Friday, August 5, 2011

प्रेम जोडीमाथि अफगानी रिस



    अफगानिस्तान÷ एकजना केटा र एकजना केटी आइसक्रिम पार्लरमा भेट्छन् र चिनापरिचय गर्दै आआफ्नो फोन नम्बर आदानप्रदान गर्छन् । अफगानिस्तानजस्तो किशोरावस्थामा गरिने मायाप्रेमप्रति कठोर देशमा यी दुवैको विद्रोह यसैगरी सुरु भएको हो । यी भिन्नभिन्न जातिका किशोरकिशारीबीचको प्रेम अफागानी समाजका लागि निकै कडा चुनौति थियो जसका कारण यी जोडीले निकै हण्डर खेप्नुपरिरहेको छ ।
    केही दिनअघि अफगानको हेरात सहरमा गुडिरहेको कारलाई केही मान्छेले रोके र कारभित्र रहेका एक किशोर जोडीलाई रोडमा उभ्याएर प्रश्नहरु बर्साउन थाले । को हौ तिमीहरु ? यसरी कारमा हिड्ने अधिकार तिमीहरुलाई कसले दियो ? रोडमा जम्मा भएको करिब तीनसय जनाको भीडले यो जोडीलाई कि त ढुंगाले हानेर मानुपर्छ कि त झुन्ड्याउनुपर्ने माग राख्दै खनिन् थाले ।
    तर, स्थानीय प्रहरीले जब ति जोडीलाई नियन्त्रणमा लिंदै उत्तेजित भीडबाट बचायो तर ती मानिसले ती चढेका कारलाई आगो लगाइदिए अनि पश्चिम अफगानको कानुन उल्लंघन गर्नेको सुरक्षा दिएको भन्दै प्रहरीको चर्को बिरोध गरे ।
    प्रहरीले उत्तेजित भीडबाट १७ बर्षीय किशोरी हालिन मोहम्मदी र उत्तिनै उमेरका उनका प्रेमी  रफी मोहम्मदलाई बचाएर नाबालक राख्ने सुधार गृहमा राखेको  छ। अब, उनीहरुको भाग्य र भविष्य अस्पष्ट र खतरनाक अफगानी कानुको भरमा अडिएको छ । तर, उनीहरुले आफ्नै परिवार र समाजबाट पनि गम्भीर लाञ्छना भोग्नु परिरहेको छ ।
    मोहम्मदीका काकाले सुधार गृहमा उनलाई भेटेर आफ्नो नाक काटिदिएको आरोप लगाउँदै कानुनले छाडेपनि आफूले मारिदिने भनी धम्क्याएका छन् । उनका काकाको कुरामा इरानमा रोजगारी गर्ने श्रमिक उनका बाबुले पनि सही थापेका छन् । ‘उनीहरु दुवैलाई मार्ने निर्णय गरियोस्’, उनका बाबुले भने ।
    सुधार गृहमा बसिरहेका दुवै किशोरकिशोरी आफूहरु मन तयार रहेको बताउँछन् । तर, उनीहरुको प्रश्न छ– उनीहरु किन मर्नुपर्ने हो ? १७ बर्षीय मोहम्मद आफू मर्न तयार रहेको बताउँदै प्रेमिका मोहम्मदीलाई यो सुधारगृहबाट मुक्त गर्न अल्लाहसँग प्रार्थना गरिरहेका छन् । मोहम्मदी पनि अल्लाहले आफूहरुलाई मर्नकै लागि जन्माएको भन्दै कसैलाई माया गर्न डराउनु नपर्ने धारणा राख्छिन् ।
    अफगानिस्तानको हेरात यस्तो सहर हो जहाँ केही महिनाअघि प्रेम विवाह गर्न खोज्ने एक जोडीलाई तालिवानको आदेशमा जम्मा भएको सयौं मानिसले ढुंगा हानी मारेका थिए । तर, यसपटक भने प्रहरीले यी जोडीलाई उनका आक्रोशित परिवारलाई समेत जिम्मा नलगाएर सुरक्षित स्थानमा राखेको  छ।
    स्थानीय प्रशासनले यी जोडीलाई सरकारी सुरक्षा आवश्यक रहेको निर्णय गर्दै सुरक्षा दिने बताएको छ । ‘उनीहरुले यौनसम्बन्ध नै राखेको भए पनि उनीहरु अपराधि होइन्न्’, स्थानीय प्रशासनको एक अगुवा  अब्दुल जाहिरले भने ।