Tuesday, August 9, 2011

कुलेखानी तेस्रो निर्माण सम्पन्न हुन थप तीनबर्ष लाग्ने

Project Manager Guo Choojie showing third tunnel of project (right)
बिजय तिमल्सिना
    हेटौंडा, २४ साउन÷ सन् २०११ को डिसेम्बर ७ तारेखभित्र निर्माण सम्पन्न गरिसक्ने भन्दै २००८ अप्रिल २७ बाट थालिएको कुलेखानी तेस्रोको काम सकिन थप तीनबर्ष लाग्ने भौतिक निर्माणको ठेक्का पाएको सिनो हाइड्रोले जनाएको छ । यसबारे नेपाल बिद्युत प्राधिकरणलाई जानकारी गराइसकिएको कम्पनीका प्रोजेक्ट म्यानेजर चिनियाँ नागरिक गुआओ चाओजीले बताए ।
    काम सक्नुपर्ने अवधि चारबर्षमध्ये अब पाँच महिना मात्र बाँकी रहँदा आयोजनाको जम्मा करिब ४० प्रतिशत मात्र सिभिल निर्माण सकिएको ठेकेदार कम्पनीले जनाएको हो । डिसेम्बरपछिको थप तीन बर्ष आवश्यक हुने कम्पनीको अनुमान छ । १४ मेगावाट क्षमताको आयोजना समयमै सकिए  दुईअर्ब १७ करोड खर्च हुने अनुमान गरिएको भएपनि थप समय लाग्दा लागतसमेत बढ्नेछ । काममा अवरोध आएको भन्दै  कम्पनीले यसअघि नै प्राधिकरणसँग ७४ करोड रुपियाँ क्षेतिपूर्ति माग गरेका थियो । आयोजना सुरु भएयता हालसम्म ९० दिन बन्द भइसकेको छ । आयोजनाको काम बन्द भएबापत कम्पनीले आयोजनासँग उक्त रकम दाबी गरेको हो ।
     काम थालेपछि झेल्नुपरेको विविध समस्याका कारण आयोजनाको भौतिक निर्माण समयमै सम्पन्न हुननसक्ने प्रोजेक्ट म्यानेजर चाओजीले जानकारी दिए । आयोजना निर्माण गर्ने जिम्मेवारी पाएको नेपाल बिद्युत प्राधिकरणसँग भएको सम्झौतामा उल्लेख गरिएभन्दा निर्माणस्थलको ढुंगा कमजोर भएको, पटकपटक बन्द भएको र अन्य अवरोधका देखाउँदै उनले आयोजना समयमै सम्पन्न गर्न नसकिने प्रष्ट पारे ।

    प्राधिकरणले आफ्नो जिम्मेवारी पूरा नगरेको प्रति पनि चाओजीले असन्तुष्टि व्यक्त गरे । प्राधिकरणले पावरहाउसको डिजाइन हालसम्म उपलब्ध नगराएको, आफूले माग गरेको रकम नदिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका हुन् । आयोजना ढिलो हुनुमा यसलाई पनि उनले प्रमुख कारण भनेका छन् । प्राधिरकणसँग गरिएको सम्झौतामा निर्माणस्थलको चट्टान कडा उल्लेख गरिएको भएपनि यथार्थ फरक भएको उनले बताए । ‘चट्टान कमजोर रहेछ’, उनले भने, ‘हामीले सोचेअनुसार टनेल बनाउन सकेनौं ।’ टनेल खन्दा धेरै चट्टान खस्ने र मर्मतसम्भार गर्र्दा लागत खर्चसमेत बढेको उनले बताए । ‘टनेलको मर्मतसम्भारमा हामीले खर्च गरेको १२ करोड प्राधिरकण अझैं उपलब्ध गराएको छैन्’, चाओजीले असन्तुष्टि व्यक्त गरे, ‘यसले गर्दा पनि समय बढी लागेको हो ।’
    सन् २००९ मार्च ९ मा खनेर सकिएको पावरहाउस मर्मतस्थलको  काम हालसम्म अघि बढ्न सकेको छैन् । प्राधिकरण र कन्सल्टेन्सीले हालसम्म भवनको नक्सा उपलब्ध नगराएकाले काम अघि नबढेको चाओजीले बताए । ‘ड्रइङ नदिएर ढलान कार्य सुरु नभएको हो’, उनले भने ।             आयोजनाको दोस्रो अडिटस्थलमा जाने पुल भत्किएको छ । जसले गर्दा दोस्रो अडिटमा जून २५ देखि काम अघि बढेको छैन् । आफूले लामो पुल बनाउने प्रस्तावसहित नक्सा उपलब्ध गराए पनि प्राधिकण र कन्सल्टेन्सीले छोटो पुल बनाइदिंदा पुल भत्किएको दाबी उनको छ । ‘हामीले तीनवटा स्प्यान भएको पुल डिजाइन गरेका थियौं तर उनीहरुले एउटा स्प्यान मात्र बनाइदिए’, पुल भत्किनुको कारण प्रष्ट्उँदै चाओजीले भने । पुल भत्किएपछि दोस्रो अडिट खन्नका लागि उपकरण र कामदार लैजान नसकिएको गुनासो उनको छ । डब्लुआरसी, हेड्को र सिल्ट जेबी आयोजनाका कन्सल्ट्यान्ट हुन् ।
    यता, आयोजनाको तेस्रो अडिटको कथा उस्तै छ । २००९ मा  नक्साअनुसार टनेल खन्न सुरु गरिए पनि कमजोर चट्टानका कारण पहिरो जाँदा पुनः नक्सा परिवर्तन गर्नुपरेको थियो । दुईसय मिटर खन्नुपर्ने अडिको हालसम्म एकसय ६६ मिटर मात्र खनिएको छ ।
    आयोजनाको लागि निर्माण गरिने चारहजार ६ सय मिटरको मुख्य टनेल र त्यसका चारवटा अडिट निर्माण कार्य भइरहेको चाओजीले जानकारी दिए । मुख्य टनेल जम्मा एकहजार तीनसय मिटर मात्र  खनिएको छ । टनेलका लागि तीनसय ८, चारसय ६०, दुईसय मिटर र एकसय ४० मिटरको पहिलो, दोस्रो, तेस्रो र चौथो अडिट निर्माणको क्रममा रहेको उनले सुनाए ।
    आयोजनाको मुख्य टनेलबाट खानीखोला र कुलेखानी दोस्रोबाट बगेको पानी छिर्नेछन् र भैसै–६, सानुटारमा निर्माण गरिने पावरहाउसम्म आइपुग्नेछन् । खानीखोलामा बालुवा छान्ने डिसेन्डर बेसिन बनाउने काम धमाधम भइरहेको म्यानेजर चाओजीले बताए ।
    ‘हामीेले काम थाल्ने मितिसम्म आयोजना स्थलमा जाने पुल नै थिएन्’, उनले चाओजीले भने । ‘जसका कारले गर्दा पनि आयोजना सुरु गर्न दुई महिना ढिलो भयो’, उनले सम्झिए ।
    आयोजना प्रमुख उत्तम आमात्यका अनुसार सिनो हाइड्रोलाई समयमै काम सम्पन्न गर्न नसकिए थप डेढ बर्षको अवधिमा कामसक्ने गरी कार्यतालिका काम गरिएको छ । ठेकेदार कम्पनीले मागेको दाबी गरेको  ७४ करोडमध्ये छलफलपछि १३ करोड तिर्नुपर्ने भनिएपनि छलफलबाट रकम कम गर्ने तयारी भइरहेको उनले बताए । पावरहाउको लागि प्रारम्भिक अवस्थाका लागि आवश्यक सामग्रीहरु भारतको कलकत्ताबाट हिडिसकेको र सातदिन भित्र नेपाल आइपुग्ने जानकारी उनले दिए । प्राधिकरणले सिनो हाइ«ोलाई भुक्तानी दिनुपर्ने रकम समयमै उपलब्ध गराउन नसक्दा गत जनबरीमा करिब एक महिना कामै रोकिएको जानकारी उनले दिए । ‘अब हामीले कम्पनीलाई तत्काल दिनुपर्ने रकम छैन्’, अमात्यले भने ।
    करबाहेक नब्बे करोडमा भौतिक संरचना निर्माण ठेक्का पाएको सिनो हाइड्रोले नेपालका माथिल्लो तामाकोशी र माथिल्लो मस्र्याङ्दीमा समेत काम गरिरहेको छ ।
Categories: