Lonba |
हेटौंडा, ९ मंसिर÷ चट्टानी पहाडको बीचमा रहेको सानो ओढार । थोरै समथल क्षेत्र भएको ओडारको भित्तामा लुगाफाटा झुन्ड्याइएको छ । कुच्चिएको सिलाबरको थाल अनि भात पकाउ“दा कालाम्य भएको डेक्ची र बिट भा“चिएको एउटा गिलास पनि ओडारको एउटा कुनामा लडिरहेका छन् ।
मकवानपुरको भैंसे गाविस १ स्थित भैंसे पुलनजिकैको एउटा ओडारको दृश्य हो यो । पुलभन्दा करिब ५० मिटर पूर्वको भीरमा उमेरले करिब आठ दशक काटिसकेका खड्गबहादुर लुङ्बा बस्छन् । लुङ्बाले ओढारमा बस्न थालेको पनि करिब पा“च दशक बित्न लागिसकेको छ ।
मकवानपुरको बुढीचौर गाविसस्थित पुख्र्यौली घरबाट युवावस्थामै भैंसेको भीरमा आइ बस्न थालेका लुङ्बा बुढा किन ओढारमा बसे भन्नेबारे कसैले केही बताउन सक्ने अवस्था नभए पनि उनको अचम्मको बानीस“स भने भैंसेबासी अभ्यस्त बन्दै गएका छन् । ओढारमा एक्लै बस्ने लोङ्बा बुढा जंगलमा दाउरा बटुल्छन् र त्यसैको बिक्रीले आफ्नो गुजारा गर्छन् । केही बर्षअघिसम्म कसैले दिएको नलिने र नखाने स्वभाव भएका लुङ्बा अहिले भने चिनेका सीमित व्यक्तिले दिएको खानेकुरा खान्छन् ।
सानैदेखि खोरिया फाडेर र ओडारमा बस्ने स्वभाव भएका लुङ्बा आफ्नो ओढार कसैले देखेमा तुरुन्तै स्थान परिवर्तन गर्छन् । हालसम्म उनले कतिपटक स्थान फेरे त्यसको लेखाजोखा छैन् ।
महिलालाई छुदा अपराध भएको ठान्ने लुङ्बा महिलाले दिएको केही पनि सोझै हातले समाउदैनन् । दाउरा बिक्रीको पैसा समेत महिलाले दिएमा भुईमा राख्न लगाएर मात्र टिप्छन् । आफूलाई आवश्यक पर्ने नुनु तेल किन्न उनी ११ किलोमिटर उत्तरको हेटौंडा बजारसम्म हिंडेरै आइपुग्छन् । केही बर्षअघिसम्म पुलबाट हिड्दा कर तिर्नुपर्छ भन्ने लुङ्बा अहिले भने पुलको प्रयोग गर्न हिच्किचाउदैनन् ।