Sunday, December 15, 2013

कारखानामा तन्नेरी



काठमाडौ, आश्विन १० -राजधानीको ज्ञानेश्वर चोकसँगैको एउटा पहेंलो घरको गेटैमा फ्लेक्स झुन्ड्याइएको छ ।

इन्जिनियरले काठ काटिरहेको धेरैलाई पत्याउन गाह्रो पर्छ तर यी तन्नेरीहरूले यस्तै नपत्याउने काममा रुचि देखाइरहेका छन् ।
विदेशबाट आएका डलरी तलबका अफर लत्याउँदै उनीहरू फरक काममा दिनरात खटिइरहेका छन् । तर काठ काटेरमात्रै उनीहरूको दैनिकी बितेको छैन । स्कुले बालबालिकालाई कसरी आईटीसम्बन्धी शिक्षा दिन सकिन्छ भनेर उनीहरू मथिंगल घुमाइरहेका छन् । उनीहरू त्यस्तो पाठ्यक्रमको कल्पनामा छन्, जुन नेपालमा मात्रै होइन विश्वभर नै लागू हुन् सकोस् ।

झट्ट सुन्दा यी योजना महत्त्वकांक्षी लाग्छन् । र, छन् पनि । तर, दिनरात नभनी सामूहिक उद्देश्य प्राप्तिका लागि खटिएको तन्नेरी इन्जिनियरहरूको लगनशीलता र सिर्जनशीलता देख्दा उनीहरूको सपना आजभोलि नै पूरा होलाझैं देखिन्छ । कारखानाकै एक हिस्सेदार साकार पुडासैनी, ३३, लाई भने सपना पूरा गर्न त्यति हतार छैन ।

दार्जिलिङमा स्कुले र उच्च शिक्षा अमेरिकाबाट सिध्याएका उनी १८ महिनाअघि नेपाल आएका हुन् । अमेरिकाको नामुद जोन्स हप्किन्स विश्वविद्यालयबाट कम्प्युटर इन्जिनियरिङ सकेका उनलाई नेपाल फिरेर केही आलस्य दिनहरू बिताएपछि नयाँ काम गर्ने सोख पलायो । त्यही हुटहुटीले छटपटिएका साकारले आफूजस्तै उत्सुक अन्य तीन इन्जिनियर साथी भेट्टाए । उनीहरू सपनाको साझा गोरेटो खन्नसँग अघि बढे ।

साकारको सारथि बन्न आइपुगेका पवित्र गौतम, २६, सुरेश घिमिरे, २५ र सुनोजदास श्रेष्ठ, २४ को मन्थनबाट नयाँ कम्पनीको जन्म भयो । नाम राखियो- कारखाना । ८ महिनाअघि स्थापित कारखानामा अहिले ५ इन्जिनियर थपिएका छन् । सबै तन्नेरी । उनीहरू सबै सिक्न चाहन्छन् । त्यसैले थोत्रा र बिगि्रएका कम्प्युटरलगायत इलेक्ट्रोनिक सामान स्टोर रुममा जतनसाथ राखेर त्यसको बनावट अध्ययन गर्छन्, नयाँ सामान किनेर ल्याउनासाथ कसरी बनेको रै'छ भनेर उत्सुकताका साथ खोलेर हेर्छन् ।

यस्तै बानीका कारण उनीहरूले मिकीमिकीको कोलोनका रूपमा अर्को किट बनाएका छन् । ६० डलर पर्ने किट उनीहरूले बनाउँदा २० डलर मात्रै परेको पवित्रले सुनाए । कम्प्युटरमा जोडेपछि मानिससँगको इन्टरर्‍याक्सनको आधारमा यो किटले विभिन्न प्रतिक्रिया देखाउँछ । जसले बालबालिकालाई सिकाइ प्रक्रियामा सघाउ पुर्‍याउँछ । 'हाम्रो एकमात्र उद्देश्य भनेको शिक्षाको व्यावहारिकीकरण हो,' पवित्रले खुलाए, 'त्यसैले हामी शिक्षासम्बन्धी काममै ध्यान दिइरहेका छौं ।'

थ्रीडी पि्रन्टिङ मेसिनको डेभलभर भर्सनको सामान किनेर नेपाल ल्याएपछि त्यसलाई काम गर्ने गरी जडान गर्न मात्रै उनीहरूलाई झन्डै ६ महिना लागेको थियो ।

यो पि्रन्टरले कम्प्युटरमा गरेको डिजाईनको भौतिक स्वरुप पि्रन्ट गरिदिन्छ । 'हामी ६-७ कक्षा पढ्ने बालबालिकालाई थ्री डी पि्रन्टिङले कसरी काम गर्छ भनेर सिकाउन चाहन्छौं', सुरेशले सुनाए, 'सानैमा यस्ता कुरा सिकाइयो भने उनीहरु ठूलो हुँदा थ्रीडी पि्रन्टिङ मेशिनको अरू विकाससँग अपडेट भइरहन्छन् ।'

कारखाना समूहले बनाउदै गरेको पाठ्यक्रम नमूनाको रुपमा नक्सालस्थित ईलाईट स्क्वायड स्कुलमा लागू भइरहेको छ । एसटीईमडी (साईन्स, टेक्नोलोजी, ईन्जिनियरिङ, म्याथ र डिजाईनिङ) समेटर तयार पारिएको कोर्सलाई नेपाल बाहिरको देशको लागिसमेत सुहाउदो बनाउने लक्ष्य छ । सुनोजले भने,'सीप बिनाको सैद्धान्तिक ज्ञानमात्र दिने हो भने नेपालको कहिल्यै विकास हुदैन ।'

यही समूहले नेपालमै पहिलो पटक भेन्डर मेशिनको सफल परीक्षण गरिसकेको छ । अहिले उनीहरुलाई १० हजारमै नेपाली ल्यापटप बनाएर बेच्ने योजनाले तताएको छ । त्यसको मूल्य थोरै, आकार सानो र नेपाली पन झल्किने आवरण बनाउन उनीहरु लागि परेका छन् ।

ल्याब ईन अ व्याग नाम दिइर काममा खटिएका उनीहरूले पहिलो कम्प्युटर बनाउदा एकसय ४० डलर खर्च भएको छ । यसको मूल्य १० हजार रुपैयाभन्दा तल झार्ने उनीहरुको लक्ष्य छ । 'चाईनीज कम्पनीसग यसको केही सामान उत्पादन गरिदिन कुरा पनि भएको छ', कम्प्युटर खटेका सुरेशले भने,'डिजाईनमा नेपालीपन दिनेछौं ।' उनीहरुले बिशेषगरी स्कुले बालबालिकालाई सिकाईमा सजिलो होस् भन्नका लागि यस्तो कम्प्युटर बनाउने सोच बनाएका हुन् ।

त्यो भन्दा पहिला उनीहरुलाई असोज १६ गते आयोजना गरिएको यन्त्र २ नामक रोबर्ट प्रतिस्पर्धा सफल बनाउनु छ । कक्षा ७ मा पढ्नेदेखि ईन्जिनियरिङका बिद्यार्थीको ५० समूहले भाग लिएको प्रतिस्पर्धाका लागि उनीहरुले आफै मौलिका खालको 'एरिना' -रोबर्ट हिडाउने बाटो) बनाउन व्यस्त छन् । रोबो रेसर, रोबो अखडा र मिसन नेपाल नाम दिएर तीन तहमा प्रतिस्पर्धा गराउन फरक फरक एरिना बनाउन उनीहरु आफै जुटेका छन् । जसका लागि काठ काट्ने, ठोक्ने र रंगाउने काममा उनीहरु व्यस्त भएका हुन् । 'हातको काम गर्दा बुद्धिको काम पनि बढ्छ', साकारले सुनाए,'शारिरीक श्रम लाग्ने काम पनि हामी आफैं गर्छौ ।'

मिसन नेपालमा स्वचालित रोबर्टहरुले प्रतिस्पर्धा गर्नेछन् । जसको लागि नेपालको सबै भौगोलिक अवस्थाको प्रतिनिधित्व हुने गरी एरिना तयार गरिएको सुनोजदासले बताए । रोबर्ट प्रतिस्पर्धामा अन्यत्र प्रयोग गरिएको भन्दा फरक खालको एरिना आफैले डिजाइन गर्दै गर्दा उनी निकै खुशी देखिन्छन् । उनलेे ठूलो अवसर त्यागेर यस्तो खालको खुशी भेट्टाएका हुन् । नेपाली सगरमाथाको उचाई नापेको ईटालियन कम्पनी ईभी-केटु-सीएनआरले राखेको जागिरको प्रस्ताव अस्वीकार गरेर आफै केही गर्न कम्पनीमा आवद्ध भएका उनलाई आफ्नै कारखानामार्फत् नेपाललाई टेक्नोलोजीको अन्तर्राष्ट्रिय बजारमा चिनाउन मन छ । सगरमाथाको आधारशिविरमा ल्याब राखेर विश्वकै सबैभन्दा अग्लो ठाउमा ल्याबोरोटरी राख्ने कीर्तिमान बनाएको यो कम्पनीले उनलाई नेपालमै बसेर काम गर्न पनि अफर गरेको थियो, तर उनको मन कारखानामै रमाएको छ ।

साकार, पत्रिव, सुरेश, सुनोज को-फाउण्डर बनेको कारखानामा दिपेश्वरमान श्रेष्ठ, सचेत मानन्धर, अजय मानन्धर र मन्दिरा थापा पनि जोडिएका छन् । 'हामीले फरक खालको काम गरेकैले होला विदेशमा ईन्जिनियरिङ पढेर आएकाहरु पनि ईन्टर्नसिप गर्न पाए हुन्थ्यो भनेर भनिरहेका छन्', सुनोज, साकार र पवित्रले सुनाए, 'हामी यस्तो मेकर स्पेस बनाउन चाहन्छौं जहा जो आएर पनि क्रियटिभ खालको काम गर्न पाओस्, सिक्न पाओस् ।'   


फ्लेक्समा लेखिएको छ- कारखाना । भित्र छिर्दा काठ काटिरहेका र काठमा रंग लगाइरहेका तन्नेरीहरू भेटिन्छन् । यस्तो दृश्यले जो कोहीलाई पनि कुनै फर्निचर कारखानामा छिरेको अनुभूति दिन्छ । तर कारखानाका ती तन्नेरीहरू सिकर्मी नभएर इन्जिनियर हुन् ।
हेल्लो शुक्रबारमा प्रकाशित ।