Friday, July 11, 2014

भेरिफाइड सेलिब्रिटी

नेपाली लोकदोहोरी गायिका मुना थापामगर र सुनिता दुलाललाई सायद अब नक्कली फेसबुक एकाउन्टको झन्झट हुने छैन किनकि गत साता फेसबुकले उनीहरू दुवैको फेसबुक फ्यान पेजलाई भेरिफाइड गरेको छ । फेसबुक पेज, वेबसाइट र यु ट्युबमा बलियो उपस्थिति जनाएका यी दुई गायिकाको पेज भेरिफाइड भएसँगै नेपालमा सेलिब्रिटीका लागि भेरिफाइड पेजको महइभ्व कत्तिको छ भन्ने चर्चा सुरु भएको छ । अरू नेपाली सेलिब्रिटीले यसबारे चासो राख्न थालेका छन् । दुवै गायिका फेसबुक पेजबाट बढी फाइदा लिनेमध्येमा पर्छन् ।

नेपालीहरूको बसोबास रहेको विश्वको प्राय: सबै देशमा पुगेकी गायिका दुलाल विदेशमा हुने आफ्नो अधिकांश कार्यक्रमको सम्झौता फेसबुकबाटै हुने गरेको अनुभव सुनाउँछिन् । 'मेरो नाममा एकाउन्ट खोल्दा मेरा प्रशंसकहरू झुक्किने अवस्था थियो,' दुलाल भन्छिन्, 'सायद अब त्यस्तो अवस्था हुने छैन ।' दुलालले यो वर्षको तीजमा क्यानडामा गर्ने कार्यक्रम पनि एक वर्षअघि फेसबुकबाटै सम्झौता भएको हो ।

चार वर्षअघि खोलिएको उनको फेसबुक फ्यान पेजमा ४ लाख ७४ हजार बढीले लाइक्स गरेका छन् । फेसबुकका कारण विदेशबाट आफूलाई कार्यक्रममा बोलाउन र सम्पर्क गर्न सजिलो भएको दुलालको धारणा छ । उनको फेसबुक फ्यान उनका एक शुभेच्छुकले बनाएर उनलाई दिएका हुन् । आफ्नो नाममा रहेको वेबसाइटसमेत शुभेच्छुकबाटै उपचार पाएको उनले बताइन् । उनी पेपल एकाउन्टबाट रकम लिने गरी विदेशमा एल्बमको बिक्रीसमेत गर्छिन् ।

फेसबुकले उनको गीत हिट बनाउन मात्रै होइन, उनको व्यापारमा समेत सघाएको छ । उनले विदेशमा जाँदा लगाएको र फोटो खिचेर फेसबुकमा राखेको पोसाकको डिजाइन मन पराउनेहरूलाई उनी आफ्नै बुटिकमार्फत कपडासमेत बिक्री गर्छिन् । उनी आफ्ना विदेशमा हुने विभिन्न कार्यक्रमको अपडेट, आफ्ना सेल्फी फोटोहरू र आफ्ना दैनिक गतिविधि फेसबुकमा अपडेट गर्छिन् । फेसबुक फ्यान पेजले सेलिब्रिटीलाई शुभेच्छुकसँग जोड्न मद्दत गर्ने दुलालको अनुभव छ ।

गायिका मुना थापामगर फेसबुकले आफ्नो गीतलाई चर्चित बनाउन मद्दत गरेको अनुभव राख्छिन् । एक दशकभन्दा बढी समयदेखि लोकदोहोरी गीतमा गाउन थालेकी थापाले हालसम्म झन्डै दुई हजार लोकदोहोरी गीत गाइसकेकी छन् । ४ लाख ५८ हजार बढी लाइक्स भएको फेसबुक पेज आफूले नभ्याएका बेला अपडेट गर्न उनले साथीलाई एडमिन बनाएकी छन् ।

आफ्नो गीत अरू टीभीमा प्रचार दिँदा बढी महँगो पर्ने भए पनि फेसबुकमार्फत प्रचार गर्दा बढी प्रभावकारी भएको उनको अनुभव छ । आफ्नो नक्कली फेसबुक एकाउन्टबाट हैरान थापालाई पेज भेरिफाइड भएपछि यो समस्या समाधान हुने आशा छ । भन्छिन्, 'मेरो नाममा एकाउन्ट बनाएको धेरै भेटेकी थिएँ । अब भेरिफाइड भएपछि यस्ता समस्या हट्ने आशा छ ।'

विदेशबाट नेपाली गायक-गायिकालाई कार्यक्रमका लागि बोलाउन फेसबुक प्रोफाइलमार्फत गायक-गायिकाबारे जानकारी लिने चलन बढ्दै गएको उनको अनुभव छ । 'हरेक गायक-गायिक वा सेलिब्रिटीले फेसबुक पेज बनाउनुभएको छ । त्यसलाई अपडेट राख्नु पनि त्यत्तिकै जरुरी रहेछ । हामीलाई कार्यक्रममा बोलाउनुअघि हामीले कस्ता-कस्ता गीत गाएका छौं र हामी कस्तो खालको मान्छे हौं भनेर फेसबुकमै हेरेर थाहा पाउन सजिलो हुन्छ,' उनले भनिन् । थापाले फेसबुक पेजमा मात्र होइन, यु ट्युब च्यानलमार्फत पनि आफ्ना गीत, विदेशमा भएका कार्यक्रमको भिडियो र एल्बम राखेकी छन् । उनको यु ट्युब च्यानल मुना थापामगरमा झन्डै चार हजार सब्सक्राइबर छन् । 'अब भिडियो र एल्बम बिक्री हुन छाडिसक्यो,' थापा भन्छिन्, 'फेसबुक र यु ट्युबबाटै अरूलाई जानकारी दिएर प्रचार गर्नुपर्ने हुन्छ ।' उनी आफ्ना दैनिक गतिविधि, आफ्ना नयाँ एल्बम, गीत, विदेशमा हुने कार्यक्रमबारे फेसबुकमार्फत आफ्ना शुभेच्छुकलाई जानकारी गराउँछिन् ।

फेसबुकले बीबीसी नेपाली सेवाका प्रमुख रवीन्द्र मिश्रको फेसबुक पेजलाई पनि भेरिफाइड गरेको छ । नेपाल प्रहरी, बीबीसी नेपाली सेवाको फेसबुक पेजलाई पनि यसअघि नै भेरिफाइड गरिसकेको थियो । विदेशमा बस्ने अन्य केही नेपालीको फेसबुक पेज भेरिफाइड भए पनि नेपालमै रहेर फेसबुक पेज भेरिफाइड हुने व्यक्ति भने औंलामा गन्न सकिने छन् ।

सुनिता दुलाल
फेसबुक : ४ लाख ७४ हजार बढी
यु ट्युब : एक हजार बढी
वेबसाइट : सुनितादुलालडटकम

घमुना थापामगर
फेसबुक : ४ लाख ५८ हजार बढी
यु ट्युब : झन्डै चार हजार सब्सक्राइबर
वेबसाइट : मुनामगरडटकम
हेल्लो शुक्रबारमा प्रकाशित