Saturday, November 26, 2011

यौनकर्मी भन्दा ग्राहक बढी संक्रमित

बिजय तिमल्सिना




    हेटौंडा ।
यौनकर्मीभन्दा यसका ग्राहकमा बढी एचआइभी संक्रमण हुने गरेको तथ्यांक राष्ट्रिय एड्स तथा यौनरोग निवारण केन्द्रले सार्वजानिक गरेको छ । केन्द्रले पछिल्लो पटक साउन महिनामा प्रकाशित गरेको रिपोर्टमा पहिचान गरिएका एचआईभी संक्रमितमध्ये अधिकांश यौनकर्मी महिलाका ग्राहक छन् ।
    हालसम्म पहिचान गरिएका १८ हजार पाँचसय ३५ मध्ये ४५ प्रतिशत अर्थात् आठ हजार तीनसय व्यक्ति यौनकर्मीका ग्राहक हुन् । जसमध्ये आठहजार दुईसय पुरुष र एकसय चार जना महिला ग्राहक हुन् । एक बर्ष अघि संक्रमित यौनकर्मीको ग्राहकको संख्या सातहजार दुईसय रहेको पहिचान खुलेको थियो । एक बर्षमा यौनकर्मीका एक हजार ग्राहकमा संक्रमण भेटिएको केन्द्रको तथ्यांकले देखाएको छ । मकवानपुरमा हालसम्म एकसय ९६ जनामा एचआईभी संक्रमण भएको तथ्यांक छ ।
    मकवानपुर जिल्लामा करिब पाँचसय यौनकर्मी महिलाहरु पहिचान गरिएको एचआईभी रोकथामको लागि सक्रिय जीडब्लुपीका कार्यक्रम संयोजक श्याम बासुकलाले जानकारी  दिए ।
    परिवार नियोजन संघ मकवानपुरका प्रबन्धक मुरारी रैला यौनकर्मी महिलामा आएको चेतना र बानी  परिवर्तनले संक्रमण दर कम भएपनि यसका ग्राहकलाई सचेतना जरुरी रहेको औल्याउँछन् ।
    केन्द्रको तथ्यांकअनुसार गृहिणी महिलामा पनि एचआईभी संक्रमण दर बढेको देखाउँछ । हालसम्म नेपालका करिब पाँच हजार गृहिणीमा संक्रमण भएको तथ्यांकले देखाउँछ ।  एक बर्ष अघि एचआईभी संक्रमित गृहिणीको संख्या चारहजार दुईसय थियो । एक बर्षमा करिब आठसय गृहिणीहरु संक्रमित भएको तथ्यांकले देखाउँछ । प्रबन्धक रैला वैदेशीक रोजगारीबाट फर्किएका पति र संक्रमित पतिका कारण गृहिणीमा संक्रमण दर बढेको हुनसक्ने अनुमान गर्छन् ।
    केन्द्रको तथ्यांकअनुसार असुरक्षित सुई प्रयोगका कारण दुईहजार सातसय जनामा संक्रमण भएको तथ्यांक छ । जसमध्ये ६४ जना महिला छन् । नेपालमा स्वास्थ्य सर्वेक्षणमा आधिकारीक मानिएको इराले यही बर्ष काममाडौं र पोखरामा गरेको सर्वेक्षणमा अझैंपनि असुरक्षित सुई प्रयोग गरेर एचआईभी संक्रमण हुने घटनामा नसकिएको उल्लेख छ । इराले ६ सय ८५ जनामा गरेको सर्वेक्षणमा सुई प्रयोग गर्ने काठमाडौंका ६ प्रतिशतभन्दा बढीमा एचआईभीको संक्रमण भेटिएको थियो । पोखराका तीनसय ४५ जना सुई प्रयोगकर्ताहरुमाझ गरिएको सर्वेक्षणमा चार प्रतिशतभन्दा बढीमा संक्रमण भेटिएको थियो । जबकी यी दुवै शहरमा सन् २००४ मा गरिएको यस्तै सर्वेक्षणमा सहभागी सुई प्रयोगकर्तामध्ये क्रमशः ६८ प्रतिशत र २२ प्रतिशतमा संक्रमण भेटिएको थियो ।
    सोही सर्वेक्षणमा काठमाडौंका दुई प्रतिशत यौनकर्मी महिलामा नयाँ संक्रमा भेटिएको थियो भने पोखराका महिला यौनकर्मीमा यो दर तीन प्रतिशत थियो । सर्वेक्षणले यौनसम्पर्कको बेलामा कण्डमको प्रयोग गर्ने प्रचलन बढेपनि सन्तोषजनक नभएको देखाएको छ । काठमाडौंका ७३ प्रतिशत यौनकर्मीले मात्र सुरक्षित सम्पर्क गर्ने बताएका थिए । यो मामलामा पोखराका यौनकर्मी अझ कमजोर अर्थात छन् । उनीमध्ये ६१ प्रतिशतले मात्र सुरक्षित सम्पर्क राख्ने सर्वेक्षणको निश्कर्ष छ ।

Tuesday, November 22, 2011

गाविस सचिवलाई नासपातिको वाइन

चित्लाङ, ३ मंसिर ।
नियमित मासिक बैठकको निमित्त चित्लाङ पुगेका मकवानपुरका गाविस सचिवहरुलाई चित्लाङ गाविसमा भव्य स्वागत गरिएको छ । बैठकको लागि चित्लाङ वडा नं. ४ हाराहेटीस्थित गाविस कार्यालयमा आयोजित भेलामा पुगेका सचिवहरुलाई स्थानीयले बाजागाजा र फूलमालासहित स्वागत गरेका थिए । भेलापछि होमस्टेमा पुगेका पाहुनाहरुलाई यहाँका स्थानीयले नासपातिको वाइन, नेवारी परिकार र मालासहित स्वागत गरेका थिए ।
    ऐतिहासिक तथा धार्मिक महत्वसहित पर्यटकीय सम्भावना बोकेको चित्लाङ गाविसमा आएका गाविस सचिवहरुलाई गाविसकै होमस्टेमा बस्ने प्रबन्ध मिलाइएको छ । चित्लाङको सामुदायिक होमस्टेले आएका पाहुनाहरुको स्वागतको प्रबन्ध मिलाएको हो । गाविस सचिवहरुले प्रत्येक महिना हुने बैठक जिल्ला विकास समिति कार्यालयमा नगरी जिल्लाका फरक फरक पर्यठटकीय स्थलमा गर्ने निर्णय गरेअनुसार बैठक चित्लाङ गाविसमा राखिएको हो ।
    बैठककमा सहभागी हुन आएका स्थानीय विकास अधिकारी भुवनप्रकाश विष्ट, डिभिजन खानेपानी तथा सरसफाई कार्यालयका प्रमुख अरुण सिम्खडालगायत जिल्ला विकास समितिका कर्मचारी, सञ्चारकर्मीलगायतका टोलीलाई स्थानीयले भव्य स्वागत गरेका थिए । पाहुनाहरुलाई गाविस कार्यालयमा एक कार्यक्रमको आयोजना गरी स्वागत गरिएको हो । स्थानीय समझदारी बालक्लबका सदस्यहरुले स्वागत गित गाउँदै पाहुनाको स्वागत गरिएको थियो
    सामुदायिक होमस्टेका अध्यक्ष राधाकृष्ण बस्नेतले चित्लाङ पर्यटकीय सम्भावना बोकेको नयाँ स्थान भएको बताए । राजधानी काठमाडौंबाट करिब २२ किलोमिटरको दुरीमा रहेको चित्लाङमा पर्यटकको बासोबासको लागि होमस्टेको प्रबन्ध छ । यो सदरमुकाम हेटौंडाबाट ६० किलोमिटरको दुरीमा छ । यहाँका सात घरमा निर्माण गरिएको होमस्टेले करिब ६० पाहुना पाल्ने क्षमता राख्छन् । होमस्टेका पाहुनालाई फूलमाला, सगुको रुपमा नासपातिबाट बनाइएको रक्सी र नेवारी परिकारसहित स्वागत गर्ने गरिएको होमस्टेका सल्लाहकार बुद्धरत्न मानन्धरले बताए ।
    नेवार समुदायको बाहुल्यता रहेको चित्लाङ गाविस ऐतिहासिक चन्द्रागिरीको भन्ज्याङमा छ । यहाँका चन्द्रागिरी, भार्लस्वर पर्वत, अशोक चैत्य, स्वच्छन्द भैरव, तलेजु भवानी मन्दिर र कोट, सातधारा, नयाँ पौवा, सत्तल, त्रिपुरेश्वर, शिवालय, चपकेश्वर महादेव, प्राचीन गोपाली बस्ती, महामुनी एवम् नेपालकै सबैभन्दा ठूलो चीज उद्योगले पर्यटक लोभ्याउने हैसियत राख्छन् ।

होटलभन्दा कम छैनन् चित्लाङका होमस्टे

    चट्ट् पारेर मिलाइएको ओछ्यान । भुँइका हरिया कार्पेट । अनि जोसुकैको मन पनि जित्नसक्ने खालको मायालु व्यबहार । अनि, स्वादिलो नेवारी परिकार । साथमा हुनेछ, नासपाति र रक्तचन्दनबाट बनेको रक्सी । चित्लाङ गाविसमा निर्माण गरिएको होमस्टेका बिशेषता हुन् यी । चित्लाङको होमस्टे बस्न आइपुग्ने जो कोहीले पनि जिब्रो टोक्दै यसको व्यबस्थापन देखेर भन्ने गर्छन् – होटलभन्दा के कम छन् र चित्लाङको होमस्टे ।
    यहाँका सात घरमा बनाइएको होमस्टेमा ६० जना पाहुना अटाउन सक्छन् । जहाँ उनीहरुले न्यानो स्वागतसहित स्वादिलो खाना अनि मिठो निन्द्र पाउनेमा कुनै शंका छैन् । गाविसमा बुद्धरत्न मानन्धर, राधाकृष्ण बस्नेत, रामकृष्ण बलामी, अशोकसिंह ठकुरी, रामकृष्ण बलामी, लालबहादुर श्रेष्ठ, दलबहादुर गुरुङको घरमा अघिल्लो बर्षदेखि होमस्टे थालिएको हो ।
    होमस्टेका लागि जिल्ला विकास समितिले प्रत्येक घरलाई व्यबस्थापन खर्चबापत १० हजार रुपियाँ उपलब्ध गराएको थियो भने होम स्टे सञ्चालकहरुका लागि व्यबस्थापन र खाना पकाउने तालिमको व्यबस्था गरेको थियो । यहाँको होमस्टेमा मासिक औसत ३० जना पर्यटक आउने गरेको होमस्टे सञ्चालक बुद्धरत्न मानन्धरले जानकारी दिए । यहाँका होमस्टेमा
    होमस्टे सञ्चालनलाई प्रभावकारी बनाउन यहाँ सामुदायिक होमस्टेसमेत गठन भएको छ । यसले होमस्टेको मेनु बनाउने, रेट निर्धारण गर्ने, बिभिन्न संघसंस्थासँग सम्पर्क गरी पर्यंटक भित्र्याउन काम गर्दै आएको अध्यक्ष राधाकृष्ण बस्नेतले जानकारी दिए । सामुदायिक होमस्टेका सल्लाहकारसमेत रहेका मानन्धरका अनुसार यहाँका होमस्टेमा बस्नका लागि  फ्रेन्च, जर्मन र इटालीयन पर्यटकसहित बिद्यार्थीहरु पनि अवलोकन भ्रमणको लागि आउने गरेका छन् ।
    ऐतिहासिक, धार्मिक र साँस्कृतिक सम्पदाले धनी चित्लाङ गाविसमा चन्द्रागिरी, भार्लस्वर पर्वत, अशोक चैत्य, स्वच्छन्द भैरव, तलेजु भवानी मन्दिर र कोट, सातधारा, नयाँ पौवा, सत्तल, त्रिपुरेश्वर, शिवालय, चपकेश्वर महादेव, प्राचीन गोपाली बस्ती, महामुनी एवम् नेपालकै सबैभन्दा ठूलो चीज उद्योगजस्ता पर्यटकीय सम्भावना बोकेका क्षेत्र छन् ।
    मानन्धर पत्नी हिरादेवी पाहुनालाई नेवारी खानासहित स्वागत गर्ने गरेको बताउँछिन् । होमस्टेमा बस्नका लागि आउने पाहुनालाई सञ्चालकले फूलमालासहित नासपातिबाट बनेको रक्सी, अण्डासहित नेवारी शैलीमा स्वागत गर्छन् । चित्लाङ गाविसमा नेवार जातिको बाहुल्यता छ ।
    होमस्टेमा आउँदा खुशी लागेको जिल्ला विकास समितिका नायव सुब्बा किरण थापा बताउँछन् । यस्तो होमस्टे जिल्लाका अन्य पर्यटकीय स्थलमा समेत स्थापना हुनुपर्ने उनको धारणा छ । जिल्ला विकास समितिले जिल्लाको बज्रबाराही र गढी गाविसमा पनि होमस्टे सञ्चालनको लागि पहल गरेको भए पनि ति प्रभावकारी हुन सकेका छन् ।

Tuesday, November 1, 2011

हेटौंडामा मल्टिस्क्र्याप प्रोसेसिड्ड एरियाको अवधारणा

हेटौंडा/ नगरक्षेत्रका सबै टोलमा संकलित फोहोरबाट छुट्टै स्क्र्याप (कवाडी) छुट्याउने प्रयोजनका लागि मल्टिस्क्र्याप प्रोसेसिड्ड एरियाको अवधारणा अघि सारिएको छ ।
    मकवानपुरका स्क्र्याप व्यवसायीले शहरभरि फैलिएका स्क्र्याप व्यवसायस्थलले मानिस र अन्य जीवजनावरको स्वास्थ्यलाई विगारिरहेको भन्दै सबै व्यवसायस्थलहरुलाई एकै ठाउँमा राख्न स्पेशल स्क्र्याप जोन माग गरेका छन् । उनीहरुले वातावरण प्रदुषण नियन्त्रण तथा स्क्र्याप व्यवस्थापन समूहको पनि आवश्यकता महसुस गरेका छन् । आइरन तथा स्क्र्याप व्यवसायी संघ नेपालका अध्यक्ष बोमबहादुर राउतले हरेक पसलबाट निस्कने फोहोरको परिमाण र त्यसको विक्रीबाट हुने आय बराबरको कर छुटको व्यवस्था औंल्याए । उनले हरेक टोल विकास संस्थामा गल्ने र नष्ट हुने, नयाँ कच्चा पदार्थ बनाउन सकिने र कडाखालका स्क्र्याप संकलनका लागि ३ छुट्टै कन्टेनरको व्यवस्था गर्नु जरुरी रहेको बताए ।
    संघ महासचिव रामहरि धितालले भारतीय व्यवसायी भित्रिएको तथा कमिसन खोर र माफियाको चुड्डलबाट व्यवसायलाई मर्यादित बनाउनु चुनौतिपूर्ण रहेको बताए । उनले ‘कवाडी’ भनेर चिनिने व्यवसायीलाई सामाजिक रुपमा हेयका दृष्टिले हेर्ने गरिएको प्रति चिन्तित उनले राजनीतिक र गैरराजनीतिक समूहबाट स्क्र्याप व्यवसायीलाई डरधम्की र कुटपीट गर्ने गरेको आरोप लगाए ।
    मकवानपुर उद्योग वाणिज्य संघ अध्यक्ष अरुणराज सुमार्गीले ‘फोहोरबाट मोहर, प्रदुषणमुक्त शहर’ अभियान थालेका व्यवसायीलाई हेयको दृष्टिले हेर्न नहुने बताए ।
    नगरलाई केन्द्र बनाएर पाँचसय भन्दा बढी स्वरोजगार स्क्र्याप मजदुर र ३० भन्दा बढी व्यवसायस्थल संचालनमा रहेको संघको तथ्याड्ढ रहेको छ । नेपालमा त्यस्ता स्वरोजगार व्यवसायीको संख्या करिब ५० हजार रहेको अनुमान छ ।

भालुसंग जुध्दा आँखै फुट्यो

    मेरो नाम लालबहादुर वनकरिया हो । म ८२ वर्षअघि जन्मिएको हुँ । मेरो दिनचर्या सानैदेखि वनमा बित्यो । वनको छेउमा बनाइएको सानो छाप्रोमा जीवनका धेरै दिनहरु कटाएको छु । हाल म हाँडीखोला–७ मुसेधाममा सरकारले दिएको जग्गामा घर बनाएर बसेको छु । वि.सं. २०२८ सालतिर नजिकैको जंगलमा खरेटो काट्न जाँदा भालुले आक्रमण ग¥यो । भाग्ने ठाउँ नहुँदा भालुसंग जुधें । एक्कासि भालुले आक्रमण गर्दा दाहिने आँखा फुटाइदियो । हातमा रहेको हँसियाले हानेपछि बल्लतल्ल फुत्केर भागें । अनि ज्यान जोगियो ।
    आँखाको उपचार गर्न हेटौंडा अस्पताल गएको थिएँ ।
राम्रो उपचार नभएपछि वीरगञ्ज गएर करिब दुई हजार खर्च गरें । त्यहाँ उपचार गरेपनि आँखा पूरै नदेख्ने भएँ । त्यतिखेरदेखि एउटा आँखाको भरमा जीवन गुजार्दै आएको छु । जवानीमा चार वटा केटीसंग माया पिरति बसेको याद छ । जंगली जीवन भएपनि रमाइलो थियो । १९९० सालको भुकम्प आउँदा गाई चराएर ल्याउँदै थिएँ । आँखै अगाडि गाउँका
गारेघरहरु लडेको थियो । बाटोमा हिंडिरहेको गाई भक्लक भक्लक ढलेको देखेको थिएँ । अस्ति गएको भुकम्प त ज्यादै सानो हो ।
    वनमा बस्दा कुरिलो, खरेटो बेचेर आएको पैसाले नुनतेल गरिन्थ्यो । अहिले सरकारले दिएको ७ कठ्ठा जग्गामा उब्जिएको अन्न र घट्ट चलाएर आएको आयस्ताबाट दिनचर्या चलिरहेको छ । आफ्नो बालबच्चा छैन तर, झड्केलो छोराबाट जन्मिएको दुईवटा नाती छन् । उनीहरु पढ्न जाने भइसके । जीवन भनेको संघर्ष रहेछ । म अहिले यो अवस्थामा पनि खेतीपाती र सार्वजनिक घट्ट चलाइरहेको छु । जंगलको कन्दमुल बढी खाएर होला, अहिलेसम्म कुनै ठूलो रोग लागेको छैन । ८२ वर्षको उमेरमा पनि यति खटेर काम गर्दा वनकरिया समुदायलाई प्रेरणाको स्रोत भएको छु । जंगली जीवनदेखि सामाजिक जीवनमा आउँदा जीवनको भोगाइको नयाँ अनुभव संगालेको छु ।

मर्चुरी च्याम्बर प्रयोगबिहीन

    हेटौंडा / देशका जिल्लास्तर अस्पतालमध्ये हेटौंडामा मात्र रहेको मर्चुरी च्याम्बर (शवलाई चिसो बनाई सुरक्षित राख्ने उपकरण) लामो समयदेखि बिग्रिएर थन्किएको छ ।
    करिब अढाई बर्षअघि स्वास्थ्य मन्त्रालयले अनुदानस्वरुप उपलब्ध गराएको उक्त च्याम्बर बिग्रिएकै डेढ बर्ष नाघिसक्यो । अस्पताल वर्तमान व्यबस्थापनले चासो दिएर मर्मत नगर्दा उक्त च्याम्बर प्रयोगबिहीन छ । तत्कालिन अवस्थामा च्याम्बरलाई सामान्य घर बनाएर जडान गरिएको थियो । शव राखेबापत् केही शुल्क लिएर सो रकम च्याम्बरकै संरक्षणमा लगाउने नीति नबन्दा च्याम्बर प्रयोगबिहीन भएको हेटौंडा अस्पतालका तत्कालिन अध्यक्ष सरोज खनालले दाबी गरे ।
    आफूले मन्त्रालयसँग हारगुहार गरेर भन्सारबाहेक करिब ६ लाख  मूल्य पर्ने च्याम्बर मकवानपुरको जिल्ला अस्पतालमा ल्याए पनि हालको व्यबस्थापनले मर्मतमा सामान्य खर्च गर्न नसक्दा काम नलाग्ने अवस्थामा पुगेको उनको गुनासो छ । च्याम्बरमा हाल शव राख्ने गरिएको छ तर सुरक्षित भने छैन । च्याम्बरले काम नगर्दा दुर्गन्ध फैलिने गरेको छ । पोष्टमार्टमलाई सहज बनाउने च्याम्बर पुर्नप्रयोगमा ल्याउनुपर्ने खनालको सुझाव छ ।
    हेटौंडा अस्पताल बर्तमान अध्यक्ष प्रकाश पौडेलले च्याम्बरको कम्प्रेसर बिग्रिएको बताए । स्थानीय क्षेत्रमा च्याम्बर मर्मत गर्न सक्ने निश्चय हुन नसक्दा मर्मतमा अप्ठेरो परेको उनको भनाई छ । त्यहाँ शव राख्ने काम चाही हुने तर उक्त शव प्राविधिक दृष्टिकोणबाट सुरक्षित भने नहुने उनले स्वीकारे ।
    पूर्वपश्चिम महेन्द्र राजमार्गसँगै जोडिएर रहेको हेटौंडा अस्पतालमा पोष्टमार्टम गर्नुपर्ने दुर्घटनाका मृतक र घाइते बढी आउने गरेका छन् । तर, च्याम्बर बिग्रँदा पोष्टमार्टम गर्नुपर्ने शव राख्न कठिनाई भएको अस्पतालका प्राविधिकहरुको समेत गुनासो छ । च्याम्बर बिग्रिएपछि शव राख्दा दुर्गन्ध फैलिने भएकाले मास्क लगाएर मेशिन नजिक जाँदा पनि गन्हाउने एक प्राविधिकले बताए । मेशिन बिग्रिएको भएपनि शव राखिदैंआएको छ ।

एघार प्रकारका खानीमा एउटा मात्र प्रयोग

    हेटौंडा÷ मकवानपुरमा बिभिन्न खानीका गरी ११ वटा खानी पहिचान भएपनि एउटाबाट मात्र व्यबसायिक प्रयोजनको लागि उत्खनन् हु“दै आएको छ ।
    तामा, सिसा,जस्ता, युरेनियम, कोवाल्ट, निकेल, टङ्ग्स्टेन, टिन र काओलाइनजस्ता महत्वपूर्ण खानीक्षेत्र रहेपनि यहा“का दुई उद्योगले चुनढुंगामात्र प्रयोग गर्दैै आएका हुन् । हेटौडा सिमेन्ट उद्योग र नवस्थापित शिवम् सिमेन्ट उद्योगले भैंसे दोमान, ओखरे र सुकौरा क्षेत्रका खानीबाट चुनढुंगा उत्खनन् गर्दै आएका छन् ।
    सरकारले सन् १९९८ मा गरेको सर्वेक्षणअनुसार मकवानपुरको अर्खले, बाह्रघरे, गोलखाल्टे, सानोटार, इपा र आग्रा खोलामा तामा, दमार र बाह्रघरेमा सिसा तथा जस्ता अनि धियाल गाविसको तीनभंगालेमा युरेनियमको प्रशस्त भण्डार रहेको देखिएको छ । जुरिखेत, माण्डु, इपाखोला र दमारमा कोवाल्ट (गहना र रंग निर्माणको लागि प्रयोग गरिने एक प्रकारको धातु) , निकल (बिशेषतः स्टेनलेस स्टिल बनाउन प्रयोग हुने धातु) , टङ्ग्स्टेन (फिलामेन्ट चिममा प्रयोग हुने धातु) र टिन तथा चिसो क्षेत्र दामनमा काओलाइन (सेरामिक्स बनाउने एक प्रकारको सेतो माटो) प्रशस्त पाइन्छ । सरकारी तथ्यांकले  मकवानपुरमा काओलाइन करिब १ खर्ब ५६ अर्ब ५५ करोड टन सञ्चित रहेको देखिन्छ । तर, तिनीहरुको व्यबसायिक प्रयोगको लागि कुनै निकायले कुनै प्रकारका सोचाईसमेत बनाएका छैनन् ।
    जिल्ला विकास समितिकिा सामाजिक विकास अधिकृत रामकृष्ण थापाले ती खानी उत्खनन् गर्दा हुनसक्ने क्षतिको व्यबस्थापनको लागि जिविसले  चासो दिने गरेको बताए । खानीजन्य उत्पादनका बारेमा जिविसको आवधिक  योजना गर्दा मौखिक चर्चा चले पनि निर्णय नभएको उनले जनाए । उनका अनुसार सबै प्रकारका खानीको अध्ययन गर्नैै बा“की छ । खानीजन्य उत्पादन व्यबसायिकरुपमा उत्खनन्योग्य छ वा छैनन् भन्ने बारे थप अध्ययन र अनुसन्धान जरुरी रहेको थापाले औंल्याए । आर्थिक वर्ष २०६२÷०६३ देखि हालसम्म जिल्ला विकास समितिले खानी रोयल्टी पाउन सकेको छैन । उत्खनन् अनुमति खानी विभागले दिने भएका कारण मकवानपुर जिविस रोयल्टीविहीन बन्न पुगेको हो ।
    युरेनियम विकिरण चुहि“दा जिल्लाको पूर्वी क्षेत्रमा मानवीय स्वास्थ्यमा गम्भीर प्रभाव पर्दै आएको छ । क्यान्सर र छालाजन्य रोगको जोखिममा विशेषतः बालबालिका र बृद्ध पीडित बन्दै आएको स्थानीयबासीन्दाले पटकपटक गुनासो गरेका छन् ।