Tuesday, August 21, 2012

खाद्यान्न भाउ नियन्त्रणबाहिर

हेटौंडा, ५ भदौं÷ ‘आजसम्म भाउ घटेको थाहा छैन’, घरको लागि खाद्यान्न किन्न हेटौंडा बजार आएकी कमलडाँडाकी रमा पौडेलको भनाई यो हो । उनी जहिले खाद्यान्न किन्न आउँछिन त्यो बेलामा कुनै न कुनै खाद्यान्नको भाउ बढेकै हुन्छ । कहिले एकै चोटी सबैको भाउ बढिसकेको हुन्छ । किन बढ्न उनलाई थाहै हुन्न । न त कसैले बताउछ ।
पछिल्लो दुई महिनामा खाद्यान्नको भाउ बढेको बढ्यै छ । अधिकांश खाद्यान्नको कच्चा पदार्थको रुपमा वा सोझै भारतबाट आउने भएकाले किन भाउ बढेको  कसैलाई थाहा छैन । तर, उपभोक्ताहरु लगातार महंगो खाद्यान्न किन्न बाध्य छन ।
पछिल्लो दुई महिनामा चालम, तेल, दाल, चिनि, केराउ, पिठोजस्ता घरायसी प्रयोजनको खाद्यान्नमा लगातार भाउ बढेको बढ्यै छ । तर, बजार अनुगमन र नियमनको जिम्मेवारी पाएको निकाय मौन हुँदा उपभोक्ताको खल्ती रित्तिने क्रम यत्तिमै रोकिने छाँट छैन । किनकि प्रत्येक हप्ताजसो खाद्यान्नको भाउमा केही न केही बृद्धि भइरहन्छ । घट्ने लक्षण कहिल्यै देखिदैन ।
दुई महिनामा चिनीमा ७ रुपियाँ, चामलमा १० रुपियाँसम्म, मसुरोको दाल १० रुपियाँ, रहर दाल १० रुपियाँ, मुगको दालमा १० रुपियाँ, चनामा १० रुपियाँ, भटमास, सुर्यमुखी र तोरीको तेलमा पनि ७ रुपियाँसम्म बढेको छ, (हेर्नुस् बक्स) । यी त भए दुई महिना भित्रमा बढेको खाद्यान्नको भाउ । यसअघि पनि खाद्यान्नमो मूल्य उकालो लाग्ने क्रम थियो । दुई महिनामा सबै खाद्यान्नको भाउ अकासिदा पनि यसको कारण खोतल्ने प्रयास जिम्मेवार निकायले गरेको छैन ।
आर्थिक बर्षको अन्त्य र बजेट भाषणलाई लक्षित गरी हरेक बर्षजसो खाद्यान्नको भाउ बढ्ने गरेको खुद्रा व्यबसायी संघ मकवानपुर अध्यक्ष कुलप्रसाद चौलागाई बताउँछन । ‘भाउ किन बढ्यो हामीलाई थाहा हुन्न’, चौलागाईले भने,‘ठूला व्यापारीले भाउ बढ्यो भनेपछि त्यही अनुसार किन्ने हो ।’ चौलागाईका अनुसार हेटौंडा बजारका खुद्रा व्यापारीले ठूला व्यापारीसँग खरिद गरी चिनीमा ५ रुपियाँ प्रतिकेजी, पिठो चामललगायत खाद्यान्नमा दुई रुपियाँ प्रतिकेजी नाफामा बिक्री गर्छन । ‘भाउ बढेर हाम्रो नाफा बढ्ने होइन्’, चौलागाईले भने ।
कान्तिराजपथमा चालल, आलु, प्याजजस्ता खाद्यान्नको थोक व्यबसाय गरिरहेका गणेश सब्जी भण्डारका सञ्चालक हरिप्रसाद दाहाल खाद्यान्नको भाउ किन बढ्यो भन्ने जानकारी नभएको बताउछन । ‘बीरगञ्जका व्यापारीले भारतबाट चामल ल्याएर प्याकिङ गर्छन र आफ्नो भाउअनुसार बिक्री गर्छन’, उनले भने,‘यातायात भाडासमेत बृद्धि भएको छ ।’ यहाँको भाउ बढ्नुमा बीरगञ्जको व्यापारी कारक देख्छन् उनी ।
तेलको थोक बिक्री गरिरहेको जमादार स्टोरका सञ्चालक दीपक बलामी एक महिनायता तेलको भाउ स्थिर भएपनि त्यसअअघि भाउ बढेको बताउछन । उनका अनुसार तोरी, भटमास र सुर्यमुखी तेलको थोक मूल्यमै सात रुपियाँसम्म बढेको छ । ‘उतै (बीरगञ्ज) बाटै बढेर आएको हो’, उनले भने,‘बढ्नुको कारण हामीलाई थाहै हुन्न ।