Friday, December 20, 2013

रूख प्रेमको अभियान

काठमाडौ, पुस ४ -मानिस र रूख दुवै सजीव हुन् । भनिन्छ, मानिसले जस्तै रूखले पनि सास फेर्छ । मानिस केही महिनाअघि कलंकी-सातदोबाटो-कोटेश्वर चक्रपथ विस्तारका क्रममा सरकारले १२ सय रूख काट्ने समाचार सार्वजनिक भएपछि प्रदीप खतिवडाको मनमा 'चस्का' पसेको थियो । त्यही झट्कामा फुरेको आइडियाका कारण ६ महिनाको अन्तरालमा ६ हजार बढी बिरुवा हुर्किंदैछन् । 'वान ट्री माई रेस्पोन्सिबिलिटी (ओटीएमआर)' नाम दिइएको अभियानमार्फत ६ हजार बढी स्कुलेहरूले एकएक बिरुवा हुर्काइरहेका छन् ।

रूखमा यो एउटा समानता भए पनि धेरै असमानता छ । मानिसमा जस्तो भावना र चेतना रूखमा हुन्न । यही असमानताले होला, मानिस र रूखको भावनात्मक सम्बन्ध छैन् । तर मानिस र रूखबीच भावनात्मक सम्बन्ध बनाउन युवाहरूले सुरु गरेको दुई अभियानले वाहवाही पाइरहेको छ ।


करिब एक वर्षअघि पोखराबाट काठमाडौं आउँदा संरक्षण घिमिरेले प्लेनको झ्यालबाट बाहिर नहेेरेको भए 'बर्थथे फरेस्ट' को जन्म हुन्थेन होला । झ्यालबाट हेर्दा देखेको उजाड दृश्यले रूख रोप्ने अभियान मात्रै जन्माएको छैन, क्रिएटिभ आइडिया भन्दै पुरस्कृत पनि भइरहेको छ । काठमाडौंको नोबेल एकेडेमी र गोरखाका आधा दर्जन स्कुलका ६ हजार विद्यार्थीले विभिन्न ३२ थरी बिरुवा घरघरमा लगेर हुर्काउँदैछन् ।

'रूखसँग सम्बन्ध नगाँसी रोपियो भने त्यो हुर्किन्छ भन्ने ग्यारेन्टी हुँदैन,' फोर्स नेपालका अध्यक्ष खतिवडा भन्छन्, 'एक वर्षसम्म घरमै राखेर त्यसपछि मात्रै रोप्ने अभियान चलाएका हौं ।' तीन देखि ९ कक्षासम्मका विद्यार्थीहरूले एक वर्षसम्म हुर्काउने प्रतिबद्धता जनाएपछि मनपर्ने जातको बिरुवा घर लैजान्छन् । नाम राख्छन् । हेरचार गर्छन् । गमलामा हुर्काउँछन् ।

'एक वर्षपछि बल्ल बिरुवा जमिनमा रोपिन्छ,' खतिवडा भन्छन्, 'एक वर्ष घरमै राखेर हेरचाह गर्दा रूखसँग मानिसको इमोसनल एट्याचमेन्ट हुन्छ ।' खतिवडासँगै अभियानमा जितेन्द्र खतिवडा र विराजभक्त श्रेष्ठ पनि छन् । कागजको बढी खर्च गर्नु भनेको कालान्तरमा रूख बढी काट्न बाध्य बनाउनु हो भन्ने उनीहरूको ठम्याइ छ । 'बिरुवा हुर्काउने प्रत्येक सदस्यको विवरण वेबसाइटमा राख्ने तयारी गरिरहेका छौं,' अर्का अभियन्ता श्रेष्ठ भन्छन्, 'कागजको फाराम पनि सकेसम्म सानो बनाएका छौं । भविष्यमा कागज प्रयोग नगर्ने सोच छ ।'

अनुज महत, रोशन कार्की, संरक्षण घिमिरे, प्रयाग उपाध्याय, दीपक मल्ल, राजकुमार भण्डारी र ध्रुव प्रजापति मिलेर सुरु गरेको बर्थडे फरेस्ट अभियानको 'आइडिया' दुई पटक पुरस्कृत भइसकेको छ । काठमाडौंमा अघिल्लो वर्ष भएको पिभोट नेपाल नामक एप्स प्रतिस्पर्धामा सामाजिक सेवा शीर्षकतर्फ जन्मदिनमा रूख रोप्ने उनीहरूको आइडियालाई उत्कृष्ट घोषणा गरिएको थियो ।

उनीहरूले अभियान सुरु गर्नका लागि हजार अमेरिकी डलर पुरस्कार पनि पाए । 'प्रतिस्पर्धामा निणर्ायकहरूले नै यो आइडिया आफूलाई दिन आग्रह गरेका थिए,' अमेरिकाबाट एमबीए गरेका महत सम्झन्छन् । अभियानका अन्य ६ जना भने कम्प्युटर विज्ञानका विद्यार्थी हुन् । प्रतिस्पधर्ाका लागि उनीहरूले आफ्नो आइडियाको थिमसँग मिल्ने मोबाइल एप्स बनाएका थिए ।

केही हप्ताअघि मात्रै उनीहरूको अभियानले भारतमा मन्थन अवार्डसमेत पाएको छ । यो अवार्ड सूचना प्रविधिको प्रयोगमार्फत मानिसमा प्रभाव पार्ने काम गर्ने व्यक्ति/संस्थालाई दिइन्छ । अभियानलाई ई-एगि्रकल्चर र इकालोजी विधाअन्तर्गत स्पेसल मेन्सन अवार्ड दिइएको हो । जन्मदिन, विवाह उत्सव वा मृत्यु । कुनै उत्सव वा घटना पारेर रूख रोप्ने अभियान हो यो ।

अभियानकर्ता आफैंले नेपाल ट्वान्टी-ट्वान्टी विश्वकप खेल्न छनोट भएको दिन पारेर एउटा रूख रोपिदिएका छन् । रूख छेउमै राखिएको मेटल प्लेटमा लेखेका छन्, 'ट्वान्टी-ट्वान्टी विश्वकपमा पुर्‍याएकोमा खेलाडीहरूलाई सलाम । तपाईंहरूले सारा नेपालीलाई गौरवान्वित बनाउनुभएको छ ।' घिमिरे भन्छन्, 'कसैले आफैंले रूख रोप्छु भन्छ भने नि पाउँछ, होइन भने हामी छँदैछौं ।'

बर्थ डे फरेस्टको वेबसाइटमार्फत जो कसैले रोप्न चाहेको स्थान, रूखको प्रकार छान्न सक्छ । त्योबापत नेपालमा रहेकाले ९८० रुपैयाँ र विदेशमा रहेकाले २५ डलर शुल्क तिर्नुपर्ने हुन्छ । 'इन्टरनेटमार्फत नै शुल्क बुझाउन सकिन्छ,' कार्की भन्छन्, 'काठमाडौं वरपर भने हामी आफैं पुगेर पनि शुल्क बुझ्छौं ।'

'रूख रोपेर मात्रै हुन्न,' अभियानको विशेषताबारे महत भन्छन्, 'हामी त्यसको संरक्षणको जिम्मा पनि लिन्छौं ।' रूख रोप्नका लागि धुलिखेलको गौखुरेश्वर सामुदायिक वन, पातले सामुदायिक वन, फर्पिङको डल्लु र सतिखेल सामुदायिक वनसँग सम्झौता भएको छ । रूख रोप्न चाहनेले आफूलाई मनपर्ने जातको बिरुवा र स्थान अनलाइनबाटै छान्न सक्छन् ।

प्रतिबिरुवा रोपेबापत सामुदायिक वनले दुई सय रुपैयाँ पाउँछन् । रूख रोपेपछि रूखको छेउमै मेटल प्लेटमा रोप्नेको नाम, अवसर, मिति, सन्देश र बिरुवाको समेत विवरण उल्लेख गरिन्छ । त्यसलाई अनलाइनमा छुट्टै यूआरएल दिएर फोटोसहित राखिन्छ । 'रूख रोप्नेले तीन वर्षसम्म प्रत्येक छ-छ महिनामा फोटोसहित बिरुवाको अपडेट पाउनेछ,' कार्की भन्छन्, 'बिरुवा रोपेको स्थानको जीओग्राफिक लोकेसन पनि राखिने भएकाले गुगल म्यापबाट पनि स्थान हेर्न सकिन्छ ।'

व्यक्तिले मात्रै होइन, व्यापारिक संस्थाहरूले पनि आफ्नो जन्मदिन र कुनै अवसरमा रूख रोपेर कर्पोरेट सोसल रेस्पोन्सिबिलिटी पूरा गर्नुपर्छ भन्ने अभियानमा छन् उनीहरू । 'ठूला कर्पोरेट हाउसहरूलाई एउटा एरियामा रूखहरू रोपेर आफ्नो किसिमले नामकरण

गराउने तयारीमा छौं,' घिमिरे भन्छन्, 'केही संस्थाबाट राम्राे प्रतिक्रिया पाएका छौं ।'

वाग्मती र विष्णुमतीको किनारमा काठमाडौं महानगरपालिकासँगको सहकार्यमा रूख रोप्ने तयारीसमेत हुँदै गरेको कार्की बताउँछन् । यसका लागि वातावरण विभागबाट सकारात्मक उत्तर पाएको उनले बताए । मन्थन अवार्ड लिन महत दिल्ली पुगेका थिए । 'हाम्रो कन्सेप्ट सुनेर केही व्यक्तिले दिल्लीमा पनि यस्तै अभियान सुरु गर्नुपर्छ भनेर बोलाए,' उनी भन्छन्, 'पशुपति र लुम्बिनी वरपर आफ्नो नाममा रूख रोपाउन पाए भने संसारभरका मानिस यो अभियानमा सहभागी हुन्छन् ।'

'राजधानीको एसीई कलेजका ३० जना विद्यार्थीहरू कुनै साथीको जन्मदिन परे पैसा उठाएर उसको नाममा रूख रोप्ने अर्डर दिन्छन्,' घिमिरे भन्छन्, 'यस्तो रुचिले हामीमा झन् उत्साह थपेको छ ।' केही व्यक्तिले आफ्नो नाममा रूख रोपेपछि त्यसको वरपर परिवारका अन्य सदस्यको पनि जन्मदिन पारेर रूख रोप्न ठाउँ नै बुकिङ गरेको पनि घिमिरे सहर्ष सुनाउँछन् ।

एक जना छोराले आफ्नी आमाको सम्झनामा रूख रोपेपछि लेखेको सन्देश भने निकै मन छुने खालको छ । उनले लेखेका छन्, 'आमा बाँचुञ्जेल जसरी मलाई छहारी दिनुभयो, तपाईंको मृत्युपछि यो रूखले त्यसैगरी शीतलता दिनेछ ।' ओटीएमआर र बर्थ डे फरेस्टको आगामी योजना केही मिल्दोजुल्दो छ । दुवै अभियानका अभियन्ताहरू अब प्रत्येक सवारी खरिदकर्ताबाट एक-एक रूख रोपाउने योजनामा छन् ।

'एउटा मोटरसाइकल वा गाडी किन्नेका लागि एउटा रूख सामान्य कुरा हो,' महत भन्छन्, 'एउटा रूखले ठूलो महत्त्व राख्छ ।' भनिन्छ, एउटा परिपक्व रूखले एक वर्षमा १२ किलो कार्बनडाइ अक्साइड सोस्छ । यति ग्यास एउटा गाडी १८ हजार किलोमिटर गुड्दा निस्कन्छ ।
(हेल्लो शुक्रबारमा प्रकाशित)