Saturday, September 15, 2012

जेलमै रचना, जेलमै संगीत

हेटौंडा, ३० भदौ÷ २७ बर्षीय बीरबहादुरको ओठले गीत गुनगुनाउन थालेपछि साथ दिने थुप्रै वरिपरि आइसक्छन् । भीमफेदी कारागार भित्र भएका दुई गिटारका तारमा तामाङ र बिधान श्रेष्ठको औला रगडिँदा कारागारमा दैनिक नयाँ संगीत धुन सिर्जना हुन्छ ।

अपराध गरेको आरोपमा कारागार चलान भएका यहाँका चारसय कैदीबन्दी यही गिटारको धुनबाट सिर्जना भएका संगीत सुनेर आनन्द मान्छन् । तामाङ र श्रेष्ठले गितार बजाउँदै गर्दा दीपक कार्की, बिनोद रेग्मी, भुवन केसी, प्रकाश सुनार र दीपेश लामिछानेलगायत अन्यले गीत गाउँदै साथ दिन्छन् । तामाङ कारागार भित्रका मुख्य गायक र गिटारबादक हुन् ।
दुई बर्षअघि लागूऔषध मुद्दामा कारागार चलान भएपछ भीमफेदी आइपुगेका तामाङको प्रवेशसँगै कारागार संगीतमय हुन थालेको हो । कारागार भित्र गीत गाउने यो समूह देख्दा व्याण्डझैं लाग्छ । दिनहुँ सँग गीत गाउँने र संगीत भर्ने गर्दागर्दै उनीहरु खारिएको देखिन्छ । उनीहरुको सामूहिक स्वर गिटारको धुनले यसलाई प्रट्याउँछ ।
दिल्लीमा धर्मशास्त्रसम्बन्धी अध्ययन गरेका तामाङले जेल पर्नुअघि नै क्रिश्चियन धर्मसँग सम्बन्धित एल्बम निकालिसके । जेलमा बस्दा लेखेर संगीत गरेको दुई दर्जन गीतलाई एल्बममार्फत् सार्वजनिक गर्ने उनको धोको छ ।
उनीहरुले गाउँने राष्ट्रियता र मायाको भाव समेटिएको गीतले कारागारको कैदीबन्दीको मन छोएको छ । दिनभर गिटार समातेर संगीत सिर्जनामा व्यस्त हुने तामाङ र उनका समूहले गाएका गीत कैदीबन्दीको बेदना व्यक्त गर्ने साधन बनेका छन् ।
कारागारमा घन्किइरहने किन संसारमा लडाई र अन्याय छ ?, के सोचे के भयो ? जस्ता गीतले कैदीबन्दीको मन छोएको छ । चारैतिर अग्ला पर्खालले घेरिएको कारागारको वातावरण र यहाँको एक्लोपनाले थकित कैदीबन्दीको मन र मस्तिष्कमा संगीतले उर्जा भर्ने गरेको मुखय नाइके कार्की लुमडी कार्की बताउँछन् । कारागारको महिला वार्डमा राखिएका करिब चारसय कैदीबन्दीको लागि मनोरञ्जनको साधन भनेकै टीभी मात्रै हो ।