Friday, August 5, 2011

उद्योग–वन विवाद


    हेटौंडा, १६ साउन÷ हेटौंडा औद्योगिक क्षेत्रमा स्थापित पाँच वनजन्य उद्योगलाई बन्द गर्न आदेश दिइएपछि सञ्चालक र वन कार्यालयबीच विवाद चर्किएको छ ।
    सरकारी निर्णयअनुसार भन्दै जिल्ला वन कार्यालय मकवानपुरले इन्टरनेसनल उड सिजनिङ, भुटनदेवी समिल, अबिर उड, शिवबुवा काष्ठ उद्योग र दामुचन्द्र काष्ठकला उद्योगलाई बन्द गर्न आदेश दिएको थियो । वन क्षेत्रबाट तीन किलोमिटरभन्दा नजिक समिल स्थापना गर्न नपाइने सरकारी निर्देशनअनुसार कार्यालयले सबै उद्योगलाई पत्र काटेको जिल्ला वन कार्यालय मकवानपुरका सहायक वन अधिकृत थिरबहादुर कार्कीले बताए ।
    कार्यालयलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करिब एक महिनाअघि दिएको निर्देशनअनुसार पाँचवटै उद्योगलाई बन्द गर्न पत्राचार गरिएको कार्कीले बताए । उक्त निर्देशन उल्टाउने अधिकार कार्यालयलाई नभएको भन्दै कार्कीले उद्योग सञ्चालकहरुलाई अदालतसम्म पुग्न आग्रह गरे । ‘अदालतले छुटकारा नदिउञ्जेल वनले पुनः सञ्चालन अनुमति दिनसक्दैन’, उनले व्यबसायीलाई सुझाव दिंदै वन कार्यालयविरुद्ध मुद्दा हाल्न आग्रह गरेका छन् । यद्यपि औद्योगिक क्षेत्रभित्र स्थापित उद्योगहरुको हकमा सरकारी उक्त नियम लागू नहुने व्यबसायीको दाबी छ । घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएर समिल सञ्चालनरत व्यबसायीहरु स्वयम् उक्त सरकारी नीतिविरुद्ध वन बिभाग र औद्योगिक क्षेत्र व्यबस्थापन लिमिटेडको केन्द्रीय कार्यालय धाइरहेका छन् ।
    औद्योगिक क्षेत्र व्यबस्थापक राजकुमार मण्डल वनले क्षेत्रलाई बोधार्थ पत्र पठाए पनि आफूले उद्योग बन्द गर्न भन्न नसक्ने स्पष्ट पारे । अझ बढी संख्यामा उद्योग स्थापना हुनुपर्ने अवस्थामा सञ्चालनरत उद्योगलाई बन्द गर भनेर औद्योगिक क्षेत्रले भन्न नसक्ने मण्डलको तर्क छ ।