Friday, July 11, 2014

मोबाइलमै विश्वकप

विश्वकपमा हालसम्म नभएको मोबाइल प्रविधिको प्रयोग यो पटक हुनेछ । विश्वकपको २० औं संस्करण सुरु हुन केही दिन मात्रै बाँकी हुँदा गुगल र आईओएस स्टोरमा ब्राजिल विश्वकपको अपडेट दिने भन्दै एप्सहरू भित्रिन थालिसकेका छन् । यो वर्ष ब्राजिलमा हुने विश्वकपलाई लक्षित गर्दै फिफाले एक वर्ष अघि नै मोबाइल एप्स लन्च गरेको थियो । यसले संसारभर भइरहेको फुटबलको अपडेट दिन सुरु गरेको छ ।

अहिले यो एप्सको एन्ड्रोइड प्रयोगकर्तामाझ मात्रै १० लाखदेखि ५० लाख पटक डाउनलोड भएको गुगल प्ले स्टोरको तथ्यांक छ । यो विश्वकप लक्षित गरेर धेरै एप्सहरू लन्च भएका छन् । केही दिनअघि मात्रै एन्टी भाइरस उत्पादन गर्ने कम्पनी एभास्टले गुगल प्ले स्टोरमा विश्वकप अपडेट सम्बन्धी धेरै एप्सहरू नक्कली भएको पत्ता लगाएको छ । अनुसन्धानअनुसार धेरै एप्सहरूले ब्राजिल फुटबलको अपडेट दिने भन्दै विज्ञापन राखेर उपभोक्ता झुक्याएर पैसा कमाउने दाउमा छन् ।
फिफाको आधिकारिक एप्सबाहेक अन्य केही आधिकारिक एप्सले पनि विश्वकपको प्रत्यक्ष अपडेटको तथ्यांक दिने छन् । त्यसमध्ये गेम डेभलपर कम्पनी ईए स्पोट्र्सको फिफा १४ पनि विश्वकपको अपडेटका लागि आधिकारिक एप्स हो । यसले वास्तविक खेलको तथ्यांकसहित फेन्टासी खेलको अवसर पनि दिनेछ । विश्वकपको आधिकारिक अपडेटका लागि प्रयोग गर्न सकिने केही आधिकारिक एप्सहरू यस्ता छन्-
१) वन फुटबल ब्राजिल
खेलाडीको टि्वटर र न्युज फिडसमेत राखिएको एप्समा आफूलाई मन पर्ने टिमको अपडेटका लागि नोटिफिकेसनको सुविधा पनि छ । यस बाहेक प्रतियोगिताको तथ्यांक र विश्वकपको इतिहासको जानकारी समेत राखिएको छ ।
२) ईएसपीएन एफसी
खेलको समय अनुसार तालिका मिलाइएको छ भने खेलको अपडेट कुरिरहँदा टिम प्रोफाइल, खेल विश्लेषण पढ्ने सुविधासमेत छ ।
३) बीबीसी स्पोट्र्स
रिजल्ट, खेल तालिका, फिक्चर, अंक तालिका र कुन खेल कहाँ भइरहेको छ भन्ने तथ्यसहित यो एप्स धेरै व्यवस्थित लाग्छ । बीबीसीको आधिकारिक एप्स भएकाले तथ्यांकहरू धेरै हदसम्म विश्वसनीय र आधिकारिक हुन्छन् ।
४) युरो स्पोट्र्स
विश्वकपको ताजा समाचारका लागि यो पनि उपयोगी एप्स हो । हेडलाइन, ताजा हेडलाइन, पपुलर हेडलाइन र भिडियोका लागि छुट्टै सेक्सन भएकाले विश्वकपको विस्तृति समाचारका लागि यो उपयोगी हुन सक्छ ।
५) याहु स्पोट्र्स
एकै पटक धेरै खेल भइरहेको बेलामा आफूले चाहेको खेलको अपडेट लिन सकिन्छ । आफूलाई मन पर्ने टिम छानेर त्यसकै बारेमा बढी अपडेट लिन पनि सकिन्छ । आईप्याड प्रयोगकर्ताले भने ल्यान्डस्केभ भ्युमा मात्रै यो एप्स प्रयोग गर्न सक्छन् ।
६) लाइभस्कोर
विश्वकप बाहेक क्वालिफिकेसनको अपडेट समेत राखिएकाले प्रयोगकर्ताले अघिल्लो खेलको प्रदर्शनको आधारमा खेलको विश्लेषण गर्न सक्छन् ।
७) सोफा स्कोर (आईओएस)
आईओएसको प्रयोगकर्ताको लागि बनाइएको एप्सले विश्वकप बाहेक ४६ देशका अन्य १३ खेलको अपडेट पनि दिइरहेको हुन्छ । यस बाहेक विश्वकपको खेल अघि नै खेलको नतिजा अनुमान गर्न दिने सुविधा राखिएको छ ।
हेल्लो शुक्रबारमा प्रकाशित