Friday, August 5, 2011

भाइरलका बिरामीलाई टाइफाइडको औषधी !


    हेटौंडा, २० साउन÷ देशका अन्य जिल्लामा जस्तै मकवापनुरमा पनि भाइरल बिरामीहरुको संख्या बढेको छ । मौसम परिवर्तनको कारणले उब्जियको भाइरलका बिरामीहरुका कारण जिल्लाका स्वास्थ्य चौकी तथा संस्थाहरुमा बिरामीको चाप बढेको छ ।
    जिल्लाका भरमा दैनिक करिब ६ सयजना बिरामीहरु स्वास्थ्य संस्थामा भाइरकको उपचारको लागि आउने गरेको जिल्ला जनस्वास्थ्य कार्यालयको सिनियर अहेब भोलाप्रसाद चौलागाईले बताए । सुरुमा रुघाखोकी लाग्ने, ज्वरो आउने, घाँटी दुख्नेजस्ता लक्षण भाइरलको लक्षणहरु हुन् ।
    मौसम परिवर्तनको बेलामा शारिरीकरुपमा कमजोर मानिसहरु चाँडै भाइरलका बिरामी हुने चौलागाईले बताए । ‘बिशेषगरी किसानहरुको लागि यो मौसम काम गर्ने बेला भएकाले यो बेलामा उनीहरु शारिरीकरुपमा कमजोर हुन्छन’, अहेव चौलागाईले भने । सरकारी स्वास्थ्य संस्थाबाहेक निजी क्लिनिकहरुमा पनि भाइरलका बिरामीहरुको चाप बढेको  छ ।
    भाइरलका बिरामीलाई कडा ज्वरो आउने भएकाले कतिपय अवस्थामा यसलाई टाइफाइडको शंका गरिने गरेको उनले बताए । केही औषधी व्यबसायीहरुले फाइदाका लागि भाइरलका बिरामीलाई समेत टाइफाइनको संकेत भएको भन्दै औषधी बिक्री गर्ने गरेको प्रति इंकित गर्दै उनले यसप्रति सचेत रहने आग्रह गरे ।
    ‘बिरामीहरु आफैंले पनि केही दिन कडा ज्वरो आएपछि टाइफाइडको शंका गर्छन’, उनले भने, ‘त्यसको फाइदा उठाउँदै केही सीमित स्वार्थी व्यक्तिहरुले मौका छोप्ने गरेका छन् ।’
    मौसम परिवर्तनको बेलामा जो कोहीलाई पनि भाइरलको संक्रमण हुनसक्ने भन्दै चिकित्सकहरुले खानपिन र सरसफाइमा ध्यान दिन आग्रह गरेका छन् । यस बर्ष मकवानपुरमा देखिएको भाइरलको संक्रमण अघिल्लो बर्षको यही समयमा देखिएको संक्रमण भन्दा कम रहेको अहेव चौलागाईले बताए ।