Tuesday, November 1, 2011

मर्चुरी च्याम्बर प्रयोगबिहीन

    हेटौंडा / देशका जिल्लास्तर अस्पतालमध्ये हेटौंडामा मात्र रहेको मर्चुरी च्याम्बर (शवलाई चिसो बनाई सुरक्षित राख्ने उपकरण) लामो समयदेखि बिग्रिएर थन्किएको छ ।
    करिब अढाई बर्षअघि स्वास्थ्य मन्त्रालयले अनुदानस्वरुप उपलब्ध गराएको उक्त च्याम्बर बिग्रिएकै डेढ बर्ष नाघिसक्यो । अस्पताल वर्तमान व्यबस्थापनले चासो दिएर मर्मत नगर्दा उक्त च्याम्बर प्रयोगबिहीन छ । तत्कालिन अवस्थामा च्याम्बरलाई सामान्य घर बनाएर जडान गरिएको थियो । शव राखेबापत् केही शुल्क लिएर सो रकम च्याम्बरकै संरक्षणमा लगाउने नीति नबन्दा च्याम्बर प्रयोगबिहीन भएको हेटौंडा अस्पतालका तत्कालिन अध्यक्ष सरोज खनालले दाबी गरे ।
    आफूले मन्त्रालयसँग हारगुहार गरेर भन्सारबाहेक करिब ६ लाख  मूल्य पर्ने च्याम्बर मकवानपुरको जिल्ला अस्पतालमा ल्याए पनि हालको व्यबस्थापनले मर्मतमा सामान्य खर्च गर्न नसक्दा काम नलाग्ने अवस्थामा पुगेको उनको गुनासो छ । च्याम्बरमा हाल शव राख्ने गरिएको छ तर सुरक्षित भने छैन । च्याम्बरले काम नगर्दा दुर्गन्ध फैलिने गरेको छ । पोष्टमार्टमलाई सहज बनाउने च्याम्बर पुर्नप्रयोगमा ल्याउनुपर्ने खनालको सुझाव छ ।
    हेटौंडा अस्पताल बर्तमान अध्यक्ष प्रकाश पौडेलले च्याम्बरको कम्प्रेसर बिग्रिएको बताए । स्थानीय क्षेत्रमा च्याम्बर मर्मत गर्न सक्ने निश्चय हुन नसक्दा मर्मतमा अप्ठेरो परेको उनको भनाई छ । त्यहाँ शव राख्ने काम चाही हुने तर उक्त शव प्राविधिक दृष्टिकोणबाट सुरक्षित भने नहुने उनले स्वीकारे ।
    पूर्वपश्चिम महेन्द्र राजमार्गसँगै जोडिएर रहेको हेटौंडा अस्पतालमा पोष्टमार्टम गर्नुपर्ने दुर्घटनाका मृतक र घाइते बढी आउने गरेका छन् । तर, च्याम्बर बिग्रँदा पोष्टमार्टम गर्नुपर्ने शव राख्न कठिनाई भएको अस्पतालका प्राविधिकहरुको समेत गुनासो छ । च्याम्बर बिग्रिएपछि शव राख्दा दुर्गन्ध फैलिने भएकाले मास्क लगाएर मेशिन नजिक जाँदा पनि गन्हाउने एक प्राविधिकले बताए । मेशिन बिग्रिएको भएपनि शव राखिदैंआएको छ ।
Categories: