Friday, September 14, 2012

पाँच रुपियाँदेखि करोडसम्म

    १५ बर्षअघि सदस्य बनेर पाँच रुपियाँ बचत थाल्दा भीमफेदी गाविसस्थित महिला जागृति बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारीले कुनै दिन आफ्नो सहकारी नेपालकै उत्कृष्ट बन्नेछ भन्ने सोचेकै थिएनन् । लेखपढ गर्न त के हस्ताक्षरसमेत गर्न नसक्ने अधिकांश सदस्य भएको यस सहकारी देशका दुईसय महिला बचत तथा ऋण सहकारीलाई पछि पार्दै उत्कृष्ट घोषित भएको हो ।
    बचत तथा ऋण सहकारी केन्द्रीय संघको ३२ वटा मापदण्डमा अब्बल ठहरिएको यस सहकारी देशकै उत्कृष्ट महिला सहकारी घोषित भएपछि यसको चर्चा बढी हुन थालेको छ । १५ बर्षे अवधिमा सहकारीले सदस्यका लागि उल्लेख्य काम गरेको छ । सहकारी अध्यक्ष मंगलादेवी श्रेष्ठ सहकारीले ल्याएको परिवर्तनको उदाहरण आफैं भएको सवर्ग सुनाउँछिन् । आठ बर्ष सहकारीको कोषाध्यक्ष पद सम्हालेर हरहिसाबमा पाको बनेकी श्रेष्ठ अहिले सहकारी अध्यक्ष छिन् । सहकारीले गाविसका महिलाको आत्मविश्वास र व्यक्तित्व विकासमा सघाएर आत्मनिर्भर बन्न सिकाएको उनको अनुभव छ । सहकारीमा लागेपछि आफूसहित धेरै महिलाहरुले पढ्न र बोल्न जानेकोमा उनलाई सन्तुष्टि मिलेको छ ।
    ३२ वटा महिला समूहमा आवद्ध ६२ महिलाको बचत संकलनबाट सुरु सहकारीले यस अवधिमा पटकपटक गरी पाँचसय बढी सदस्यलाई प्रौढ शिक्षामा सामेल गराइसकेको छ । जसका कारण सुरुमा ल्याप्चे ठोक्ने सबै सदस्यहरु अहिले आफ्नो नाम लेख्न र हस्ताक्षर गर्नसक्ने भएका छन् । घरायसी काममा व्यस्त भीमफेदीका महिला जुटेर स्थापित सहकारीले गाविसभरका महिलालाई एउटै मालामा गाँसेको छ । हाल सहकारीको नौसय ५५ सेयर सदस्य छन् । ती सबै महिला हुन् । करिब एक हजार घरधुरी भएको भीमफेदी गाविसमा अधिकांश परिवारका महिला यस सहकारीका सदस्य छन् ।
    सहकारीबाट बिना धितो पाइने ५० हजार र धितो राखेपछि पाइने तीन लाखसम्मको कर्जाबाट गाविसका महिला मात्र नभई उनीहरुको जीवनशैली नै फेरिएको छ । सहकारीबाट कर्जा लिएर व्यवसाय गर्दै परिवारको जीवन शैलीमा कायापलट गरेका जुरिखेतकी केशरी थापा, भीमफेदी–७ की मनमाया लो र विष्णु परियार सहकारीले बदलेको जीवनको उदाहरण मात्रै हुन् । उनीहरुले सहकारीको ऋणबाट गरेको लगानीले क्रमशः गाँजर खेती, फर्निचर व्यवसाय र पसल फस्टाएको मात्र छैन, गर्न खोजे हुँदो रै’छ भन्ने उदाहरणसमेत थपेको छ ।
    स्थापनाताका बैठक गर्ने कोठा नपाएर चोक र चौतारामा बसेर छलफल गर्नु परेको स्मरण संस्थाकी सचिव निर्मला थापासँग ताजै छ । गाविसको थोत्रो भवनलाई सहकारीले आफ्नै लगानीमा मर्मत सम्भार गरी बैंकको शाखाझैं भव्य बनाएको छ, जहाँ दैनिक दर्जनांै सदस्य बचत र ऋणको कामले आउजाउ गर्छन् । यस सहकारीकी संस्थापक अध्यक्ष भगवती पुडासैनी जिल्लाकै महिला अगुवाका रुपमा परिचित छिन् ।
    सहकारीको आव २०६८÷०६९ को कूल बचत एक करोड ७ लाख थियो भने पौन दुई करोड लगानी छ । सहकारीले सबभन्दा बढी व्यापार, व्यवसाय, कृषि र पशुपालनमा लगानी गरेको छ । सहकारी कोषाध्यक्ष रीता आलेले एक बर्षमा सहकारीले चार करोडको कारोबार गरेको जानकारी दिइन् ।
Categories: , ,