Tuesday, November 22, 2011

गाविस सचिवलाई नासपातिको वाइन

चित्लाङ, ३ मंसिर ।
नियमित मासिक बैठकको निमित्त चित्लाङ पुगेका मकवानपुरका गाविस सचिवहरुलाई चित्लाङ गाविसमा भव्य स्वागत गरिएको छ । बैठकको लागि चित्लाङ वडा नं. ४ हाराहेटीस्थित गाविस कार्यालयमा आयोजित भेलामा पुगेका सचिवहरुलाई स्थानीयले बाजागाजा र फूलमालासहित स्वागत गरेका थिए । भेलापछि होमस्टेमा पुगेका पाहुनाहरुलाई यहाँका स्थानीयले नासपातिको वाइन, नेवारी परिकार र मालासहित स्वागत गरेका थिए ।
    ऐतिहासिक तथा धार्मिक महत्वसहित पर्यटकीय सम्भावना बोकेको चित्लाङ गाविसमा आएका गाविस सचिवहरुलाई गाविसकै होमस्टेमा बस्ने प्रबन्ध मिलाइएको छ । चित्लाङको सामुदायिक होमस्टेले आएका पाहुनाहरुको स्वागतको प्रबन्ध मिलाएको हो । गाविस सचिवहरुले प्रत्येक महिना हुने बैठक जिल्ला विकास समिति कार्यालयमा नगरी जिल्लाका फरक फरक पर्यठटकीय स्थलमा गर्ने निर्णय गरेअनुसार बैठक चित्लाङ गाविसमा राखिएको हो ।
    बैठककमा सहभागी हुन आएका स्थानीय विकास अधिकारी भुवनप्रकाश विष्ट, डिभिजन खानेपानी तथा सरसफाई कार्यालयका प्रमुख अरुण सिम्खडालगायत जिल्ला विकास समितिका कर्मचारी, सञ्चारकर्मीलगायतका टोलीलाई स्थानीयले भव्य स्वागत गरेका थिए । पाहुनाहरुलाई गाविस कार्यालयमा एक कार्यक्रमको आयोजना गरी स्वागत गरिएको हो । स्थानीय समझदारी बालक्लबका सदस्यहरुले स्वागत गित गाउँदै पाहुनाको स्वागत गरिएको थियो
    सामुदायिक होमस्टेका अध्यक्ष राधाकृष्ण बस्नेतले चित्लाङ पर्यटकीय सम्भावना बोकेको नयाँ स्थान भएको बताए । राजधानी काठमाडौंबाट करिब २२ किलोमिटरको दुरीमा रहेको चित्लाङमा पर्यटकको बासोबासको लागि होमस्टेको प्रबन्ध छ । यो सदरमुकाम हेटौंडाबाट ६० किलोमिटरको दुरीमा छ । यहाँका सात घरमा निर्माण गरिएको होमस्टेले करिब ६० पाहुना पाल्ने क्षमता राख्छन् । होमस्टेका पाहुनालाई फूलमाला, सगुको रुपमा नासपातिबाट बनाइएको रक्सी र नेवारी परिकारसहित स्वागत गर्ने गरिएको होमस्टेका सल्लाहकार बुद्धरत्न मानन्धरले बताए ।
    नेवार समुदायको बाहुल्यता रहेको चित्लाङ गाविस ऐतिहासिक चन्द्रागिरीको भन्ज्याङमा छ । यहाँका चन्द्रागिरी, भार्लस्वर पर्वत, अशोक चैत्य, स्वच्छन्द भैरव, तलेजु भवानी मन्दिर र कोट, सातधारा, नयाँ पौवा, सत्तल, त्रिपुरेश्वर, शिवालय, चपकेश्वर महादेव, प्राचीन गोपाली बस्ती, महामुनी एवम् नेपालकै सबैभन्दा ठूलो चीज उद्योगले पर्यटक लोभ्याउने हैसियत राख्छन् ।

Categories: