Saturday, August 6, 2011

यौनकर्मी पहिचानमा मोबाइलको अवरोध

    हेटौंडा÷ यौनकर्मीहरुले मोबाइल प्रयोग गरी ग्राहक खोज्न थालेपछि सम्भावित जोखिम न्यूनीकरणमा क्रियाशील संघसंस्थाको लागि चुनौति थपिएको छ । सामान्यता भीडभाडका स्थान, होटल, लज र पार्कमा ग्राहकको प्रतिक्षामा रहने यौनकर्मीहरुले  पछिल्लो समय मोबाइलको प्रयोग बढाउन थालेपछि उनीहरुको पहिचान गर्न समस्या उत्पन्न भएको हो । यौनकर्मी पहिचान गर्न नसकिंदा उनीहरुमा यौनजन्य रोगको संक्रमण हुनसक्ने एचआईभीको क्षेत्रमा कार्यरत संस्था जीडब्लुपीका कार्यक्रम संयोजक रामशरण सापकोटा बताउ“छन् ।
    यौनकर्मीहरुले हालका दिनमा मोबाइलबाटै सम्पर्क गरेर ग्राहक खोज्ने र ग्राहकले समेत त्यस्ता महिलाको मोबाइलमै सम्पर्क गर्न थालेपछि उनीहरुलाई पहिचान गर्न समस्या परेका उनको भनाई छ । यौनकर्मी महिलाको पहिचान हुन नसक्दा उनीहरुलाई एचआईभी÷एड्सबारे सचेत पार्न नसकिएको र यसले उनीहरुमा यौनजन्य संक्रमणको जोखिम बढ्न सक्ने सापकोटाको चिन्ता छ । ‘कतिपय यौनकर्मीहरु यौनजन्य संक्रमणका बारे अनभित्र छन’, सापकोटाले भने, ‘उनीहरुलाई यौनजन्य संक्रमणबाट बच्ने उपायबारे सचेत पार्ने र कण्डमको सही प्रयोगबारे बुझाउनुपर्ने आवश्यकता छ ।’
    यौनकर्मी र ग्राहकले मोबाइलबाटै सम्पर्क गरी सोझैं पार्क, होटल र लजमा भेट्ने प्रवृत्ति बढिरहेको छ । यस्ता यौनकर्मीहरुलाई यौनजन्य संक्रमणबाट बचाउन होटलस“ग सहकार्य सुरु गरेको सापकोटाले बताए । होटल र लजमा जानेहरुलाई पनि कण्डम वितरण गरी यसको सही प्रयोग विधिबारे सिकाउने र एचआईभी÷एड्सबारे सचेत पार्ने प्रयास गरिरहेको उनले बताए । मोबाइलबाटै सम्पर्क गरी ग्राहक खोज्ने वर्गमा गृहिणीहरु बढी रहेको तथ्यांक छ । बिद्यार्थी र पढेलेखेका महिलाहरु यसमा संलग्न हुने गरेका छन् ।
    अधिकांश यौनकर्मी महिला १८ बर्षदेखि ३० बर्षसम्म उमेरका हुने गरेको तथ्यांक संस्थास“ग छ । आर्थिक अभाव, पतिस“गको यौन असन्तुष्टि र मनोरञ्जनका लागि महिलाहरु यौनकर्ममा लाग्ने गरेको अनुभव संस्थाकी आउटरिच एजुकेटर सुमित्रा खड्काले बताइन् । आर्थिकरुपमा सम्पन्न परिवारका महिलाहरु समेत यौनकर्मी हुने गरेको अनुभव उनको छ । यातायात मजदुर, सेना, प्रहरी, रिक्साचालक यौनकर्मीका प्रमुख ग्राहकहरु हुन् ।
    मकवानपुरको चुरियामाई गाविसदेखि मनहरी गाविसको लोथरसम्म करिब ८२ किलोमिटर क्षेत्रमा करिब पा“चसय ३२ जना यौनकर्मी रहेको जीडब्लुपीको तथ्यांक छ । यो क्षेत्रमा मासिक औसत करिब १४ जना यौनकर्मीहरु थपिने गरेको देखिन्छ । ग्रामीण क्षेत्रबाट अध्ययनको लागि सदरमुकाम आउने छात्रा संगत र आर्थिक अभावका कारण यौन पेशामा लाग्ने प्रवृत्ति बढ्न थालेको खड्काको अनुभव छ । संस्थाले मासिक औसत १५ हजार कण्डम यौनकर्मी महिला र तिनका ग्राहकलाई निःशुल्क वितरण गरिरहेको छ ।
Categories: