Tuesday, August 9, 2011

छोरीको पासपोर्ट बनाउन आएकी आमा थुनामा

बिजय तिमल्सिना
    हेटौंडा, २४ साउन÷ नाबालक छोरीको पासपोर्ट बनाएर बिदेश पठाउन खोज्ने एक आमालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको  छ ।  आफ्नी १८ बर्षीय छोरी र १७ बर्षीय भतिजीको पासपोर्ट बनाउन सिफारीश लिन आउँदा उनलाई जिल्ला प्रशासन कार्यालयमा सोमबार पक्राउ गरिएको थियो । उनी आग्रा–५, डाँडाबासकी हुन् ।
    उनीसँगै आएकी छोरी शान्तिमाया वाइवा र भतिजी विष्णुमाय वाइवालाई मंगलबार बाबु रामबहादुर वाइवाको जिम्मामा घर पठाइए पनि आमा बेलीमाया वाइवालाई भने जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । आफू २ बर्ष दुबई र २ बर्ष बसेकी उनले छोरीहरुलाई पनि बिदेश लान चाहेको बताएकी थिइन् ।
    आफ्नी मामाकी छोरीहरु पनि विदेश गएकाले विदेश जान लागेको भतिजी विष्णुमायाले बताइन् । ‘मेरो गाउँमा मेरै उमेरका अरु ८ जनाजति विदेश गएका छन्’, उनले बताइन्, ‘त्यसैले विदेश हेर्न जान मन लाग्यो ।’ छोरी शान्तिमायाले आफू राजीखुशीले विदेश जान लागेको  भनिन् । ‘अहिले सिफारीश मात्र बनाउन् आएकी हुँ उमेर पुगेपछि मात्र विदेश जान्छु’, उनले आफ्नी आमाको बचाउ गर्दै बोलिन् ।
Belimaya (Right)


    शान्तिमाया र विष्णुमाया दुवै आग्रा–५ डाँडाबासस्थित सुन्दरीदेवी निमाविका बिद्यार्थी हुन् । उनीहरु दुवैलाई अभिभाभकसँगको छलफलमा विदेश पठाउने तयारी गरेपनि कुन देश पठाउने निक्र्यौल नभइसकेको उनले बेलीमायाले बताइन् । आफ्ना उमेर नपुगेका छोरीहरुलाई विदेश नपठाउन माइती नेपाल, नारी सीप सृजना केन्द्र र हिमराइट्सका प्रतिनिधिले उनलाई सुझाएका थिए ।
    केही दिनअघि जिल्ला प्रशासन कार्यालयमा आफ्नी १४ बर्षीय  छोरीको पासपोर्ट बनाउन सिफारीश माग्न आउने एक बाबुलाई पनि यसैगरी पक्राउ गरी छोरीलाई विदेश नपठाउने शर्तमा छाडिएको माइती नेपालकी संयोजक माया लामाले बताइन् । डाँडाखर्कका भीमलालले मोक्तानले १४ बर्षीय छोरी तुल्सी मोक्तानको उमेर ढाँटेर नागरिकता बनाएपछि पासपोर्टको लागि सिफारीश माग्न आएका थिए ।
    जिल्लाका विकट गाविसमा कम उमेरका महिला र युवतीहरुको उमेर ढाँटेर नागरिकता बनाउने र पासपोर्ट बनाएर विदेश पठाउन ठूलै गिरोह सक्रिय भएको हुनसक्ने शंका हिमराइट्स मकवानपुरकी कार्यक्रम संयोजक कुमारी वाइवाको छ । प्रजिअ दीनेश भट्टराईले जिल्लामा यस्ता घटनाहरु बढ्ने भन्दै बिकट गाविसमा जनचेतना फैलाउनुपर्ने आवश्यकता औंल्याए ।