Friday, August 5, 2011

घाटा घटाउँदै डीडीसी

     हेटौंडा दुग्ध वितरण आयोजनाले आफ्नो घाटा क्रमशः न्यूनीकरण गर्दै गएको छ । आर्थिक बर्ष २०६६÷०६७ मा एक करोड ८२ लाख घाटा सहेको आयोजनाले गत आव २०६७÷०६८ मा घाटा करिब ६५ लाख मात्र हुने अनुमान गरेको छ ।
    आयोजना प्रमुख इश्वरीराज न्यौपानेका अनुसार आयोजनाको घाटा आव ०६४÷६५ मा तीन करोड ४४ लाख र आव २०६५÷०६६ मा दुई करोड ५३ लाख थियो । दूध अभिबृद्धि कार्यक्रममा बहुसंख्यक किसानलाई समेट्नुका साथै उत्पादन विविधीकरणमा जोड दिएको आयोजनाले घाटा घटाउन सफलता पाएकोमा न्यौपानेले खुशी व्यक्त गरे ।
    आयोजनाले आव २०६६÷०६७ को तुलनामा गत आवमा झन्डै ३५ प्रतिशत बढी दूध संकलन गरेको छ । आव ०६६÷६७ मा १३ करोड ५५ लाख ६० हजार रुपियाँ बराबरको ४६ लाख ७४ हजार लिटर दूध संकलन गरेको आयोजनाले गत आवमा १९ करोड ५४ लाख ६० हजार रुपियाँ बराबरको ६३ लाख ५ हजार सातसय १७ लिटर दूध संकलन गरेको तथ्यांक न्यौपानेले पेश गरेका छन् ।
    दूध अभिबृद्धि कार्यक्रमअन्तर्गत क्रमिकरुपमा दूध उत्पादन बृद्धि भइरहेको बताउने उनले आयोजना कार्यक्षेत्र भित्र दूध चिस्याउने सातवटा नयाँ केन्द्र स्थापना गरिएको जानकारी दिए । आठसय पशुलाई कृत्रिम गर्भाधान, ३५ दिने पशु स्वास्थ्य कार्यकर्ता तालिम, चिस्यान केन्द्र स्थापनाका लागि सामान र आवश्यक ऋण सहयोग उपलब्ध गराएर किसानको मनोबल बढाइएको न्यौपानेले बताए ।
    दुग्ध विकास संस्थानले देशका नौ जिल्लाका १० वटा दुग्ध उत्पादक महिला सहकारी संस्थामा गाईमाई कार्यक्रम लागू गरेको छ । कार्यक्रमअन्तर्गत मकवानपुरको चुरियामाई महिला जीवन वातावरण स्वाबलम्बन बहुउद्देश्यीय सहकारी संस्था हाँडीखोला र सिर्जनशील महिला दुग्ध उत्पादक सहकारी भैंसेमा उक्त कार्यक्रम लागू गरिएको छ ।
    सर्लाहीको प्रगतिशील महिला, रौतहटको महिला जनज्योति र बाराको महिला उत्थान सहकारीमा पनि उक्त कार्यक्रम लागू गरेर प्रत्येक संस्थालाई ५० वटा उन्नत जातका गाई १२ प्रतिशत ऋणमा उपलब्ध गराउन बैंकसँग सम्झौता गरिएको छ । गाईपालक महिलाको ७० हजार रुपियाँ बराबरको १२ बर्षे बीमा गराएर प्रिमियमको आधा संस्थानले व्यहोर्दै आएको छ ।
    आयोजनाद्वारा उत्पादित सामग्रीले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र पाएको छ ।