Friday, August 5, 2011

मकवानपुरका दुईलाख खसीबाख्रा असुरक्षित

    हेटौंडा, २० साउन÷  सरकारी आँकडाअनुसार मकवानपुरमा दुईलाख ५० हजारभन्दा बढी खसीबाख्रा छन् । तिनीहरुलाई हावाबाट समेत सर्ने खतरनाक पीपीआर रोगबाट बचाउन भ्याक्सिन लगाउन जरुरी छ । गत आर्थिक बर्षमा सरकारी कार्यक्रम र बजेट अभावका कारण जिल्ला पशु सेवा कार्यालयले ५० हजार वटा मात्र खसीबाख्रालाई उक्त रोगविरुद्धको भ्याक्सिन लगायो । यसबाट जिल्लाका करिब दुईलाख खसीबाख्रा उक्त रोगबाट असुरक्षित देखिएको छ ।
    पशु प्राविधिकहरुका अनुसार उक्त रोगको जोखिमबाट खसीबाख्रालाई बचाउने हो भने कम्तिमा ८० प्रतिशतलाई पीपीआरविरुद्धको भ्याक्सिन दिनुपर्छ । ‘सरकारी कार्यक्रम र बजेट सीमितताका कारण गत आवमा ५० हजार भन्दा बढीलाई पीपीआर लगाउन सकिएन ’, कार्यालयका पशु चिकित्सक डा. चेतनारायण खरेलले भने ।
    भ्याक्सिन लगाउन बाँकी रहेका पशु भने असुरक्षित रहेको र तिनीहरुबाट महामारी फैलन सक्नेमा डा. खरेलले चिन्ता व्यक्त गरे । अहिले पनि सडकले छोएका ठाउँमा पीपीआरको जोखिम रहेको बताउँदै उनले बजारमा ल्याएर बिक्री हुन नसकी गाउँ फिर्ता भएका खसीबोकामा उक्त रोगको संक्रमण देखिनसक्ने हुँदा सचेतता अपनाउन किसानलाई आग्रह गरे । ‘पीपीआर, मान्छेमा लाग्ने एड्सजस्तै खतरनाक हुन्छ, यसको उपचार सम्भव छैन’, डा. खरेलले भने ।
    पीपीआर खोप किसानले व्यक्तिगतरुपमा बजारमा किन्न पाउँदैनन् । कुनै सहकारी वा समूहमार्फत् जिल्ला पशुसेवा कार्यालयको सिफारिशमा सरकारले भ्याक्सिन निःशुल्क उपब्ध गराउँछ । तर, अन्य आवश्यक सामान समूह आफैंले जुटाउनुपर्छ । जानकारी अभावका कारण कम संख्यामा किसानहरु सामूहिरुपमा पीपीआरका लागि आउने गरेको डा. खरेल बताउँछन् ।
    कार्यालयले गत आवमा करिब पाँचहजार अन्य पशुलाई खोरेत, भ्याकुते र एन्टी रेबिज भ्याक्सिन लगाएको छ ।१७ हजार पाँचसय पशुको मेडिकल उपचार, पाँचहजार सातसयको सामान्य सर्जिकल र सातसय ४ पशुको यौना·सम्बन्धी उपचार र सेवा उपलब्ध गराएको कार्यालयले करिब सातहजार पशुको गोबर परीक्षण र पाँचसयको थुनेलो परीक्षण गरेको तथ्यांक प्रस्तुत गरेको छ ।