Tuesday, November 1, 2011

भालुसंग जुध्दा आँखै फुट्यो

    मेरो नाम लालबहादुर वनकरिया हो । म ८२ वर्षअघि जन्मिएको हुँ । मेरो दिनचर्या सानैदेखि वनमा बित्यो । वनको छेउमा बनाइएको सानो छाप्रोमा जीवनका धेरै दिनहरु कटाएको छु । हाल म हाँडीखोला–७ मुसेधाममा सरकारले दिएको जग्गामा घर बनाएर बसेको छु । वि.सं. २०२८ सालतिर नजिकैको जंगलमा खरेटो काट्न जाँदा भालुले आक्रमण ग¥यो । भाग्ने ठाउँ नहुँदा भालुसंग जुधें । एक्कासि भालुले आक्रमण गर्दा दाहिने आँखा फुटाइदियो । हातमा रहेको हँसियाले हानेपछि बल्लतल्ल फुत्केर भागें । अनि ज्यान जोगियो ।
    आँखाको उपचार गर्न हेटौंडा अस्पताल गएको थिएँ ।
राम्रो उपचार नभएपछि वीरगञ्ज गएर करिब दुई हजार खर्च गरें । त्यहाँ उपचार गरेपनि आँखा पूरै नदेख्ने भएँ । त्यतिखेरदेखि एउटा आँखाको भरमा जीवन गुजार्दै आएको छु । जवानीमा चार वटा केटीसंग माया पिरति बसेको याद छ । जंगली जीवन भएपनि रमाइलो थियो । १९९० सालको भुकम्प आउँदा गाई चराएर ल्याउँदै थिएँ । आँखै अगाडि गाउँका
गारेघरहरु लडेको थियो । बाटोमा हिंडिरहेको गाई भक्लक भक्लक ढलेको देखेको थिएँ । अस्ति गएको भुकम्प त ज्यादै सानो हो ।
    वनमा बस्दा कुरिलो, खरेटो बेचेर आएको पैसाले नुनतेल गरिन्थ्यो । अहिले सरकारले दिएको ७ कठ्ठा जग्गामा उब्जिएको अन्न र घट्ट चलाएर आएको आयस्ताबाट दिनचर्या चलिरहेको छ । आफ्नो बालबच्चा छैन तर, झड्केलो छोराबाट जन्मिएको दुईवटा नाती छन् । उनीहरु पढ्न जाने भइसके । जीवन भनेको संघर्ष रहेछ । म अहिले यो अवस्थामा पनि खेतीपाती र सार्वजनिक घट्ट चलाइरहेको छु । जंगलको कन्दमुल बढी खाएर होला, अहिलेसम्म कुनै ठूलो रोग लागेको छैन । ८२ वर्षको उमेरमा पनि यति खटेर काम गर्दा वनकरिया समुदायलाई प्रेरणाको स्रोत भएको छु । जंगली जीवनदेखि सामाजिक जीवनमा आउँदा जीवनको भोगाइको नयाँ अनुभव संगालेको छु ।