Sunday, August 5, 2012

होटलमा छापाः मार्ने कि नमार्ने ?

    मुरारी देवकोटा (नाम परिवर्तन) अहिले १७ बर्षका भए । हाल उनी जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासत कक्षमा छन् । उनलाई दुई दिन अघि प्रहरीले हेटौंडा बसपार्कको एक होटलबाट पक्राउ गरेको थियो । उनलाई पक्रनुको कारण हो–उनी र अर्की एक युवती एउटै कोठामा थिए । देवकोटा टिभी हेर्दै थिए उनकी प्रेमीका (उनले भनेअनुसार) बाथरुममा नुहाउँदै थिइन् । त्यही बेला प्रहरी पुगेर पक्राउ गरेपछि उनीहरु दुवैलाई सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा दायर गरिएको छ । आरोप हो–सार्वजनिक स्थानमा अश्लिल क्रियाकलाप गरेको । अब उनीहरुले पाउने सजाय अस्पष्ट नेपाली कानुनको हातमा छ । सार्वजनिक अपराध ऐनअनुसार उनीहरुमाथि २८ हजारसम्म जरिवाना र केही महिना कैद पनि हुनसक्छ ।

    पक्राउ परेका कारण देवकोटाले मात्रै क्षति व्यहोर्नु परेको छैन् । १७ बर्षकी भीमफेदी घर भएकी उनकी प्रेमीकाले पनि धेरै थोक गुमाउनुपरेको छ । हिजो आइतबार उनको साउदी अरब जानुपर्ने टिकट थियो । तर, शुक्रबार राति उनी बसपार्कको होटलबाट पक्राउ गरिन् । उमेर छलेर नागरिकता बनाएकी उनी २ बर्ष साउदी बसेर तीन महिनाअघि नेपाल फर्किएर आइतबार पुनः अरब फर्कने तयारीमा थिइन् । ‘उनी नेपाल आउँने बित्तिकै साथिको माध्यमबाट लभ परेको हो’, १७ बर्षीय ठिटोले लगाउँदै भने,‘अब एक हप्तापछि बिहे गर्छु ।’ तर, नेपाली कानुनअनुसार दुवैको बिहे गर्ने उमेर भएकै छैन् ।
    देवकोटा एक उदाहरण मात्र हुन् । घरमा ढाँटेर होटल छिर्ने उनीहरुजस्तै किशोर हुन वा परिवक्व युवा, घरमा पतिपत्नी हुँदाहुँदै अन्तै सन्तुष्टी खोज्ने प्रौढ हुन् वा बृद्धबृद्धा धेरैले होटलमा रात बिताउने रहर पूरा गर्न खोज्दा अपराधीको दर्जामा उभिनुपरेको छ । होटललाई सार्वजनिक स्थल र त्यहाँ गरिने शारीरिक सम्बन्धलाई अवैध मान्ने नेपाली कानुन पालना गराउन भन्दै प्रहरीले हेटौंडामा मात्रै होइन् नेपालका सबै सहरका होटलमा छापा मार्ने गरेको छ ।
    धेरै प्यास लागेपछि मानिसले खोलाको पानी पनि खान बाध्य हुन्छ । यौनलाई आहारा व्याख्या गर्न थालिएको जमानाका महिला हुन् वा पुरुष, सन्तुष्टी खोज्ने भौतारिने गरेको सर्वत्र चर्चा हुने गरेको छ । त्यसैले होला, नेपाल भर जहाँजहाँ होटलमा छापा हानिन्छ, त्यहाँत्यहाँबाट जोडी पक्राउ पर्ने गरेका छन् । एकातिर अवैध काम गरेकालाई पक्राउ गरेकोमा प्रहरीले नाक फुलाउने मौका पाएको छ । छाति चौडा बनाएको छ । तर पक्राउ पर्नेहरुको नाकै बाँकी नरहने अवस्था छ । उनीहरु समाजमा शिर झुकाएर हिड्नुपर्ने गरी सार्वजनिक बेइज्जती हुन्छ । यो अहिलेको अवस्था हो ।
    यो सबैलाई थाती राख्दै समाजको एक पक्ष यौन स्वतन्त्रताको वकालत गर्न आँट गर्नेहरु पनि छन् तर यौनको बारेमा निकै अनुदार नेपाली संस्कृति र यसका संकुचित अनुयायीहरुको जन्जालोका फाँसिने डर पनि छ । जहिल्यै पनि यौनको कुरालाई अनौठो मान्ने र यौनको बिषयमा आफूलाई अलग्गै राख्दा भद्रभलाद्मी दहराउन पाइने भ्रममा बाँचेकाहरुबीचमा यस्तो आँट गर्नु चानचुने कुरो होइन् । होटलमा प्रहरीको बढ्दो निगरानी र त्यसका बाबजुत पनि फेला पर्ने जोडीहरु देख्दा, अब पनि यौनलाई बर्जित गरेर हुँन्न भन्ने भावना पलाउन थालिसकेको छ, मानिसहरुमा ।
    होटलमा कडाई गर्दा जोडीहरु खोलाको किनारा, झाडी र पार्कहरुमा ‘आपत्तिजक’ अवस्थामा भेटिन थालेको प्रहरी प्रमुख जोशी नै स्वीकार्छन् । अश्लिलता रोक्न होटलमा कडाई गर्दा झन् खुला ठाउँ रोज्ने मानिसको यौन चाहनाको मुहान कसरी बन्द गर्न सकिएला र ?    आफूलाई अनुशासित र मर्यादीत राख्न सकेकोले नै मानिस स्वघोषित विवेकशील प्राणी हो ।   मानिसले आफ्नो यौन क्रियाकलापलाई पशुको भन्दा सभ्य बनाएको छ । यौन आशक्ति नियन्त्रण गर्नसक्ने प्राणी मानिस हो । तर, यो मानिसको अभिन्न आवश्यकता पनि हो । अंग्रेजीमा एउटा भनाई छ–‘हुमन अलिभ फर टु थिंग्स, डिजाएर टु बी ग्रेट एण्ड डिजाएर फर सेक्स’ (मान्छे दुई चिजका लागि बाँच्छ–महान् बन्ने चाहना र यौन चाहनाको प्राप्ती) ।
    नेपालको कानुनले होटललाई सार्वजनिक स्थल र त्यहाँ गरिने शारीरिक सम्पर्कलाई सार्वजनिकरुपमा अश्लिल मान्ने
गरेकाले प्रहरीले होटलमा छापा गरी कडाई गरेको मकवानपुर प्रहरी प्रमुख उपरीक्षक पूर्णचन्द्र जोशी भन्छन् । तर, होटललाई सार्वजनकि थलो मान्न नहुँने र होटलको कोठामा गरिने शारीरिक सम्पर्कलाई अश्लिलता फैलाएको मान्न नहुँने तर्क गर्नेहरु पनि छन् । नेकपा माले मकवानपुर सचिव भीमसेन महत होटलको कोठाभित्र हुने शारीरिक सम्पर्कले अश्लिलता नफैलाउने दाबी गर्छन् । उनी होटलका कोठामा गरिने प्रहरी छापा बेतुकको भएको तर्क गर्छन् । उनको विचारमा अब नेपालमा यौन व्यबसाय व्यबस्थापन गर्ने बेला भएको छ । किशोरावस्थामा प्रवेश गरेकाहरुलाई यौन सम्बन्धी शिक्षा दिनुपर्ने बेला आएको छ ।
    यौन सन्तुष्टीका लागि यौन व्यबसायीकहाँ जानुलाई विश्वका केही मुलुक बाहेक सबै मुलुकमा अनौठो मानिदैन् । विश्वका अधिकांश देशले यौन व्यबसायलाई स्वीकृति दिएर व्यबस्थापनको लागि अनेक कदम चालेका छन् । एसिया महादेशकै थाइल्यान्ड यस्तो देश हो जहाँ मुलुकको आम्दानीको प्रमुख स्रोतको रुपमा यौन व्यबसायलाई लिइन्छ । त्यहाँको पर्यटकीय आकर्षणको मुख्य हतियार नै आधुनिक यौन बजार हो । आयरल्याण्डमा अपाड्डहरुका लागि पनि यौन सन्तुष्टी दिने स्थान बैद्यानिकरुपमै खुलेका छन् । जहाँ युरोपेली अपाड्डहरु धक फुकाएर यौन प्यास मेटाउँछन् । तृप्त भएर फर्कन्छन् । अष्ट्रेलयाका यौन व्यबसायीहरु आफ्नो आम्दानी प्रधानमन्त्रीकै जत्तिको भएकोमा गर्व गर्छन् । उनीहरुले यौन व्यबसायलाई पुनर्ताजगीको उपायको रुपमा व्याख्या गर्दै पेशाप्रति गर्व गर्ने गरेका छन् । भलै, नेपालमा त्यस्तो अवस्था आउँन अझैं धेरै बर्ष लाग्ला अथवा त्यस्तो अवस्था आउँदै नआउँला तर पनि नेपालमा यौन व्यबसायलाई व्यबस्थित गर्नुपर्छ भन्ने माग उठ्न थालेको छ । नत्र यसैगरी कलिला मुरारीहरु अपराधिको रुपमा अदालतमा उभिइरहनेछन् ।
    केही महिनाअघिको कुरा हो । हेटौंडाको होटलमा थरीथरी जोडी भेटिए । एकजना थिए दाङका पुरुष र अर्की थिइन् बारा मधुवनकी महिला । टेलिफोनबाट कुराकानीकै आधारमा उनीहरुले मध्यबिन्दु हेटौंडालाई बनाए, भेटघाटका निम्ती । दुवैको घरमा आआफ्ना सन्तान थिए । आआफ्नै जीवन साथी थिए । उनीहरुले खोजेको स्वाद फरक थियो । त्यसैले प्रहरीले आपत्तिजनक अवस्थामा फेला परेको भन्दै पक्राउ गरेको थियो ।
    माथिको घटना उदाहरण मात्रै हो । हेटौंडा सबैथोकको लागि हब बन्दै गएको छ । हेटौंडालाई लागूऔाषधको ट्रान्जिट प्वाइन्टको रुपमा मात्रै व्याख्या गरेर प्रचार गरिएको छ । तर यतिले मात्रै हेटौंडाको परिचयलाई बोकेको छैन् । पूर्वपश्चिम राजमार्गको मध्यबिन्दु हेटौंडा यौन व्यबसायीको लागि पनि आकर्षक थलो हो भन्नेहरु छन् । यहाँ करिब ५ सय हाराहारीमा यौन व्यबसायी रहेको यसैक्षेत्रमा कार्यरत संघसंस्थाहरुको अनुमान छ । उनीहरुको रोजिरोटीको प्रमुख स्रोत पनि यौन व्यबसाय नै हो । यो कुरा थाहा पाउँनेहरुको लागि यौन सन्तुष्टी पाउँने प्रमुख ठाउँ हेटौंडा हुनसक्छ । तर, प्रहरी छापाको डरले त्राहिमाम यहाँका होटल व्यबसायीले जोडीलाई नराख्ने निर्णय गरेपनि श्रीमान् श्रीमती, दाजुबहिनी, दिदीभाई, फूपूभदाको नाममा कोठा बुक गराउनेको कमी छैन् ।
    होटल एसोसिएन मकवानपुर अध्यक्ष भगीरथ शर्माको धारणा पनि यौन स्वतन्त्रताको वकालत गर्नेहरुको पक्षमै छ । कसैले मन मिलेर होटलमा ‘इन्जोय’ गर्छ भने त्यसलाई आपत्ति मान्न नुहुँने उनको धारणा छ । कानुनत् बर्जित भएकाले होटल व्यबसायीले यौन व्यबसायलाई बढावा दिन नहुँने उनको धारणा छ । उनले,  अब यौन व्यबसायसम्बन्धी कानुनको आवश्यकता देखिसकेका छन् । तर, अहिलेका कानुनले होटलको कोठालाई सार्वजनिक ठाउँ नमान्दिने मात्रै हो भने पनि धेरै मुरारीहरु पक्राउ पर्नबाट जोगिनेछन् ।
–बिजय तिमल्सिना (२०६९ साउन २२ गते)
Categories: , ,