Tuesday, November 1, 2011

एघार प्रकारका खानीमा एउटा मात्र प्रयोग

    हेटौंडा÷ मकवानपुरमा बिभिन्न खानीका गरी ११ वटा खानी पहिचान भएपनि एउटाबाट मात्र व्यबसायिक प्रयोजनको लागि उत्खनन् हु“दै आएको छ ।
    तामा, सिसा,जस्ता, युरेनियम, कोवाल्ट, निकेल, टङ्ग्स्टेन, टिन र काओलाइनजस्ता महत्वपूर्ण खानीक्षेत्र रहेपनि यहा“का दुई उद्योगले चुनढुंगामात्र प्रयोग गर्दैै आएका हुन् । हेटौडा सिमेन्ट उद्योग र नवस्थापित शिवम् सिमेन्ट उद्योगले भैंसे दोमान, ओखरे र सुकौरा क्षेत्रका खानीबाट चुनढुंगा उत्खनन् गर्दै आएका छन् ।
    सरकारले सन् १९९८ मा गरेको सर्वेक्षणअनुसार मकवानपुरको अर्खले, बाह्रघरे, गोलखाल्टे, सानोटार, इपा र आग्रा खोलामा तामा, दमार र बाह्रघरेमा सिसा तथा जस्ता अनि धियाल गाविसको तीनभंगालेमा युरेनियमको प्रशस्त भण्डार रहेको देखिएको छ । जुरिखेत, माण्डु, इपाखोला र दमारमा कोवाल्ट (गहना र रंग निर्माणको लागि प्रयोग गरिने एक प्रकारको धातु) , निकल (बिशेषतः स्टेनलेस स्टिल बनाउन प्रयोग हुने धातु) , टङ्ग्स्टेन (फिलामेन्ट चिममा प्रयोग हुने धातु) र टिन तथा चिसो क्षेत्र दामनमा काओलाइन (सेरामिक्स बनाउने एक प्रकारको सेतो माटो) प्रशस्त पाइन्छ । सरकारी तथ्यांकले  मकवानपुरमा काओलाइन करिब १ खर्ब ५६ अर्ब ५५ करोड टन सञ्चित रहेको देखिन्छ । तर, तिनीहरुको व्यबसायिक प्रयोगको लागि कुनै निकायले कुनै प्रकारका सोचाईसमेत बनाएका छैनन् ।
    जिल्ला विकास समितिकिा सामाजिक विकास अधिकृत रामकृष्ण थापाले ती खानी उत्खनन् गर्दा हुनसक्ने क्षतिको व्यबस्थापनको लागि जिविसले  चासो दिने गरेको बताए । खानीजन्य उत्पादनका बारेमा जिविसको आवधिक  योजना गर्दा मौखिक चर्चा चले पनि निर्णय नभएको उनले जनाए । उनका अनुसार सबै प्रकारका खानीको अध्ययन गर्नैै बा“की छ । खानीजन्य उत्पादन व्यबसायिकरुपमा उत्खनन्योग्य छ वा छैनन् भन्ने बारे थप अध्ययन र अनुसन्धान जरुरी रहेको थापाले औंल्याए । आर्थिक वर्ष २०६२÷०६३ देखि हालसम्म जिल्ला विकास समितिले खानी रोयल्टी पाउन सकेको छैन । उत्खनन् अनुमति खानी विभागले दिने भएका कारण मकवानपुर जिविस रोयल्टीविहीन बन्न पुगेको हो ।
    युरेनियम विकिरण चुहि“दा जिल्लाको पूर्वी क्षेत्रमा मानवीय स्वास्थ्यमा गम्भीर प्रभाव पर्दै आएको छ । क्यान्सर र छालाजन्य रोगको जोखिममा विशेषतः बालबालिका र बृद्ध पीडित बन्दै आएको स्थानीयबासीन्दाले पटकपटक गुनासो गरेका छन् ।
   
Categories: ,