Sunday, December 15, 2013

पढ्नभन्दा प्रमाण लिन गाह्रो

काठमाडौ, मंसिर २६ - सानोठिमी क्याम्पस अध्ययन गर्ने दृष्टिविहीन वीरेन्द्र चन्द, र शेरबहादुर साउद अर्काको हात समातेर केही दिनदेखि त्रिभुवन विश्वबिद्यालयको परीक्षा नियन्त्रण कार्यालय बल्खु धाएको धायै छन् । दुवैले आफू भन्दा कम तहका साथीको सहायताले परीक्षा दिएका हुन् । अरुले पढेको सुनेको भरमा उनीहरुले स्नातक पास गरेका हुन् ।

शिक्षा शास्त्र संकायमा स्नातक तह पास गरेका उनीहरु ट्रान्सक्रिप्ट लिन भक्तपुरदेखि बल्खुसम्म एक अर्काको सहारा बनेर जान्छन्, तर निराश बनेर र्फकन्छन् । टान्सक्रिप्टका लागि फाराम भर्दा उनीहरुलाई १० दिनपछि बोलाइएको थियो । तर, १० दिन कटेको दुई साता भइसक्दा पनि दुवैले ट्रान्सक्रिप्ट लिन पाएका छैनन् । 'अरुले पढेको सुनेर पनि पास त गरियो तर ट्रान्सक्रिप्ट लिन पढ्नु भन्दा गाह्रो रैछ,' कार्यालय प्राङ्गणमा भेटिएका चन्दले भने, 'कहिले भोलि आउँनू भन्छन्, कहिले मान्छे छैन् भन्छन् ।' धनगढीका उनी प्लस टु तह उतै सकाएर स्नातक तह पढ्न भक्तपुर आएका हुन् ।


दृष्टिविहीन दुवैलाई निःशुल्क अध्ययन र ट्रास्किप्ट सुविधा छ तर उनीहरुको भक्तपुरदेखि बल्खुसम्मको दिनहुँको यात्रा सबै सुविधाभन्दा महंगो छ । 'सधै आउँदा साथी हुूदैनन्,' अछामबाट स्नातक पढ्न भक्तपुर आएका साउद भन्छन्, 'एक्लै आउँदा साह्रै कष्ट हुन्छ ।' चन्द र साउद एकअर्काको हात समातेर परीक्षा नियन्त्रण कार्यालयको गोप्य शाखामा दिनहुँ पुग्छन् ।

तिहार अघि भएको स्नातक तह तेस्रो बर्षको परीक्षाफल प्रकाशित भएपछि बल्खुस्थित त्रिविको परीक्षा नियन्त्रण कार्यालयमा दिनहुँ बिद्यार्थीको लाम लाग्छ । ट्रान्सक्रिप्ट र प्रोभिजनल प्रमाणपत्र लिन आउँनेको ताँतीले कार्यालय परिसर भरिभराउ हुन्छ । कार्यालय परिसरभित्रैको ग्लोबल आईएमई बैंकको शाखामा दस्तुर बुझाउन, बैंक भौचर तिरेको प्रमाणित गर्न, फेरि त्यसको रसिद लिन र अन्तिममा आफ्नो कामको लागि फाराम दर्ता गर्न लाईन बस्नुपर्ने हुन्छ । त्रिविको यो झन्झटिलो व्यबस्थाले बर्षैपिच्छे बिद्यार्थीहरुले सास्ती खेपिरहेका छन् । त्रिविले मार्कसिट सम्बन्धित क्याम्पसमा पठाएपनि ट्रान्सक्रिप्ट लिन बिद्यार्थी वा प्रतिनिधि प्रमाणसहित परीक्षा नियन्त्रण कार्यालयमै आउनुपर्छ । झन् मार्कसिटमा रजिष्ट्रेशन नम्बर नराखिएको भए थप दुःख पाउँनुपर्छ ।

सधैं ढिला रिजल्ट गर्ने आरोप खेपेको त्रिविको अन्य काम पनि उस्तै छ । 'ट्रान्सक्रिप्ट चाूडै नपाउदा जागिरसमेत खोज्न पाइएको छैन,' राजधानीको पिपुल्स क्याम्पसबाट बीबीए पास गरेकी सुस्मा महर्जनले भनिन, 'ट्रान्सक्रिप्टको लागि फाराम बुझाएको एक महिना हुन लाग्यो, बल्ल निक्लेला जस्तो छ ।' ट्रान्सक्रिप्ट निस्कन ढिलाई हुँदा स्नातक योग्यता भनी मागिएको जागिरको लागि आवेदन दिन नपाएको उनले गुनासो गरिन् ।

परीक्षा नियन्त्रण कार्यालय पुग्ने जो कोही पनि त्यहाको व्यवस्थाले रनभुल्लमा पर्छन् । धनकुटाबाट आमाको उपचारका लागि काठमाडौं आएका रत्न राईलाई पनि उस्तै समस्या पर्‍यो । बिहान ११ बजे बल्खु पुगेका उनले २ बजे ट्रान्सक्रिप्टका लागि फाराम बुझाउने २ नम्बर कोठामा पुगे । त्यसपछि बल्ल थाहा पाए, कागजपत्र पुगेको रहेनछ । आमालाई अस्पतालमा छाडेर बल्खुमा बिताएको समय त्यसै खेर गएकोमा उनी थक्थकिए र धनकुटा फोन गरेर आफन्तसूग थप कागजात मगाए । 'अब फेरि आउनुपर्ने भयो', उनले भने, 'मार्कसिटजस्तै ट्रान्सक्रिप्ट पनि कलेजमा पठाउने व्यबस्था हुनुपर्ने ।'
कान्तिपुर दैनिकमा प्रकाशित ।