Friday, September 14, 2012

होटलभन्दा कम छैनन् चित्लाङका होमस्टे

    चट्ट् पारेर मिलाइएको ओछ्यान । भुँइका हरिया कार्पेट । अनि जोसुकैको मन पनि जित्नसक्ने खालको मायालु व्यबहार । अनि, स्वादिलो नेवारी परिकार । साथमा हुनेछ, नासपाति र रक्तचन्दनबाट बनेको रक्सी । चित्लाङ गाविसमा निर्माण गरिएको होमस्टेका बिशेषता हुन् यी । चित्लाङको होमस्टे बस्न आइपुग्ने जो कोहीले पनि जिब्रो टोक्दै यसको व्यबस्थापन देखेर भन्ने गर्छन् – होटलभन्दा के कम छन् र चित्लाङको होमस्टे ।
    यहाँका सात घरमा बनाइएको होमस्टेमा ६० जना पाहुना अटाउन सक्छन् । जहाँ उनीहरुले न्यानो स्वागतसहित स्वादिलो खाना अनि मिठो निन्द्र पाउनेमा कुनै शंका छैन् । गाविसमा बुद्धरत्न मानन्धर, राधाकृष्ण बस्नेत, रामकृष्ण बलामी, अशोकसिंह ठकुरी, रामकृष्ण बलामी, लालबहादुर श्रेष्ठ, दलबहादुर गुरुङको घरमा अघिल्लो बर्षदेखि होमस्टे थालिएको हो ।
    होमस्टेका लागि जिल्ला विकास समितिले प्रत्येक घरलाई व्यबस्थापन खर्चबापत १० हजार रुपियाँ उपलब्ध गराएको थियो भने होम स्टे सञ्चालकहरुका लागि व्यबस्थापन र खाना पकाउने तालिमको व्यबस्था गरेको थियो । यहाँको होमस्टेमा मासिक औसत ३० जना पर्यटक आउने गरेको होमस्टे सञ्चालक बुद्धरत्न मानन्धरले जानकारी दिए । यहाँका होमस्टेमा
    होमस्टे सञ्चालनलाई प्रभावकारी बनाउन यहाँ सामुदायिक होमस्टेसमेत गठन भएको छ । यसले होमस्टेको मेनु बनाउने, रेट निर्धारण गर्ने, बिभिन्न संघसंस्थासँग सम्पर्क गरी पर्यंटक भित्र्याउन काम गर्दै आएको अध्यक्ष राधाकृष्ण बस्नेतले जानकारी दिए । सामुदायिक होमस्टेका सल्लाहकारसमेत रहेका मानन्धरका अनुसार यहाँका होमस्टेमा बस्नका लागि  फ्रेन्च, जर्मन र इटालीयन पर्यटकसहित बिद्यार्थीहरु पनि अवलोकन भ्रमणको लागि आउने गरेका छन् ।
    ऐतिहासिक, धार्मिक र साँस्कृतिक सम्पदाले धनी चित्लाङ गाविसमा चन्द्रागिरी, भार्लस्वर पर्वत, अशोक चैत्य, स्वच्छन्द भैरव, तलेजु भवानी मन्दिर र कोट, सातधारा, नयाँ पौवा, सत्तल, त्रिपुरेश्वर, शिवालय, चपकेश्वर महादेव, प्राचीन गोपाली बस्ती, महामुनी एवम् नेपालकै सबैभन्दा ठूलो चीज उद्योगजस्ता पर्यटकीय सम्भावना बोकेका क्षेत्र छन् ।
    मानन्धर पत्नी हिरादेवी पाहुनालाई नेवारी खानासहित स्वागत गर्ने गरेको बताउँछिन् । होमस्टेमा बस्नका लागि आउने पाहुनालाई सञ्चालकले फूलमालासहित नासपातिबाट बनेको रक्सी, अण्डासहित नेवारी शैलीमा स्वागत गर्छन् । चित्लाङ गाविसमा नेवार जातिको बाहुल्यता छ ।
    होमस्टेमा आउँदा खुशी लागेको जिल्ला विकास समितिका नायव सुब्बा किरण थापा बताउँछन् । यस्तो होमस्टे जिल्लाका अन्य पर्यटकीय स्थलमा समेत स्थापना हुनुपर्ने उनको धारणा छ । जिल्ला विकास समितिले जिल्लाको बज्रबाराही र गढी गाविसमा पनि होमस्टे सञ्चालनको लागि पहल गरेको भए पनि ति प्रभावकारी हुन सकेका छन् ।
Categories: ,