Sunday, December 15, 2013

भोलिका म्यानेजर

काठमाडौ, भाद्र २७ -ग्लोबल आईएमई बैंकमा २ महिना इन्टर्नसिप गरेका काठमाडौंस्थित सामाखुसीका
'काम गर्दा थाहा भो, बाहिरी कुरा कलेजको कोर्ससँग धेरै रिलेभेन्ट छैन रै'छ,' उनले अनुभव सुनाए, 'अचेल बैंकका धेरै काम कम्प्युटर सफ्टवेयरले गर्दा रहेछन् । हामीले कलेजमा गर्ने जस्तो हिसाब गर्नै नपर्ने ।'
उनको बीबीए अझै २ सेमेस्टरपछि मात्रै सकिन्छ । बाँकी सेमेस्टर सिध्याउन अब एक वर्ष लाग्छ ।  त्यसपछि उनी विभिन्न बैंकका लागि 'मिडिल क्लास' म्यानेजर हुन क्वालिफिकेसन पुग्छ ।

'कामको जिरो नलेज भएकालाई कसैले पनि जागिर दिँदैन,' इन्भेस्टमेन्ट बैंकमा २ महिने इन्टर्नसिप सिध्याएकी रोजिना लुइँटेल प्रस्ट छिन्, 'त्यसैले इन्टर्न गर्‍यो भने सजिलो हुन्छ ।' इन्टर्न अवधिमा बैंकको शाखा-शाखा चहारेपछि उनलाई थाहा भयो- बैंकको सिस्टम, पोजिसन, ड्युटीको तरिका यस्तो हुँदो रै'छ । बैंकमा काम गर्दा अन्य कर्मचारीले सिकाएको सीप, ३-४ जना कस्टमरसँग एकै पटक गरेको 'डिल', कोही ग्राहकले रिसाएर गरेको व्यवहार र कसैले खुसी भएर दिएको धन्यवाद जम्मै उनले अहिले पनि भुलेकी छैनन् ।

'इन्टर्न गर्दा साह्रै मज्जा आयो,' उनी सुनाउँदा पनि खुसी देखिन्थिन्, 'सायद सबैले सहयोग गर्नु भएकाले होला ।' उनले कामको अनुभवबाहेक बैंकका कर्मचारीको कामप्रतिको डेडिकेसन, रियल जब भनेको के हो, स्टाफ लेयरबारे पनि जानकारी लिएकी छन् । जागिर गर्नुअघि नै यो उनले लिएको एडभान्टेज हो ।
इन्टर्नसिप नयाँ पीढीलाई काम सिक्ने अवसर हो । कलेजका विद्यार्थीले आफूले पढेको विषय सम्बन्धित कम्पनी तथा संघसंस्थामा गएर केही समयका लागि काम गरेर सिक्ने गर्छन्, जसले गर्दा उनीहरूले पढेको सिद्धान्त व्यवहारमा लागू गर्न मद्दत पुग्छ । सिद्धान्त र व्यावहारिक पक्षको भिन्नता थाहा हुन्छ । यस्ता काम गर्ने व्यक्तिहरूलाई इन्टर्न भनिन्छ । बोलीचालीमा इन्टर्नसिप गर्नुलाई नै इन्टर्न भन्ने चलन छ ।

कुनै विषय पढेकाले त्यही विषयमा जान्नका लागि काम गर्ने भएकाले यसलाई कार्य अनुभव पनि भन्न सकिन्छ । यसबाट नयाँ पुस्ताले व्यावहारिक ज्ञान लिन पाउनुका साथै भविष्यका लागि दक्ष जनशक्ति तयार हुन्छ ।

इन्टर्नसिप गर्नेले पनि छोटो समय काम गर्दा आफूले पढेको विषयलाई व्यावहारिक रूपमा लागू गर्न आफ्नो क्षमता र दक्षता थाहा पाउँछन् । इन्टर्न गर्दागर्दै आफ्नो विषयको कुन क्षेत्रमा रुचि छ भन्ने कुरा थाहा पाउन सक्छ । जस्तो बीबीए गरेर बैंकमा इन्टर्नसिप गर्न गएका व्यक्तिले निश्चित अवधिमा आफ्नो लोन, क्यास, कस्टमर केयर, मार्केटिङजस्ता एक क्षेत्र मन पराउन सक्छ र भविष्यमा आफूलाई त्यसैमा केन्दि्रत गर्ने गरी तयारी गर्न पाउँछ ।

व्यावहारिक शिक्षाको चर्चा सुरु भएपछि नेपालमा पनि इन्टर्नसिपको प्रचलन बढिरहेको छ । विभिन्न विषय पढ्नेहरूले आ-आफ्नो विषय अनुसारको कम्पनी, संघ-संस्था खोजेर केही अवधिका लागि कामको अनुभव लिन थालेका छन् । कसैले थोरै पैसा लिएर र कसैले निःशुल्क कामको अनुभव लिइरहेका हुन्छन् ।

व्यवस्थापन संकायका विद्यार्थीलाई व्यावहारिक अभ्यास गराउने भन्दै अहिले ब्याचलर इन बिजनेस इस्टडिज (बीबीएस) र मास्टर्स इन बिजनेस इस्टडिज (एमबीए) को साटो ब्याचलर इन बिजनेस एडमिनिस्ट्रेसन (बीबीए) र मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेसन (एमबीए) को अवधारणा आएपछि यो क्षेत्रमा इन्टर्नसिपको महत्त्व बढेको छ ।

त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालय आबद्ध विभिन्न क्याम्पसहरूले एमबी र बीबीए कोर्सहरू पढाइरहेका छन् । यस्ता विद्यार्थीको इन्टर्नसिपका लागि सहरका विभिन्न बैंकहरू सहयोगी बन्दै आएका छन् ।

बीबीए अन्तिम सेमेस्टरको रिजल्ट कुर्दै गरेकी महालक्ष्मीस्थानकी शिक्षा न्यौपानेले बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकको शाखामा गरेको इन्टर्नसिप भर्खरै सकिन् । आफ्नो घरदेखि बैंकसम्म र्फमल ड्रेसमा आउजाउ गर्दा उनलाई साँच्चै जागिर खाएझैं अनुभव भयो । यो अनुभवले उनमा 'म्याचुरिटी' थपिएको छ । 'इन्टर्नसिप चैं भविष्यमा जबका लागि पि्रपेरेसनजस्तो हुने रै'छ,' उनले सुनाइन्, 'प्राक्टिकल नलेज चैं धेरै भयो ।' इन्टर्न भएर काम गर्दा उनले बैंकको पोजिसनअनुसारको काम, स्टाफ ड्युटी, स्पेज म्यानेजमेन्टजस्ता व्यावहारिक कुरा थाहा पाइन्, जुन उनले २२ वर्षको उमेरसम्म कतैबाट थाहा पाएकी थिइनन् ।

नेपाल बैंक लिमिटेडको योजना शाखामा इन्टर्न बनेका भुवन न्यौपाने, २३, निकै अनुभवी कर्मचारीझैं कुरा गर्छन् । योजना शाखाबाट चेन अफ कमान्ड, कार्य विभाजन, तनाव व्यवस्थापन, कामको प्राथमिकताजस्ता कुरामा अनुभव बटुलेपछि उनी भविष्यका लागि विश्वस्त देखिन्छन् । 'अब काका र मामाको सोर्सफोर्सबिना नै बैंकको जबमा छानिन सक्छु जस्तो लाग्छ,' उनले सुनाए । मार्केटिङमा इन्ट्रेस्टेड उनलाई बैंकको योजना शाखामा २ महिना खुम्चिनुपर्दा भने अलि चित्त बुझेको रहेनछ । 'अब पाइयो भने फेरि इन्टर्नसिप गर्छु,' उनले इच्छा सुनाए ।

भुवनजस्तै नेपाल बैंकमै इन्टर्न बनेकी सुस्मिता वाग्ले, २२, ले पनि एकाउन्ट सेक्सनमा बसेर धेरै दिमाग खियाइन् । आफूले कक्षामा सिकेको हिसाबका थ्योरी व्यवहारमा प्रयोग गरिन् । उनलाई आफूले पढेको थ्योरी व्यवहारमा लागू गर्न पाएकोमा खुसी लागेको छ । एकाउन्ट डिपार्टमेन्टको कर्मचारी तलब फाँटमा २ महिना बसेकी उनलाई अब तलब र भत्ताको हिसाबकिताब गर्ने सजिलो तरिका कण्ठस्तै भएको छ ।

यी तन्नेरीहरू २ सय माक्र्सको परीक्षाका लागि अब्लिगेसनका रूपमा इन्टर्न गएका थिए । अब्लिगेसन नभएको भए के उनीहरू जान्थे होलान् त दुःख गरीगरी ? 'किन नजानु, जान्थ्यौं,' रोजिना भन्छिन्, 'यो सिक्ने अवसर हो ।' उनको भनाइमा शिक्षा, भुवन र सुस्मिता पनि सहमत छन् । 'इन्टर्नसिपमा आफैं अग्रसर बन्नुपर्छ अनि मात्रै सिकिन्छ,' विवेकको अनुभव यस्तो छ, 'चुप लागेर बस्यो भने केही सिकिन्न ।'

'मिडिल क्लास म्यानेजर' को क्वालिफिकेसन लिएर बैंकमा इन्टर्नसिप गर्न गएका यी तन्नेरीले सुरुमा के सिके त ? 'इन्टर्नसिपमा म्यानेजरले जस्तो काम त गर्न पाइन्न,' रोजिनाले दुःखेसो गरिन्, 'स-साना कुरा सिकाइन्छ ।' स-साना कुरा सिक्न पाएकोमा शिक्षा भने खुसी व्यक्त गर्छिन्, 'म्यानेजर हुने व्यक्तिले पनि त स-साना कुरा जान्नुपर्छ नि,' उनको धारणा निकै पोजेटिभ छ, 'कुन ग्राहकसँग कस्तो डिल गर्ने ?, फोटोकपी, कसरी गर्ने ? जस्ता सामान्य कुरा थाहा भयो भने म्यानेजर हुँदा पनि काम लाग्छ ।'

'हामी म्यानेजर लेभलको काम गर्न सक्छौं तथा इन्टर्नसिपमा त्यस्तो गर्न पाइँदैन,' आत्मविश्वासी भुवनले भने, 'बैंकबाहेक बाहिरी कम्पनीको पनि अनुभव लिन पाए झन् राम्रो हुन्थ्यो ।' इन्टर्नका क्रममा रोजिना र शिक्षाले हप्तैपिच्छे डिपार्टमेन्ट चेन्ज गरेर फरकफरक अनुभव लिन पाएका थिए तर भुवन र सुस्मिताले भने त्यो अवसर पाएनन् । त्यसैले यी दुवैको सुझाव छ, 'इन्टर्नसिपमा पनि इच्छा लागेको डिपार्टमेन्टमा काम गर्न पाइयोस् ।'


विवेक लामिछाने, २१, को कन्फिडेन्ट अचेल निकै बढेको छ । उनले त्यति कहिल्यै सिकेका थिएनन्, जति २ महिनामा सिके । छैटौं समेस्टरमा २ सय माक्र्सका लागि इन्टर्नसिप गर्नैपर्ने 'अब्लिगेसन' भएपछि बीबीए पढ्दै गरेका यी तन्नेरी २ महिना बैंक धाए । अनि, त्यहाँ पुगेपछि थाहा पाए, प्राक्टिकल 'नलेज' र आफूले पढेको 'थ्योरी' बीच केही गडबडी छ ।
हेल्लो शुक्रबारमा प्रकाशित ।