Monday, August 8, 2011

‘कानुन पढेर जननेता बन्छु’

Nelson, in a picnic with friends.
मेरो कुरा
मेरो नाम नेल्सन घलान हो । म १८ बर्षको भएँ । हेटौंडा–४, कमलडाँडामा बस्छु। मलाई कुनै बिषयमा आफूले जानेबुझेको तर्क राख्न गर्न औधी मन लाग्छ । आधुनिक राष्ट्रिय माविको ७ कक्षामा पढ्दा शिक्षकहरुले बक्तृत्वकला प्रतियोगिता आयोजना गरेका थिए । त्यो बेलाको उमेरको कारणले होला बोल्न एकदम लाज लाग्थ्यो । फुपू कल्पना लामाले निकै प्रेरणा दिनुभयो । पुरस्कार नजिते पनि प्रतियोगितामा भाग लिएर हेर, तिम्रो बोल्ने क्षमता विकास हुन्छ भन्नेजस्ता कुराहरु उहाँले गर्नुभएपछि ममा हौसला जाग्यो र प्रतियोगितामा भाग लिएँ ।
    त्यसबेलाको रिजल्टमा अनमोल कँडेल प्रथम र स्मृति भट्ट दोस्रो भएका थिए भने म चौथो भएँ । प्रयास गरियो भने बोल्न सकिदो रहेछ भन्ने हिम्मत ममा पलायो । शान्ति समाज केन्द्र र कक्षामा बेलाबेलामा गरिने त्यस्ता प्रतियोगिताबाट मैले आफ्नो बक्तृत्वकला तिखार्ने अवसर पाएँ । पछिल्लो पटक बसामाडी जेसीजले आयोजना गरेको ज्ञान बक्तृत्वकला जितेर गोरखामा केही दिनअघि सम्पन्न एरिया ‘बी’ सम्मेलनमा पनि प्रथम हुन सकेँ । मेरो प्रतिभालाई बुझेर होला हेटौंडा स्कुल अफ म्यानेजमेन्टले मलाई छात्रवृत्ति दिएको छ । हाल म कमर्सको १२ कक्षामा पढ्दैछु । प्रतियोगिता जितेपछि आमाले ‘यस्तै राम्रो गर्दै जाऊ’ भन्नुभएको म जीवनभर बिर्सने छैन । मलाई अवसर दिने बसामाडी जेसीज,  प्रेरणा दिने फुपू, पढाईमा सहयोग गर्ने हेटौंडा स्कुल अफ म्यानेजमेन्टलाई पनि म बिर्सने छैन् । म केही भन्छु भन्ने आँट गरेर अगाडि बढ्दा प्रतियोगिता जितिन्छ, गहकिलो तर्क दिनूस्, समयको ख्याल राख्नूस् र खुलेर आफ्ना विचार राख्नूस्, प्रतियोगिता जितिन्छ । १२ पास भएपछि देशको नयाँ परिवर्तन गराउने मेरो भित्री चाहना छ । कानुन पढेर देशको असल जननेता बन्ने मेरो लक्ष्य छ ।