Friday, August 5, 2011

मालपोतको चाहना ‘सेक्युरिटी कोड’

    हेटौंडा, २० साउन÷ करिब डेढ महिनाअघि हेटौंडामा जग्गा किनेका बीरगञ्जका एक व्यक्तिले काठमाडौं जानुपर्ने हतारो देखाउँदै पास भइसकेको जग्गाको लालपूर्जा पछि लिउँला भन्दै कार्यालयमै छाडेर गए जबकि उनको फोटोसमेत लालपूर्जा र कार्यालयको ढड्डामा राखिएको थिएन । हाल, उनी मालपोत कार्यालय हेटौंडामा आफ्नो लालपूर्जा लिनका लागि आएका छन् तर उनको फोटो नटाँसिएकाले उनी असली व्यक्ति हुन् वा होइनन् भन्ने नखुलेको भन्दै कार्यालयले उनलाई वडाको सिफारिश ल्याउन भनेको छ । तर, उनको समस्या छ कि वडा कार्यालयमा सर्जमिन गर्न आवश्यक पर्ने ५ जनाको संख्या उनले पु¥याउन सकेका छैनन् किनकि उनले यहाँको कोही पनि चिनेका छैनन् । आफ्नो केही मिनेटको हतारोले लालपूर्जा हातमा नपरेपछि ती व्यक्ति अहिले निराश छन् ।
    मालपोत कार्यालयमा हुने यस्तो हेलचेक्र्याँइका घटनाहरु कम गर्नुपर्ने बेला आएको छ । काम मिलाउने नाममा अपूर्ण कागजातको भरमा जग्गा पास गर्ने, नामसारी गर्ने, रोक्का गर्नेजस्ता कामको लागि मालपोत जाँदा अब पूर्ण आधिकारिक कागजपत्रसहित जानुपर्ने हुन्छ । जग्गा कीर्ते प्रकरणमा संलग्न रहेको आरोपमा चार कर्मचारी पक्राउ गरेपछि निन्याउरो बनेको मालपोत कार्यालय हेटौंडामा अहिले सेवाग्राहीलाई दिने सेवामा कडाई गर्न थालिएको छ । ‘व्यक्तिका कारण संस्थाको बद्नाम भएपछि यस्तो कडाई थालिएको हो’, प्रमुख मालपोत अधिकृत महेन्द्रनाथ भट्टराईले भने, ‘अब, अपूर्ण कागजातले काम मिलाउने दिन गए ।’
    नागरिकताको प्रमाणपत्रसमेत आधिकारिक हो वा होइन भनी शंका गर्नुपर्ने बेला आएको गुनासो उनले गरे । ‘कुनैमा छाप हान्दा नागरिकता धनीको नामै छोपिएको हुन्छ, कुनैमा फोटो टाँस्दा नागरिकता नम्बरै छोपिएको हुन्छ ।’ काम छिटो गराउने नाममा अपूरो र अधुरो कागजपत्रको आधारमा काम नगर्न कर्मचारीलाई निर्देशन दिइएको उनले बताए । साथै, स्थानीय निकायहरुलाई समेत पत्राचार गरी आधिकारिक व्यक्तिबाट प्रमाणित गराएर मात्र सिफारिश गर्न आग्रह गरिएको जानकारी उनले दिए । हरेक दिन कार्यालय सुरु हुनुअघि कर्मचारीसँग कामको समिक्षा गर्ने गरेको उनले बताए ।
    शुक्रबारै भूमिसुधार तथा व्यबस्थापन बिभागले मालपोत कार्यालय हेटौंडालाई पत्र पठाई नौ बुँदाको नयाँ निर्देशन दिएको छ । जसमा रोक्का, फुकुवा र दृष्टिबन्धक राख्दा कडाई गर्न निर्देश गरिएको छ । अबका दिनमा रोक्का, फुकुवा गर्दा चिठ्ठीको मात्र भर नगरी सम्बन्धित संस्थाको आधिकारिक व्यक्तिसहित यथेष्ट प्रमाण जुटाउनुपर्ने मालपोत अधिकृत डम्बरबहादुर सुनुवारले बताए । ‘मालपोतको ढड्डा असम्बन्धित मान्छेलाई  नदिन कर्मचारीलाई निर्देशन दिइएको छ’, उनले भने ।
    मालपोत कार्यालयकै कर्मचारीको मिलेमतोमा जग्गा कीर्ते गरी बेचिएको समाचार आएपछि केही जग्गाधनी कार्यालय पुगेर आआफ्नो जग्गाको अवस्था चेकजाँच गर्नसमेत थालेका छन् । हेटौंडा–५ का माधव घिमिरे र हेटौंडा–२ का भवनाथ घिमिरेले बिहीबार मालपोत कार्यालय पुगेर आआफ्नो जग्गाको अवस्था ढड्डामा हेरेका थिए ।
    गल्तीबाट मालपोतले पाठ सिकेर कडाई सुरु गरिएकाले जग्गाधनीहरुले जग्गाको चेकजाँच गर्न अब आउनु नपर्ने अधिकृत सुनुवारले प्रष्ट्याए । ‘जग्गाको सुरक्षा गर्ने जिम्मा हाम्रो भो’, उनले भने, ‘कोही ढड्डा हेर्न आउँछन् भने पनि हामी देखाइदिन्छौं ।’
    आधिकारिक कार्यालयबाट आएको आधिकारिक कागजातहरुसमेत सक्कली हो भन्ने आधार नरहेको अधिकृत सुनुवार बताउँछन् । ‘आधिकारिक कागजपत्रसमेत कीर्ते गरी ल्याइएको हुनसक्छ’, उनले भने, ‘सक्कली वा नक्कली छुट्याउने संयन्त्र खै त ?’,
    जग्गालाई अझ बढी सुरक्षित बनाउन वर्तमान व्यबस्थामा परिवर्तन जरुरी रहेको सुनुवार औंल्याउँछन् । ‘जग्गाको पूर्जामा सेक्युरिटी कोड राख्ने व्यबस्था भए  हुन्थ्यो’, उनले भने, ‘सरकारी प्रमाणपत्रसमेत आधिकारिक हो वा होइन भन्ने जाँच्ने संयन्त्र भए अझ राम्रो हुन्थ्यो ।’