Friday, December 20, 2013

डेस्टिनेसन घ्याम्पे डाँडा

काठमाडौ, कार्तिक ७ -जहाँबाट उपत्यका तीनतिर झलमल्ल बलेको देखिन्छ । हवाईजहाजहरू आफैं
नजिकबाट पुतलीझैं पिलपिल गर्दै उड्छन् र ओर्लन्छन् । जहाँबाट टल्किएको हिमाल देखिन्छ । एक ठाउँमा उभिएर उदाउँदो र अस्ताउँदो सूर्य भेटिन्छ । लाग्ला, निकै अग्लो र टाढाको ठाउँबाट मात्रै यस्तो दृश्य हेर्न सम्भव होला । तर, उपत्यकाको उचाइभन्दा केही अग्लो डाडोमा उक्लिँदा यी सबै कुराको अनुभव एकै पटक गर्न पाइन्छ ।

सूर्योदय र सूर्यास्त हेर्ने चाहना भएका धेरै जना सूर्यविनायकबाट २० किलोमिटर टाढा नगरकोट पुग्ने गर्छन् । तर, सूर्यविनायकबाट साढे चार किलोमिटरको उकालो चढेपछि पुगिने घ्याम्पे डाँडो नगरकोटभन्दा कम छैन ।

घ्याम्पे डाँडो अहिले विशेषतः तन्नेरीमाझ चर्चित छ ।


काठमाडौं उपत्यकाको औसत उचाइ समुद्री सतहबाट एक हजार एक सय मिटर छ । काठमाडौं उपत्यकाभन्दा ८ सय मिटर बढी उचाइ भएको घ्याम्पे डाँडा पुग्दा भने जो कोहीलाई सयौं तल्लाको भ्यू टावर चढेको अनुभूति हुन्छ । डाँडाबाट देखिने काठमाडौं उपत्यकाको सुन्दर दृश्यले यस्तो आभास गराउँछ । यस्तै विशेषताले दैनदिनै दर्जनौं मोटरसाइकल घ्याम्पे डाँडा पुग्न उक्लिइरहेका हुन्छन् ।

भ्यालीको भ्यू हेर्न भन्दै स्वयम्भू उक्लिनेहरूको लागि पनि यो ठाउँ विकल्प हुन सक्छ । नजिकै देखिने कञ्चनजंगा, मनास्लु, धौगागिरि, जुगल, लाक्पादोर्जेजस्ता सेतै टल्किने  हिमालले डाँडाको शोभा बढाएको छ । यहाँ पुगेपछि थाहा हुन्छ, उपत्यकालाई हिमालले कसरी घेरेको छ । चर्चामा नआए पनि घ्याम्पे डाँडा तन्नेरीको गन्तव्य बन्दै छ । सानो तामाङ बस्ती भएको सुन्दर डाँडाको पारिलो घाम र सिरसिरे हावामा नलठि्ठने सायदै होलान् ।

अरू बाटोबाट पुगिने फुलचौकी, पनौती, बाघभैरव र रानीकोट गढीजस्ता प्रसिद्ध ठाउँ यही बाटो हिँड्दै गए पनि हुन्छ । बाक्लो जंगलको बीचमा बनेको कच्ची बाटो छिचोलेपछि दुईपांग्रे र चारपंाग्रे डाडैमा पुग्न सक्छन् । प|mेस हुन थोरै समय छुट्याउनेका लागि पनि यो सजिलो ठाउँ भएको छ ।

'यो डाँडैभरि हीरा फलेको छ', घ्याम्पे डाँडामा होटल सञ्चालन गरिरहेका रामजी अवाल -४०), भन्छन्, 'आधा उचाइ भएर पनि नगरकोटको प्रतिस्पर्धी बन्न सक्छ ।' डाँडा तल रहेको बाक्लो जंगलबाट उड्ने थरीथरीका चरा यसको अर्को विशेषता हो । 'यहाँ आएपछि त्यसै आनन्द आउँछ,' बाइक दौडाउँदै घ्याम्पे डाँडा पुगेका दीपेन श्रेष्ठले रूचि बदलेका छन्, 'पहिला फुर्सदमा अन्तै जान्थें, अहिले यता आउँछु ।'

घ्याम्पे डाँडाको वारि र पारि देखिने सूर्योदय र सूर्यास्तको दृश्यले पनि यहाँको महत्त्व थपेको छ । लाक्पा दोर्जे र गणेश हिमालमा सूर्यको किरण पर्दा डाँडाबाट मनमोहक दृश्य देखिन्छ । राति उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुर सी आकारमा झलमल्ल बल्छन् । अब सुरु हुने जाडो याममा फुल्न काफल र लालीगुराँसका बोट तयारी अवस्थामा छन् ।

'उपत्यका नजिकैबाट हिमाल हेर्न चाहनेका लागि यो जत्तिको अर्को ठाउँ देखेको छैन्,' अवाल भन्छन्, 'डाँडामा अग्लो भ्यू टावर राख्न पाए सुनमा सुगन्ध हुने थियो ।' पानीको अभाव भएको डाँडामा पहिला माटोको घैंटो राख्ने गरिएकाले यसको नाम घ्याम्पे डाँडा रहन गएको हो । डाँडाबाट पारी बुद्ध सुतिरहेको जस्तो आकृति देखिने पहाड स्लिपिङ बुद्धको नामले चिनिन्छ ।
(हेल्लो शुक्रबारमा प्रकाशित)