिन्छन् । राहुल भने पारिवारिक पेशाभन्दा फरक क्षेत्रमा परिचय बनाउन तल्लिन छन् । सोखको रुपमा सुरु गरेको कलिनरी आर्टलाई उनी व्यवसाय बनाउन चाहन्छन् ।

बिदामा नेपाल आउँदा गत बुधबार उनले सोल्टी होटलमा झण्डै एक सय पाहुनालाई आफैले तयार पारेको सिक्स कोर्स मिल खुवाए । त्यसको तयारीका लागि उनी ५ दिन अघिदेखि सोल्टी होटलमा व्यस्त थिए भने सुत्ने समय घटाएर नयाँ नयाँ रिसेपी सोचेर बसे । खानाका पारखीहरु सहभागी सोल्टीको ग्यादरिङमा उनको कलाले तारिफ पायो र श्रेष्ठ परिवारको एउटा सदस्य फरक पेशामा लागेको चर्चा पनि भयो ।

बाषिर्क डेढसय करोडको कारोबार गर्ने पारिवारको एक सदस्य राहुलको लागि वेलायतमा दुख गर्नु कुनै आवश्यकता थिएन तर आफ्नो रहर मेटाउन उनले त्यहाँका रेष्टुरेन्टहरुमा आवेदन दिए र कामको अनुभव गरे । दैनिक १६ घण्टासम्म रेष्टुरेन्टमा उभिएर काम गर्दा उनको खुट्टा सुन्निन्थे तर उनले  पीडा मानेनन् । उनी हप्तामा दुई दिनको सट्टा एक दिन मात्रै बिदा लिन्थे । भन्छन्,'आफ्नो रुचीको काम गर्दा, काम गरेको जस्तो फिल नै नहुने रहेछ ।' उनको कामप्रतिको रुची कस्तो भने बिदामा नेपाल आउनु अघि पनि उनले दुई महिना त्यहीको रेष्टुरेन्टमा दुई महिना कामको अनुभव लिए । छोराको कुकिङप्रतिको यो लगाव देखेर आमा अर्चना र बुवा राजेशबाबु श्रेष्ठ पनि खुशी छन् । उनले कामको अनुभव लिएको दी स्क्वायर र लि मनोय ओ क्वा सेजन र दी स्क्वायर वेलायतको उत्कृष्ट १० को सूचीमा पर्ने रेष्टुरेण्ड हुन् जसले मिसेलिन गाइडमा टू स्टार मिसेलिन रेष्टुरेन्टको रेटिङ पाएका छन् ।

शुभतारा स्कुल लाभाटारबाट एसएलसी सकेपछि राहुलले रातो बंगलाबाट ए लेभल सकेका हुन् । स्कुल होस्टलबाट बिदामा घर आउँदा उनको धेरै समय भान्सामै बित्थ्यो । 'छोराको रुची कुकिङमा भएकाले मैले कहिल्यै भान्सामा समय दिनु परेन', छोराको रुचीदेखि गदगद अर्चना भन्छिन्,'सानैदेखि आफ्नो खाना आफैं बनाउथ्यो ।' धेरै छोराहरुले आमाको हातको मिठो खानाको चर्चा गरिरहँदा उनी भने छोराको कला देखेर दंग छिन् ।

आफ्नो परिवारका धेरै सदस्यले कुकिङमा रुची भएकाले पनि राहुलमा सानैदेखि यस क्षेत्रमा रुची जागेको बुवा राजेशबाबु श्रेष्ठको अनुमान छ । 'मेरो दाई राजुबाबु श्रेष्ठ पनि घरमा खसी काटेर धेरैथरी परिकार बनाउनुहुन्थ्यो', उनी सम्झन्छन्,'मलाई पनि पछिल्लो समय कुकिङमा रुची बढ्दै गएको छ ।' सुरुमा छोराले फरक क्षेत्रमा रुची देखाएकोमा चिन्तित परिवार अहिले राहुलको लगाव देखेर मख्ख छ । 'आफ्नो ट्यालेन्टलाई एक्सपोज गर र वल्र्डक्लास बन', राजुबाबु भन्छन्,'अब ट्रेडिसनल बिजनेस नै गर्नुपर्छ भन्ने पनि छैन् ।'

सानैदेखि खानामा रुची भएका राहुलको नेपाल हुँदा तौल एकसय ५ केजी थियो तर तीन बर्षअघि बेलायत गएपछि उनले डाईटिङ प्लान गरेर तौललाई ७५ केजीमा झारे । अहिले उनी ७१ केजी मात्रै छन् र तौल बढ्न नदिन सचेत पनि । 'उता गएपछि तौल घटाउन थाल्दा आफ्नो खाना आफैं बनाउनुपर्ने भयो', राहुल भन्छन्,'त्यसपछि झन् कुकिङमा रस बस्यो ।' उनले कलेज छुट्टी हुँदा त्यहाँका राम्रा रेष्टुरेन्टमा तालिम लिएका छन् तर सबैभन्दा धेरै आफ्नै लगावले उनलाई कुकिङमा अब्बल बनाउदैछ ।

उनलाई भान्सामा रमाउने लत लाग्नुको पछाडि अर्को एउटा कारण पनि छ । भन्छन्,'मलाई हामीले खाने गरेको नेपाली खानाहरु त्यति चित्त बुझ्दैनथ्यो त्यसैले नयाँ नयाँ खाना बनाएर खाने मन लाग्यो ।' मिठो खान भान्सा पसेका उनी अब त्यसैलाई आफ्नो व्यवसाय बनाउन तल्लिन छ । अबको केही बर्षभित्र यूरोपमा सेफको लेभलमा पुग्ने उनको धोको छ ।
उनले परिवारलाई पनि भनेका छन्,'मेरो रुचीको काम गरिसकेर मात्रै फेमिली बिजनेस सम्हाल्छु ।'

परिवारको यत्रो ठूलो बिजनेस एम्पाएर छाडेर किन कुकिङतिर ? उत्तर दिंदै राहुल भन्छन्, 'हामीकहाँ आप\mनो भन्दा अरुको सपनाको पछाडि दौडने चलन छ तर म आफ्नै सपना भेट्न चाहन्छु ।' कुर्सीमा बसेर १०-५ को ड्युटी गर्नुभन्दा रुचीको फिल्डमा १६ घण्टा खट्नुमा मजा भएको उनी ठान्छन् ।

उनलाई विशेषगरी जापानीज र फ्रेन्च खानाहरु मन पर्छ । भन्छन्,'जापानीज खानामा एसिएन टेस्ट हुन्छ र यो हलुका हुन्छ । फ्रेन्च खाना सबै खानासँग फ्युजन भएर नयाँ नयाँ परिवार आउदैछ ।' उनले विगत तीन बर्षदेखि खानासम्बन्धी ब्लगिङ गर्दै आएका छन् । बाबुज रेरिपी ब्लगस्पटडटकममा उनी नयाँ नयाँ परिकार बनाउने तरिका सिकाउछन ।
नेपालमा अझैं रेष्टुरेन्ट र फाईन डाईनिङको कल्चर नभित्रिएकाले उनलाई यहाँ रेष्टुरेन्ट खोल्ने रहर छैन् । भन्छन्,'यूरोपतिर सेफले नै रेष्टुरेन्ट खोल्नछन् र आफ्नो मौलिक परिकारको स्वाद चखाउछन् तर नेपालमा व्यवसायीले रेष्टुरेन्ट खोल्छन्लाई जसलाई खानाबारे थाहा नै हुँदैन ।' नेपालको बसाईंमा विभिन्न रेष्टुरेन्ट चहारेपछि उनलाई नेपाली रेष्टुरेन्टमा क्रिएटिभिटीको कमी रहेको अनुभव भएको छ ।
(Published in Hello Friday)
Categories: